s

दुबई जेलका नेपाली महिला

अखण्ड भण्डारी
 
यूएईको सारजहा विमानस्थलमा अध्यागमनतिर चढ्ने लिफ्टछेउ ठूलठूला अक्षरमा डिस्प्ले भइरहेको हुन्छ, ‘मानव तस्करी जघन्य अपराध हो।’ नेपालबाट आएको हरेक जहाज अवतरणपछि त्यही लिफ्ट चढेर ‘मानव तस्करी’ भएका कम्तीमा एक दर्जन महिला अघि बढ्छन्।
 
ती अक्षरले उनीहरूलाई चिन्दैनन्, न उनीहरूले अंग्रेजीमा लेखिएका ती अक्षर पढ्न/बुझ्न नै सक्छन्। बरु हतारिएर अध्यागमन छिरी पासपोर्टमा छाप लाउँछन् र आफ्नो क्रेताको एजेन्टलाई भेटाउँछन्। अब बिक्रेताको ‘अभिभारा’ सकिन्छ। जता लैजान्छ, क्रेताको मान्छेले लैजान्छ। रंगीन सपना सजाएर आएका उनीहरूको पशुवत जिन्दगी अनि सुरु हुन्छ। मानव तस्करीका साधन उनीहरू हुन्, जो बेचिएका हुन्छन्। त्यसपछि मात्र त्यो थाहा पाउँछन्।
 
यूएईका दुबई, सारजहा वा अबुधाबी जुनसुकै विमानस्थलमा पर्यटक भिसामा उत्रिने सर्वसाधारण महिलामध्ये अधिकांश बेचिएका हुन् भन्दा फरक पर्दैन। पर्यटक भिसा नाम मात्रको हो। उनीहरूको ध्येय यतै बस्ने, काम गर्ने र पैसा कमाउने हुन्छ। त्यसका लागि दलालले पूर्णत: विश्वस्त गराई टन्न पैसासमेत लिएको हुन्छ। काम ब्युटीपार्लर वा अन्य कुनै कम्पनीको सजिलो हुन्छ भनिएको हुन्छ। राम्रो कमाइको आवश्वासन दिइएको हुन्छ। अध्यागमन घेरा नाघेपछि गाडीमा राखेर कुनै व्यक्तिले लैजान्छ र पुर्‍याउँछ कुनै धनाढ्यको घर। त्यहाँ स्याहार–सुसार गर्नेदेखि यौन आवश्यकता पूरा गराइदिनुपर्नेसम्मको बाध्यता झेल्नुपर्ने हुनसक्छ तिनले।
 
आजको प्रसंग ‘मानव तस्करी’ भन्दा अझ गम्भीर छ। प्राय: राति ड्युटी पर्ने कल्पना राई दिउँसो नसुती–नसुती जेलहरू चहार्छिन्। उनी गैरआवासीय नेपाली संघ, यूएईकी महिला संयोजक हुन्। नेपाली महिलाहरू दिनदिनैजसो जेल परेको पाउँदा उनको टाउको दुख्छ। जेल पर्नेमध्ये कतिपय ‘हाउसमेड’ हुन्छन्। कोही यस्ता छन्, जो राजीखुसीले ब्वई फ्रेन्ड बनाउँछन्, गर्भधारण गर्छन् र धोका खाएर एक्लो पर्छन्। समयमा भाग्न सक्दैनन्। जँचाउन अस्पताल पुग्छन् वा पेट बढेको देखेर कुनै साथीले प्रहरीलाई खबर गरिदिन्छ। तिनको कुरा भिन्दै हो, यौनशोषणमा परेर गर्भवती भएका महिलाका कहमा भने यूएईको कानुनी प्रावधानसमेत सजिलो छैन।
 
यहाँको कानुनअनुसार यौन शोषण भएलगत्तै प्रहरीमा खबर गरे मात्र पुरुष एक्लै कारबाहीको भागिदार हुन्छ। यौनशोषणका कारण गर्भ रहन गएमा महिला–पुरुष दुवैले सजाय भोग्नु पर्छ। ‘हाउसमेड’ यौनशोषणमा परेको अवस्थामा प्रहरीलाई तत्काल खबर गर्ने सम्भावनै हुँदैन। तिनको अवस्था त्यस्तो हुन्छ, जसले जेलभन्दा गुम्सिएको जिन्दगी जिउनु पर्छ। घरबाहिर निस्कन पाउदैनन्। फोन सम्पर्क निषेध गरिएको हुन्छ। प्रहरीमा खबर गर्ने हैसियत भए तिनले यौनशोषणमा पर्नुपर्ने नै थिएन। परिणामत: उनीहरू गर्भवती हुन्छन्।
 
