s

दोस्रोपटक पनि रोक्यो अध्यागमनले कुवेत हिँडेका ३७ श्रमिक

अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै दोस्रोपटक पनि कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ । गत २७ असारमा रोकिएका श्रमिकमध्ये ३७ जना पुनः टिकट खरिद गरी शुक्रबार बेलुका सलाम र जजिरा एयरलाइन्समार्फत कुवेत उड्न विमानस्थल पुगेका थिए । तर, अध्यागमनले अनुसन्धान भइरहेको भन्दै उनीहरूलाई उड्न दिएन । वैदेशिक रोजगारीमा कुवेत जान लागेका श्रमिकहरूको कागजपत्र ठीक भए पनि छानबिनको प्रक्रियामा नै रहेकाले शुक्रबार बेलुका उनीहरूलाई रोकेको अध्यागमन विभागका सूचना अधिकारी झन्कनाथ ढकालले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार ३७ जनालाई म्यानपावर कम्पनीले अर्को टिकट काटेर पठाएको थियो । जसमध्ये निरकमल एचआर म्यानपावर कम्पनीबाट पठाएका ११ जना जजिरा एयरलाइन्सबाट र चारजना सलाम एयरबाट कुवेत जान लागेका थिए । यस्तै, युथ म्यानपावरले पठाएका १३ जना जजिरा एयर र नौजना सलाम एयरबाट कुवेत जान लागेका थिए । २७ गते रोकिएमध्ये नौजना भने शुक्रबार बिहान सात बजे कुवेत एयरलाइन्समार्फत उडेका छन् । कार्यालयले श्रमिकमाथि विभेदपूर्ण काम गरेको संघको आरोप छ । आठ महिलासहित नौजना कुवेत पुगेका हुन् ।

गत २७ गते त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले विभिन्न एयरलाइन्समार्फत कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई रोकेको थियो । जसमध्ये बुधबार बेलुका फर्काइएकाहरूमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७ जना, युथ म्यानपावरबाट गएका ३२ जना र सुलभ म्यानपावरबाट गएका चारजना रहेका छन् ।

अध्यागमन कार्यालयको मनपरी

त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीको गैरजिम्मेवारीपूर्ण कार्यका कारण नेपाली श्रमिकले झन्झट व्यहोर्नुपरेको वैदेशिक रोजगार व्यवसायी संघले आरोप लगाएको छ । कार्यालयले आफ्नो अधिकारभन्दा बाहिर गएर श्रमिकलाई दुःख दिएको संघको आरोप छ । श्रमिकको भिसा प्रमाणित श्रम कार्यालयले नै गरिसकेको हुन्छ । तर, अध्यागमनले आफ्नो अधिकार नै नभएको विषयमा छानबिन गरी गलत तर्क प्रस्तुत गरेको संघका अध्यक्ष भण्डारीले बताए ।

अध्यागमनले शंकाकै आधारमा श्रमिकलाई रोक्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्ने संघका अध्यक्ष भण्डारीले बताए । ‘यो मुद्दामा अन्तर्राष्ट्रिय एयरलाइन्स जोडिन्छ । त्यति मात्रै होइन, गन्तव्य मुलुकको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि असर पर्छ,’ उनले भने । तर, कार्यालय कर्मचारीलाई यस्ता विषयले केही फरक नपार्ने उनले बताए ।

अध्यागमनले शंकाकै भरमा रोकेका श्रमिकको आर्थिक क्षति व्यहोर्नुपर्ने उनले बताए । ‘प्लेन छुट्दा नयाँ टिकट काटेर जानुपर्छ । त्यति मात्रै होइन, १६ जनाको आइतबार भिसा अवधि सकिँदै छ,’ उनले भने । यसो अवस्थामा श्रमिकले फेरि सबै प्रक्रिया दोहोर्‍याउनुपर्ने उनले बताए ।

कार्यालयले श्रमिकलाई अनावश्यक दुःख दिएको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए । श्रम स्वीकृति पाइसकेको श्रमिकको कागजपत्रमा खासै समस्या नहुने उनले बताए । अध्यागमन कार्यालयले भने श्रमिकसँग भएको भिसा पेपर र अन्य कागजपत्र पनि शंकास्पद देखिएकाले श्रमिकलाई रोक्नुपरेको दाबी गरेको छ ।

तर, व्यवसायीले भने अध्यागमन कार्यालयले यसअघि पनि विभिन्न बहानामा श्रमिकलाई दुःख दिने गरेको बताए । कार्यालयले भिसा, कम्पनी र पद फरक भएको कारण देखाउँदै श्रमिकलाई तनाव दिन थालेपछि ३० वैशाख ०७१ मा वैदेशिक रोजगार व्यवसायी संघको पहलमा एक निर्णय भएको थियो ।

तत्कालीन अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले श्रमिकहरूको भिसामा उल्लेख हुने पेसा, कम्पनीलगायत विवरणमा भिसा र श्रम स्टिकरमा फरक परेको अवस्थामा पनि कार्यालयले रोक्न नपाउने निर्णय भएको थियो ।

अध्यागमनको कार्यप्रति चौतर्फी विरोध

त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई शंकाकै भरमा रोकेपछि कार्यालयविरुद्ध चौतर्फी विरोध भएको छ । वैदेशिक रोजगार व्यवसायी संघले श्रममन्त्री र गृहमन्त्रीलाई नै भेटेर यस विषयमा छानबिन गर्नसमेत आग्रह गरेको छ । संघले कार्यालयले शंका लागेको कागजपत्रसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

यसको अर्थ सीधै श्रमिक र व्यवसायीलाई दुःख दिने कार्यालयको नियत देखिने संघका अध्यक्ष भण्डारीले बताए । त्यस्तै, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले नेपाली युवायुवतीलाई अध्यागमन विभागले विभिन्न कारण देखाई वैदेशिक रोजगारमा जान नदिई फर्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यागमन विभागअन्तर्गतका कर्मचारीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गरी जान लागेका नेपालीलाई विदेश जान नदिई अपमानजनक रूपमा फर्काइएको कार्य गैरसंवैधानिक र गैरकानुनी भएको जनाएको छ ।

Published on: 17 July 2023 | Naya Patrika

Link

Back to list

;