s

दुबई भनेर म्यानमार पुर्याइ अलपत्र

रामकला खड्का

भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन्। देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ। उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए। बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे। सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए।

उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो। एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो। एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन्। दोलखाकी उनलाई काठमाडौं हँुदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो। त्यहाँ सात दिन राखिएको थियो। म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन्।

‘म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य आठ नेपाली महिला पनि थिए’, उनले भनिन्, ‘प्रहरी आए चिनजान नभएको नाटक गर्ने सल्लाह भएको थियो।’ यही कारण आफूले अन्य नेपाली महिलाको पहिचान नखुलाएको उनले बताइन्। उनका दाजुले माइती नेपाललाई पत्र लेखेका थिए। म्यानमार दूतावासमा चिठी पठाई उद्धार प्रक्रिया अघि बढाइएको माइती नेपालका उपनिर्देशक अच्युत नेपालले बताए। भारतीय प्रहरीले सातायत मणिपुरका विभिन्न ठाउँबाट धेरै नेपालीको उद्धार गरिसकेको छ। उद्धार हुनेको संख्या १ सय ८२ पुगेको छ।

पहिलो चरणमा माइती नेपालले दिल्ली महिला आयोगसँग मिलेर ६ जनाएको उद्धार गरेको थियो। ४० वर्षीया प्रमिला थापाले तीन सन्तान पढाउने र हुर्काउने बाध्यताले आफू विदेशतर्फ आकर्षित भएको सुनाइन्। इराक जाने क्रममा प्रमिला र उनकी दिदीकी छोरी अनिता कार्कीलाई भारतीय प्रहरीले दिल्लीबाट उद्धार गरेको थियो। प्रमिलाले सन् २००९ देखि ६ वर्ष इराकमा एक वृद्धाको स्याहार गरेकी थिइन्। तीन वर्ष जर्मनीमा शरणार्थीका रूपमा बिताइन्। गत वर्ष फर्किएकी उनी पुनः बिदेसिने निर्णयमा पुगेकी थिइन्।

छोराछोरी, आमाबाबु र दिदीको पालनपोषण गर्ने जिम्मेवारी रहेको दोलखाकी विमला श्रेष्ठले बताइन्। नन्द मीना मगरको सल्लाहमा इराक जान लागेकी विमला र उनकी साथी बिनिता तामाङलाई माघ १७ गते उद्धार गरिएको थियो। अर्घाखाँचीकी ३० वर्षीया सीता विक र ३७ वर्षीया उमा थापालाई कुवेतमा रहेकी गीता विकले उता आउन सुझाएकी थिइन्। महेन्द्रनगर हुँदै दिल्ली पुगेका उनीहरूलाई त्यही दिन प्रहरीले उद्धार गरेको थियो।

Published on: 9 February 2019 । Annapurna Post

Back to list

;