s

दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका– ३ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका– १ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार टिकटकका माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुबई पुर्‍याई बन्धक बनाइराखेको अवस्थामा पीडितका आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए।

घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रवक्ता ढकालले बताए।

उनले भने, ‘हवारीले क्यानडा जानका लागि ३० लाख रुपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटकपटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ।’

पक्राउ परेका हवारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालको भनाइ छ। –रासस

Published on: 29 April 2024 | Nagarik

Link

Back to list

;