s

दुबईबाट फर्काइए ३१ महिला

लोकेन्द्र प्रसाईं /उत्तम काप्री

घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको छ ।

ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो । फर्काइएकामध्ये १२ जना मंगलबार र १९ जना बुधबार नेपाल आइपुगेका हुन् । नेपाल फर्काइएकामध्ये केही बिरामी छन् । झापा, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, बाँकेलगायत दर्जन बढी जिल्लाका महिला दुबई एयरपोर्टमा अलपत्र परेका थिए ।

तस्करले विभिन्न स्थानका महिलालाई दिल्लीको बाटोबाट कुवेत लैजाने प्रयास गरेका थिए । अध्यागमन विभागलाई ती महिलाले कुवेत जान मानव तस्करलाई दुई लाख रुपैयाँभन्दा बढी रकम तिरेर गएको बयान दिएका छन् ।

तर, उनीहरूले कुनै मानव तस्करको नाम भने बयानमा उल्लेख गरेका छैनन् । ‘फर्किएका महिलाले आफैं दिल्ली पुगी त्यहाँबाट दुबई गएको बताएका छन्', विभागका एक अधिकारीले भने । बयानका क्रममा ती महिलाले सरकारले खाडीमा काम गर्न जान वैधानिक बाटो नदिएको र वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको बताएका छन् ।

उनीहरू दिल्लीबाट उड्नुअघि एकदेखि तीन महिनासम्म त्यहाँ बसेका थिए । तस्करले केन्या जाने भन्दै उनीहरूलाई उडाए पनि दुबईमा भिसा पाइने र त्यहाँबाट कुबेत पुग्ने आश्वासन दिएका थिए ।

‘हामी चार दिन दुबई एयरपोर्टमा बस्यौं तर भिसा नपाएपछि हामीलाई फर्काइयो', बुधबार फर्किएकी बाँकेकी निर्मला परियार (नाम परिवर्तन)ले भनिन् । फर्किएका महिलाको राहदानी रेकर्डअनुसार धेरैजना यसअघि धेरैपल्ट खाडीका विभिन्न मुलुकमा काम गरेको देखिएको अध्यागमनले जनाएको छ ।

दुबईमा भिसा नपाएपछि तस्करले नै टिकट काटेर उनीहरूलाई नेपाल फर्काएका हुन् । नेपाली महिलालाई खाडी राष्ट्रमा भिजिट भिसामा जानसमेत रोक लागेको छ । नेपालबाट जान समस्या भएपछि मानव तस्करले भारतको बाटो हुँदै महिलालाई लैजाने गर्ने गरेका छन् । उनीहरूलाई काँकडभिट्टा, रुपैडिया, महेन्द्रनगरलगायत नाकाबाट भारत पुर्‍याइएको थियो । यस विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । एक साताअघि सीआईबीले नयाँदिल्ली हुँदै ओमान पठाउन काठमाडौंमा जम्मा गरिएका दुई युवतीको उद्धार गरेको थियो भने ओमान पठाउने तीन जना एजेन्टलाई पक्राउ गरेको थियो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ) ऐन २०६४ अनुसार दोषीलाई १० देखि १५ वर्षसम्म कैद तथा र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । फर्काइएका सबै महिलालाई माइती नेपालको जिम्मा लगाइएको छ ।

महिला तस्करी बढ्यो

सरकारले खाडीमा महिलासहित सबै घरेलु कामदार पठाउन रोक लगाएपछि तस्करको सक्रियता बढेको हो । उनीहरू खुला सीमाको फाइदा उठाउँदै नेपाली महिला भारत पुर्‍याएर त्यहाँबाट खाडी लैजाने गरेका छन् । खाडीमा घरेलु कामदारलाई पठाउन रोक लागेपछि समस्या सिर्जना भएको वैदेशिक रोजगार विभागस्रोत बताउँछ ।

घरेलु कामदार निर्देशिका ०७२ कार्यान्वयन हुन नसक्दा संगठित रूपमा मानव तस्करी हुने गरेको परराष्ट्र मन्त्रालयको धारणा छ । निर्देशिकामा माग गर्ने देश र पठाउने देशबीच द्विपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार पठाउने उल्लेख थियो । सरकारले आजसम्म कुनै पनि देशमा घरेलु कामदार पठाउन श्रम सम्झौता गर्न नसक्दा समस्या आएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । सरकारले वैधानिक बाटो बन्द गरेकै कारण अहिले अवैधानिक तरिकाले कामदार विदेश जाने क्रम बढेको छ । यही मौकामा मानव तस्कर भारतीय भूमि प्रयोग गर्दै कुबेत, दुबई, ओमन, बहराइनलगायत खाडी मुलुकमा मानव तस्करी गरिरहेका छन् ।

Published on: 4 May 2017 | Annapurna Post

Back to list

;