s

दूबईमा अर्धचेत जीतबहादुरलार्इ स्वदेश फर्काइयो

दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत एक नेपालीलाई नेपाल फर्काइएको छ। मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो । नेपाली दूतावास, अबुधाबी र विभिन्न संस्थाको पहलमा उनलाई शनिबार स्वदेश फर्काइएको हो । यूएईमा उडान भर्दै आएका नेपालका एयरलाइन्समा जटिल प्रकृतिका बिमारी बोक्ने सुविधा नभएपछि जीतबहादुरलाई एयर इन्डियाको विमानमार्फत शनिबार राति दिल्ली हुँदै नेपाल लगिएको छ । जब काममा जाने वेला बेहोस भए… सन् २०१५ मा युएई आएका लिम्बु गत अगस्टमा बेहोस भई अस्पताल भर्ना भएका थिए ।

काम गर्दै आएको कम्पनी विक्री भएपछि जीतबहादुर लगायत अरु कामदारको बाँकी तलब, नयाँ भिसा र मेडिकल इन्सुरेन्ससम्म बनाइ दिने सर्तमा पुनः नयाँ मालिकसँग उनी सोही कम्पनीमा काम गर्दै आएका थिए । तर, २०१७ मा करार अवधि सकिएपछि भने उनी अवैध रुपमा बसिरहेका थिए । युएईमै कार्यरत उनका ज्वाइँ गंगालाल लिम्बुले अनलाइखबरलाई दिएको जानकारी अनुसार जितबहादुर त्यस कम्पनीमा फिनिसिङ कार्पेन्टरको काम गर्थेँ । काम गर्दै जाँदा केही समयपछि कम्पनीले तलव दिन छोडेको थियो ।

तलब दिलाइदिन भन्दै उनी यहाँको श्रमिक अदालतसम्म पुगे । तर, गत अगस्ट १६ तारिख बिहान ड्यूटी जान खोज्दा उनलाई अचानक चक्कर लाग्यो । काममा पनि जान सकेनन् । एकैपटक साँझ कामबाट फर्किएका साथीहरुले उनलाई बेहोसी अवस्थामा भेटे । साथीहरुको सहयोगमा अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले ब्रेन हेमरेज भएको जनाए । दुई साता आइसीयूमा राखेर उपचार गरेपछि उनलाई एक महिना नर्मल कोमामा राखिएको थियो । स्वास्थ्यमा पहिलेको भन्दा केहीँ सुधार आएपछि १५ दिनयता वार्डमा अर्धचेत अवस्थामा उपचार भैरहेको थियो । चिकित्सकहरुले यूएईमा थप उपचार गराउनु भन्दा नेपाल लैजान सुझाव दिएपछि उनलाई फर्काउने पहल थालियो । तर, अवैधानिक अबस्थामा रहेकाले उनलाई नेपाल फर्काउन कानुनी समस्या भयो । यसरी भयो उद्दार जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कमल पोखरेलले बिरामीलाई नेपाल लैजान आवश्यक पर्ने कागजातको लागि दूतावाससँग समन्वय गरे ।

दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र पिआरओ इरफान आलमले जितबहादुर उपचाररत अस्पतालमा गएर उनको स्वास्थ्य अवस्थाको जानकारी लिए । उनको उपचारमा लागेको खर्च चुक्ता नगरेसम्म अस्पतालले नेपाल लैजान नसक्ने जनाएको थियो । यसबीचमा दूतावासको पहलमा उनको उपचारमा लागेको १ लाख ६० हजार दिराम उपचार खर्च छुट भयो । यस्तै, बिरामीलाई नेपालसम्म पुर्याउन आवश्यक सहयोगका लागि दुतावासले परराष्ट्र र श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रबद्र्धन वोर्डलाई जानकारी पत्र पठाएको थियो ।

त्यसपछि बिमारीलाई नेपालमा राख्ने अस्पतालको स्वीकृतिका आधारमा यहाँको अस्पतालले एक जना नर्सको समेत व्यवस्था गरी उनलाई नेपाल लैजाने अनुमति दिएको दुतावासका श्रमसहचारी मोतिराम भुषालले अनलाइनखबरलाई बताए । उनलाई नेपाल फर्काउन वैदेशिक रोजगार प्रबद्र्धन वोर्डलाई आग्रह गरिएतापनि आर्थिक सहयोग गर्ने नीति नभएको जानकारी आएकाले उनले यहाँका सामाजिक संघसंस्थाको सहायता मागेका थिए । सोही अनुसार ताप्लेजुङ समाज सेवा युएई र जनप्रगतिशील मोर्चाको पहलमा आर्थिक सहयोग अभियान चलाइएको थियो ।

समितिले ताप्लेजुङ सेवा समाज, यूएईका महासचिव भवानी माङ्गमु लिम्बूको संयोजकत्वमा यूएईमा रहेका २५ बढी संस्था र व्यक्तिसँग सहकार्य गरी २० हजार १ सय ६३ दिहराम आर्थिक संकलन गरिएको थियो । समाजकी अध्यक्ष सोनी भण्डारीका अनुसार बिरामीलाई नेपाल पठाउनका लागि १७ हजार ८ सय ८३ दिहराम खर्च भएको थियो । त्यस्तै, २ हजार २ सय ८० दिहराम भने बचत भएको उनले बताइन् । बचत भएको रकम बिरामको सहयोगार्थ खोलिएको खातामा जम्मा गरिने उनको भनाइ छ । उनलाई नेपालमा निउरो कार्डियो सर्जरी अस्पतालमा राखेर थप उपचार गरिने अभियान संयोजक भवानी माङ्गमु लिम्बुले जनाए ।

Published on: 12 November 2018 | Onlinekhabar

Back to list

;