s

डोल्माको नाम बेचेर

देवेन्द्र भट्टराई
 
गोर्खाको चुमलिङ माइती र सिन्धुपाल्चोकको गोम्थाङ घर भएकी डोल्मा शेर्पाको नाम आज देश–विदेशमा छाएको छ। कुनै विशिष्ट काम, अभियान अथवा कलाकौशलका कारण डोल्मा यसरी चिनिएकी होइनन्। बरु गलत बाटो र उपायबाट वैदेशिक रोजगारीमा खाडीको कुवेत पुगेकी डोल्मामाथि खनिएको विपत्ति र लागेको सहकर्मी युवती हत्याको अभियोगले उनलाई देश–दुनियाँमा चिनाएको हो। बितेको १० वर्षयता डोल्मा शेर्पा बचाउका नाममा नेपाल सरकारले जेनतेन समन्वय जुटायो। परराष्ट्र मन्त्रालयले आफ्नो कर्तव्य (आवरणमा) हदैसम्म निर्वाह गरेको देखियो, सुरुमा साउदी अरेबिया र पछि कुवेतस्थित दूतावासले ‘थोरबहुत’ अस्तित्व देखाउने मौका पाए। चर्कै रूपमा डोल्मा बचाउ अभियान चल्यो, व्यक्ति–संस्थाहरू एकाएक जागृत बने। मृत्युदण्डको सजाय तोकिएकी डोल्माको अन्तत: जीवनरक्षा भयो। १० वर्षभन्दा लामो जेल सजाय बेहोरेर डोल्मा काठमाडौं फिरेको एक महिना भइसकेको छ। तैपनि प्रश्न भने यथावत छ— डोल्मा शेर्पाको नाम राखेर डोल्माको नाम बेचेर उठेको झन्डै ५० लाख रुपैयाँको सहयोगको हिसाब–किताब आज कहाँ छ (?) जसमा विश्वभरका सह्दयी नेपालीले ‘आना–सुका बटुल्दै’ डोल्माका नाममा कोष बनाइदिएका थिए।
 
एक दशकयता पत्रिकाको चाङमा डोल्मा प्रकरण उब्जिएयता बनेका सहयोग समिति र उठेको रकमबारे हिसाब गर्ने हो भने यो विषय ‘असाध्य’ हुनसक्छ। जस्तो १० वर्षअघि गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिमा तत्कालीन अध्यक्ष डा. उपेन्द्र महतोको अग्रसरतामा डोल्मा सहयोग समिति गठन हुन सुरु भएको रहेछ। त्यसमा जर्मनी, रूस र दक्षिण कोरियामा तीनवटा उपसमिति गठन भएको रहेछ। संघको सञ्जाल रहेका विश्वभरका ४० देश (तत्कालीन) बाट आर्थिक सहयोग उठाउन दक्षिण कोरियास्थित तेन्जिङ शेर्पाको संयोजनमा एक समिति र जर्मनीबाट महिला मामला संयोजक उषा शर्मा सहयोग अभियानमा लाग्ने निर्णय गरिएको रहेछ। रूसभित्रै नेपाली समुदायबाट पैसा उठाउन रंग पौडेल र प्रवीण गौचनको अगुवाइमा अर्को समिति गठन भएको रहेछ। यसैगरी नेपाल शेर्पा संघले आफ्नो जातीय पहिचानमा डोल्माका लागि गरेको सहयोगको विवरण पनि उत्तिकै लामो छ। माइती नेपाल, पौरखी नेपालजस्ता संस्थाहरूले डोल्मा बचाउ अभियानमा उठाएको ‘बोलीको सहयोग’ उत्तिकै उल्लेख्य छ। यी सबै सहयोग र भरथेगको क्रम त्यसबेला अघि बढेको थियो, जुनबेला डोल्माको जीवनरक्षामा परराष्ट्र मन्त्रालयले ४ हजार डलरको ‘बिउ पैसा’ राखिदिएर थप रकमका लागि अन्तर्राष्ट्रिय जगतमा रहेका नेपालीसँग हारगुहार गरिएको थियो। तर कहाँ छ, यी सबै डोल्मा नामको हिसाब–किताब?
 
