s

दुबईमा अलपत्र २३५ नेपालीलाई निगमको वाइडबडी लिन जाँदै

सुरज कुँवर

निगमले आफ्नो वाइडबडी विमान बिहान साढे ७ बजे दुबईका लागि पठाउने निर्णय गरेको एक निर्देशकले बताए । यसैबीच शुक्रबार अपराहन्न

विज्ञप्ति जारी गर्दै निमगले त्यस दिन छुटेका यात्रुलाई कोभिड–१९ जाँच गरेको नेगेटीभ रिपोर्टसहित विमानस्थलमा आउन सूचना जारी गरेको छ ।

निगमले त्यसदिन (मंगलबार) दुबईबाट फर्किदा ल्याउनुपर्ने यात्रुका लागि काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापन नभएका कारण ल्याउन नसकेकोमा जनाएको छ । विमानस्थल आइसकेका यात्रुलाई छोडेर जहाज रित्तै फर्किएपछि सरकारको चर्को आलोचना भएको थियो ।

‘निगमको मिति १८ अगस्ट २०२० मा दुबई– काठमाडौंका लागि तय गरिएको उडानबाट ल्याउनुपर्ने यात्रुहरुलाई काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापनको कारण ल्यान नसकिएको प्रति निगम व्यवस्थापन दुख व्यक्त गर्दछ,’ निगमको संस्थागत विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमका अनुसार, उक्त उडानमा २ सय ३५ यात्रु र १५ टन कार्गो थियो । काठमाडौंबाट सोमबार साँझ दुबईका लागि उडेको उक्त जहाजले २ सय ३१ जना यात्रु लिएर गएको थियो । त्यही दिन (सोमबार) एकाएक छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालयलाई उद्धार उडान रोक्न पत्राचार गरेपछि दुबई विमानस्थलमा आइसकेका सयौं नेपालीलाई अलपत्र छाडेर निगमको जहाज रित्तै फर्केको थियो ।

तर, सीसीएमसीले युरोप र अमेरिकाबाट इस्तानबुल हुँदै टर्किस एयरमा आइरहेका २ सय १ यात्रुको उडानलाई भने निरन्तरता दिने निर्णय गरेको थियो । आफ्ना नागरिक लिन गएको ध्वजाबहाक जहाजलाई यात्रु ल्याउन नदिएको तर सीसीएमसीले विदेशी वायुसेवालाई भने नरोकेपछि चौतर्फी अलोचना भएको थियो । दुबईमा पनि यात्रुहरु अलपत्र अवस्थामा रहेको खबर संचारमाध्यम आइरहेपछि सरकारले निगमलाई पुन: दुबईका लागि उद्धार उडानको अनुमति दिएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार, आइतबारका लागि तय गरिएको उडानमा यात्रु पाइएमा निगमले लैजाने छ । ‘तर एक दिनमात्रै बाँकी छ कति नै यात्रु पाइएला र ?’ उनले भनिन्, ‘यदि कागजात मिलेका यात्रु पाइएमा यताबाट पनि यात्रु राख्ने छौं ।’

सीसीएमसीले भदौ १ गतेदेखि पाँचौ चरणको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । तर, उसैले केही दिनमै पुनः उद्धार उडानमा रोक लगाउने निर्णय लिएको थियो ।

सीसीएमसीले उडान रोक्नुको कारण पहिलो कारणमा ‘पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था तथा विभिन्न स्थानिय तहले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढ्दो रहेको’ उल्लेख गरेको थियो ।

त्यस्तै दोस्रो कारणमा काठमाडौंमा आइसकेका यात्रुलाई होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था पर्याप्त नभएको जनाउँदै सीसीएमसीले भदौ १५ सम्म स्विकृत गरेका उद्धार उडानलाई पनि स्थगन गर्नु परेको जनाएको थियो ।

Published on: 21 August 2020 | Kantipur

Link

Back to list

;