त्यस्ता महिला मात्र जेलमा पुग्छन्, जो कुनै न कुनै पारा मिलाएर अस्पताल जान्छन्। अस्पतालले गर्भ रहेको प्रमाणित भएको अवस्थामा पतिको विवरण माग्छ। दिन नसक्नेवित्तिकै वा जबर्जस्तीका कारण गर्भ रहेको भन्नासाथ पुलिसलाई खबर गर्छ। प्रहरीले तत्काल लैजान्छ। सके वा चाहे पुरुषलाई पनि पक्राउ गरिन्छ। त्यो अर्कै कुरा भयो, तर महिला अनिवार्य जेलमा पर्छन्। उनको दोष हुन्छ– परपुरुषको गर्भधारण। विवाहपूर्व वा परपुरुषसँग हुने यौन सम्पर्कलाई यूएईको कानुनले नैतिकतासँग जोडेर हेर्ने गर्छ। त्यो परिबन्दमा पनि हुनसक्छ भन्ने कानुनको बुझाइ छैन। गर्भ रहनुलाई ‘सहमतिमा भएको यौन सम्पर्क’ का रूपमा लिइन्छ। त्यही कारण निरीह नेपाली महिलाहरू यौनशोषणदेखि जेलको चिसो खानसमेत बाध्य छन्।
 
कल्पनाका अनुसार एक गर्भवती नेपाली महिला पक्राउ परिन्। उनले जबर्जस्ती यौन सम्पर्क भएको बयान दिइन्। प्रहरीले ‘कहाँ’ भनी सोध्यो। उनले ‘होटलमा’ बताइन्। ‘होटलमा केटा मान्छेसँग जानुको अर्थ राजीखुसी यौन सम्पर्कमा तयार हुनु हो भन्ने पुष्टि हुन्छ’ भनेर अदालतले महिलालाई नै दोषी ठहर्‍यायो। र, उनी जेल सजाय भोग्न बाध्य भइन्।
 
नेपाली महिलाले यस्ता नारकीय जीवन जिउनुको मुख्य कारण दलालको चलखेल हो। सरकारले हाउसमेडमा प्रतिबन्ध लाए पनि कर्मचारीको ‘सेटिङ’ मा काठमाडौंबाट पर्यटक भिसामा उडेर दिनदिनै महिला यूएई आइपुग्छन्। त्यसरी ल्याउने ‘ढंग’ नजान्नेहरूले भारत, श्रीलंकाजस्ता मार्ग प्रयोग गरी ल्याइ पुर्‍याउँछन्। ल्याउँदा लाग्ने खर्चदेखि खातका खात दलालले खाने नाफासम्म तिनै महिलाले बेहोर्छन्। अन्तत: सम्पत्ति डुब्ने, शोषणमा पर्ने, अनेक हिसाबले फस्ने, घुमीफिरी जेल पर्ने तिनै महिला हुन्छन्।
 
कल्पनाका अनुसार हाल दुबईका सानातिना जेलमा मात्र चार जना गर्भवती नेपाली छन्। तीमध्ये एक जनाको अप्रिल १९ मा सुनुवाइ मिति दिइएको छ भने बाँकीको त्यो पनि तय भएको छैन। यूएईका बाँकी जेलमा के–कति छन्, उनी बुझ्दै हिँडिरहेकी छन्। त्यसरी जेलमा परेका गर्भवतीहरूले जेलमै बसेर बच्चा पाउनुपर्ने हुनसक्छ वा अदालतले पहिल्यै छाडिदिन पनि सक्छ। शिशुलाई यहाँको सरकारले ग्रहण गरी आमालाई मात्र नेपाल फिर्ता पठाइदिन सक्छ वा पहिल्यै ‘डिपोर्ट’ गर्नसमेत सक्छ। धेरै कुरा परिस्थिति र न्यायाधीशको विवेकमा निर्भर हुन्छ। कतिपयलाई तोकिएको जेल अवधिमा पनि कुरान फरर पढेर सुनाएपछि माफी दिने चलन छ। कोही त्यसमा पर्न सक्छन्। तर, पनि निर्दोष महिलाले जेलमा पर्नु कुनै न कुनै रूपमा ‘मानव तस्करी’ को परिणाम हो।
 
Published on: 11 April 2016 | Kantipur

Back to list

;