पारदर्शिताको यो सन्दर्भ बाहिर आइरहेका बेला भन्नैपर्छ— डोल्मा शेर्पा वैदेशिक रोजगारीमा गएका नेपाली महिलाका लागि कुनै ‘रोल–मोडल’ होइनन्। बरु आफ्नो विषय, क्षेत्र, भूगोल, भाषा, सीप नजानीकन विदेशिँंदा पाइने दु:ख र आइपर्ने परिबन्दका लागि कुवेती कारागारबाट संसारभर एकैसाथ सुनुवाइमा आएकी एउटी प्रतिनिधि नाम भने पक्कै हुन्। 
 
यी नेपाली छोरीले बेहोरेको परिबन्द र संकट फुकाउन विश्वभरका नेपालीले ‘डोल्मा सही हो अथवा गलत?’ भन्ने विमर्श नगरीकनै सह्दयी बनेर भरथेग गरेकै हुन्। एउटी असाक्षर, विपन्न र नाबालक सन्तानकी आमा डोल्मा शेर्पाले बेहोरेको संकट र परिबन्द ‘सेभ डोल्मा’का नाममा बिक्नु बिक्यो। यो आधारमा भने डोल्मा एउटी ‘रोल–मोडल’ हुन्।
 
अब डोल्मा नामको खाताको हिसाब–किताब हेरौं। व्यक्ति हत्याको अभियोगमा छुट्कारा पाउन इस्लामिक कानुनमा ‘रगत गरे बापतको पैसा’ (ब्लड–मनी) बुझाउनैपर्ने अवस्थामा यसमा १० हजार डलर खर्च भएको विवरण स्पष्ट छ। यस बाहेक डोल्माका पक्षमा लड्न राखिएको कुवेती वकिलले १२ हजार डलर शुल्क लिएको पनि स्पष्ट छ। गैरआवासीय नेपाली संघले उठाएकोबाट ३ लाख रुपैयाँ डोल्माको नाबालक छोराको नाममा र ३ लाख परराष्ट्र मन्त्रालयमा बुझाइएको सूचना पनि सप्रमाण आएको छ। संघ (एनआरएन) का केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाबाट दिएको जानकारीमा यो वासलातमा अब बँचेको झन्डै ३२ लाख रुपैयाँ एनआरएन सचिवालय खातामा राखिएको छ। तर सचिवालय पुग्दा थाहा भयो— डोल्माका नाममा उठेको पैसा एनआरएनकै कल्याणकारी कोषमा दाखिला भैसकेको रहेछ। ‘डोल्मा शेर्पाका नाममा, डोल्मा बचाउ भन्ने ब्यानरमा र यही होहल्लामा उठेको पैसा कसरी एनआरएनको कल्याणकारी खातामा जान सक्छ?’ सचिवालयका कार्यकारी निर्देशक राजेश शमशेर राणामाथि जिज्ञासा राख्नासाथै जवाफ आयो, ‘डोल्माजस्तै अरु पीडितका निम्ति उद्धार समन्वय वा सहयोगका लागि यो कोष सुरक्षित गरिएको हो।’
 
