s

डोल्माले पाइन् डेढ लाख

एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।
 
‘डोल्मा बचाउ अभियान’का नाममा महिला हकहितमा जुटेका विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित उक्तम रकम माइती नेपालको संयोजनमा कोषमा राखिएको थियो । हालै आयोजित एक समारोहमा माइती नेपालकी अध्यक्ष एवं प्रदेश ३ प्रमुख अनुराधा कोइरालाले डोल्मालाई सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।
 
कुवेतमा एक दशकभन्दा बढी जेल जीवन बेहोरेर ८ महिनाअघि देश फिरेकी डोल्माका नाममा गैर आवासीय नेपाली संघले विश्वभरका सहहृदयी नेपालीबाट रकम संकलन गरेर झण्डै ३२ लाख रुपैयाँ मौज्दात रहेकोमा यो भने उनले पाउन सकेकी छैनन् । उक्त रकमको ब्याज मात्रै ११ लाख रुपैयाँभन्दा बढी भैसकेको छ ।
 
गैर आवासीय संस्थाले उक्त रकम आफ्नै कल्याणकारी खातामा राखेर विदेशमा रहेका अरु कामदारको हकहितमा प्रयोग गर्ने घोषणा गरिसकेको छ ।
 
भर्खरै गोर्खाको चुम उपत्यकाबाट आफ्नी ७५ वर्षिया आमालाई डोल्माले काठमाडौं ल्याएर तिलगंगा अस्पतालको सौजन्यमा आमाको मोतिबिन्दू उपचार गराएकी थिइन् । खर्चको अभाव भैरहेका बेला माइती नेपालबाट पैसा पाएर ठूलो सहयोग मिलेको बताइन् । ‘मलाई ठूलो राहत मिलेजस्तो भएको छ,’ डोल्माले भनिन् ।
 
Published on: 25 March 2018 | Kantipur

Back to list

;