s

दुबई भन्दै कुर्दिस्तान

शाहीमान राई
  
धन कमाउने रहर सबैलाई हुन्छ । त्यही रहर पूरा गर्न बिदेसिएकी हसनपुर गाविसकी २० वर्षीया युवतीले मरुभूमिमा पुगेपछि मात्र आफू बेचिएको थाहा पाइन् । सात महिनाको संघर्षपछि घर फर्किएकी छन् ।
 
दुबईको राम्रो कम्पनीमा काम लगाइदिने सर्तमा उड्न तयार भएकी उनलाई असोज पहिलो साता इराकको युद्धग्रस्त प्रान्त कुर्दिस्तान पुर्‍याइयो । घरेलु कामदारका रूपमा उनले कष्टकर जीवन बिताइन् । सुरुमा एजेन्टले ८० हजार रुपैयाँ मागेपछि नजाने मनस्थिति बनाएकी थिइन् । तर, काठमाडौं कपन घर बताउने बमबहादुर गुरुङले कमाएर पैसा तिर्ने सर्त मञ्जुर गरेपछि उडिन् । 
 
मिराकल ओभरसिजको एजेन्ट बताउने गुरुङले करिब एक महिना आफ्नै घरमा राखे । त्यसपछि असोज पहिलो साता काठमाडौंबाट बसमा भारतको राजधानी नयाँदिल्ली हुँदै कुर्दिस्तान पुर्‍याए । दुबईमा लिन आउने भनिएका एजेन्टको सम्पर्क व्यक्ति प्रेमिका तामाङ देखा परिनन् । स्वदेशमै रहँदा उनले कहिले काठमाडौं बौद्ध र कहिले काभ्रेको पनौती घर बताउँथिन् । मालिकको घरमा पुगेपछि उनका कष्टका दिन सुरु भए । भाँडा माझ्ने, लुगा धुनेलगायत काममा २४ सै घण्टा घोटिन थालिन् । अह्राएको जस्तोसुकै जटिल काम पनि गर्नै पथ्र्यो । त्यस क्रममा खानासमेत नदिएपछि ६६ दिनमा भागेर आफूजस्तै दु:ख पाएका नेपाली महिलाको डेरामा पुगिन् ।
 
‘हामा’ भन्ने कुर्दिस मालिकले यौन दुव्र्यवहारको प्रयास गरे । उनले प्रतिकार गरेपछि शारीरिक र मानसिक यातना दिन थाले । ‘मालिकले यौन शोषण गर्न खोजे, हरेक दिन प्रतिकार गर्दा धेरै कुटाइ खाएँ तर शरीर बेचेर पैसा कमाउन चाहिनँ,’ उनले भनिन् । मालिककी पत्नीले थाहा पाउँदा उल्टै सजाय दिन्थिन् । ६६ दिन काम गरेबापतको ६ सय इराकी दिनार पनि काभ्रे घर बताउने सोनी शेर्पा र रोनी राईलाई छाडेको उनले सुनाइन् । 
 आफू कम्पनीको पसलमा मासिक सात सय डलर पाउने सर्तमा आएको सुनाउँदा मालिक र मालिक्नीले एजेन्टलाई पाँच हजार डलर दिएर ल्याएको जवाफ दिए । त्यसपछि मात्र आफू बेचिएको थाहा पाइन् । कुर्दिस्तान पुगेपछि मालिकले मोबाइल, पासपोर्टलगायत सबै कागजपत्र कब्जा गरी परिवारसँग सम्पर्कविहीन बनाए ।
 
छोरी सम्पर्कमा नआएपछि बाबुआमाले एजेन्ट गुरुङको मोबाइलमा कल गरे । उनले उल्टै पाँच लाख रुपैयाँ मागे । रकम नदिए छोरीको उद्धार नहुने धम्की दिएपछि काठमाडौं पुगेर गुरुङ र तामाङलाई भेटेर ‘उनको ज्यान गए पनि कानुनी लडाइँ नछाड्ने’ चेतावनी दिए । त्यसपछि मात्र परिवर्तन नामक संस्थाको सहयोगमा गत चैत ४ मा उनलाई कुर्दिस्तानबाट स्वदेश फर्काइएको हो ।
 
Published on: 13 May 2016 | Kantipur

Back to list

;