अरु सवाल–जवाफको कुरा रहेन पनि। एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले गरिसकेको यो दूरगामी हितको निर्णयमा कुनै आशंका पनि रहेन। संयोग के छ भने यसै साता जर्मनीको फ्रेङ्कफर्टमा आयोजना हुनलागेको एनआरएनको अन्तर्राष्ट्रिय महिला कन्फरेन्समा ‘अन्तर्राष्ट्रिय महिलाको दायरा, सहयोगको क्षेत्र र भए–गरेका काम’बारे पनि मूल्यांकन होला नै। त्यही बेला एनआरएनले वैदेशिक रोजगारीमा गएर बिचल्ली बेहोर्ने कामदारको उद्धार, हित र समन्वयमा खोलिएका देशैपिच्छेका कल्याणकारी कोषबारे पनि बहस हुनसक्छ। डोल्मा जस्तै उद्धारकारी मामलामा भरथेग गर्न अफ्रिकाको केन्या पुगेर एनआरएन अन्तर्राष्ट्रिय अध्यक्ष शेष घलेले विशेष कोष दुई वर्षअघि घोषणा गरेका थिए, लगत्तै दुबई र मलेसियामा थप दुई कोष एनआरएन मातहतमै जन्मिएका थिए। यता एनआरएन केन्द्रीय सचिवालयमा रहेको (कल्याकणकारी) कोषमा २ करोड रुपैयाँ मौज्दात छ, जसबाट अहिलेसम्म कुनै ‘उद्धार, समन्वय र भरथेग’ भएको कुनै जानकारी बाहिर आएको थाहा छैन। बरु वैदेशिक रोजगार विभागको लेबर–डेस्कमा बस्ने एक कर्मचारीका लागि मासिक तलब उपलब्ध गराउने प्रबन्ध भने यही कोषबाट मिलाइएको छ। ‘सामान्य हिसाबमा पनि यसरी एउटा पीडित कामदारका नाममा उठेको सहयोग रकम आफ्नो कल्याणकारी कोषमा राख्न नमिल्ने हो। तर एनआरएनको विशेष प्रावधान के–कस्तो हो, तत्काल भन्न सकिने स्थिति छैन,’ डोल्माका नाममा उठाइएको पैसा एनआरएनको कल्याणकारी कोषमा ‘कन्भर्ट’ भएको खबर सुनेर कुवेतस्थित पूर्व राजदूत मधुवन पौडेल भन्छन्। 
 
एनआरएन बाहेक पनि डोल्मा नामको केही हिसाब–किताब सोधपुछमै अल्झिएको छ। डोल्मा बचाउ अभियान अन्तर्गत २००८ को सुरुवातदेखि उठेको अन्तर्राष्ट्रिय सहयोगबाट त्यही वर्ष अप्रिल महिनामा १ हजार डलर (१ लाख रुपैयाँ) ‘साउदी एकाउन्ट’मा प्रत्यक्ष डिपोजिट गरिएको देखिए पनि यो एकाउन्ट कहाँ, कसको नाममा छ— कहीं कतै जानकारी छैन। शेर्पा सोसाइटी, न्युयोर्कले पठाएको रकम परराष्ट्र मन्त्रालयका तत्कालीन एक अधिकारीको रोहवरमा हिमालयन बैंकमा खोलिएको खातामा राखिएको सूचना अहिले सार्वजनिक सञ्जालमार्फत आइरहेको छ। अर्कातिर साउदी अरेबिया र कुवेतस्थित दूतावासका अधिकारीले परराष्ट्रमार्फत दिएको जानकारीमा डोल्माका नाममा संकलित रकम दूतावासको खातामा कहीं कतै अड्केको देखिन्न। यो यथास्थिति र बेहाल खर्चबर्चबारे (आधिकारिक भनिएको) परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई पनि कुनै जानकारी छैन। उसोभए डोल्माका नाममा उठेको पैसा कहाँ गयो? 
 
डोल्मा जस्तै सुरुमा मृत्युदण्डको फैसला बेहोर्दै पछि जेल सजाय काटेर युएईबाट घर फिरेका अनिश खालिङको व्यथा पनि उस्तै छ। उनका नाममा उठेको १ करोड रुपैयाँभन्दा बढीको संकलन आज ‘बेहिसाब’ बनेको देखिन्छ। डोल्माका हकमा भने उनका नाममा उठेको रकम गैरआवासीय नेपाली संघको केन्द्रीय खातामा बसेर ‘बेहिसाब’झैं देखिएको छ। यतिखेर गम्भीर प्रश्न उब्जिएको छ— सुरुमा ब्लड–मनी अथवा जीवनरक्षाका नाममा एउटा पीडित कामदारको ‘फेस’ देखाएर उठाइने लाखौं रकमको ‘अधिकार’ कसमा रहन्छ? नेपाली चेली डोल्मा शेर्पाका नाममा संसारभरबाट उठाइएको रकम यसरी हाकाहाकी एनआरएन कल्याणकारी कोषमा जानु के ‘न्यायिक’ हो? ‘थाहा’ चाहियो। 
 
Published on: 26 July 2017 | Kantipur

Back to list

;