s

डोल्माका नाममा उठेको ३२ लाख ‘कब्जा’ गर्ने एनआरएनको निर्णय

गैरआवासीय नेपाली संघले एक पिडीत नेपाली कामदारका नाममा उठेको रकम बिना कारण कब्जा गर्ने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघले डोल्मा शेर्पाको ज्यान बचाउने भन्दै बिश्वभरबाट उठाएको चन्दाबाट संकलित रकम जे प्रयोजनका लागि संकलन गरिएको हो त्यसमा खर्च नगरी आफै कब्जा गर्ने स्वेच्छाचारी निर्णय गरेको छ ।
 
संघका प्रवक्ता भूषण घिमिरेले जारी गरेको बिज्ञप्तिमा हालै बसेको कार्यकारी समितिको वैठकले डोल्मा शेर्पाका नामा संकलन गरी संघको खातामा रहेको झण्डै ३१ लाख रुपैयाँ डोल्मा शेर्पालाई फिर्ता नदिई संघकै खातामा राख्ने निर्णय गरेको जानकारी दिइएको छ ।
 
संघले सन् २००८ मा तत्कालिन समयमा कुवेतमा मृत्युदण्डको सजायँ पाएकी डोल्मा शेर्पाको ज्यान बचाउन भन्दै बिश्वभरबाट रकम संकलन गरेको थियो । ब्लडमनी तिरेर शेर्पाको ज्यान जोगाउन भन्दै एनआरएनएले सो रकम संकलन गरेको थियो ।
 
झण्डै ३७ लाख रुपैयाँ जम्मा गरेको एनआरएनलेले जे प्रयोजनका लागि पैसा जम्मा गरेको हो, त्यसमा खर्च नै गरेन । सरकारले नै ब्लडमनी बापतको रकम जम्मा गरेर शेर्पाको ज्यान जोगाइदियो ।
 
लाखौं रकम संकलन गरेको एनआरएनएले झण्डै ७ बर्षसम्म सो रकम कुनै जानकारी बिनै आफ्नो खातामा राख्यो । तर, जब डोल्मा शेर्पा केही महिना पहिले रिहा भएर नेपाल आइन, त्इसपछि उनको नामा संकलन भएको रकमबारे सोधखोज हुन थाल्यो ।
 
संघको खातामा डोल्माको नाममा संकलित रकम रहेको जानकारी पाएपछि निवर्तमान अध्यक्ष शेष घलेले सो रकम बिश्वसम्मेलनका अबसरमा हस्तान्तरण गर्ने बताएका थिए । तर, संघको तत्कालिन कार्यसमितिले सो प्रस्तावलाई नमानेपछि उनको योजना सफल हुन सकेन ।  हालै बसेको नयाँ कार्यसमितिको वैठकले ती असहाय महिलाको नाममा संकलित रकम कब्जा गर्ने बिबादास्पद निर्णय गरेको हो ।
 
संघले डोल्माको पोष्टर देखाएर संकलन गरेको रकममध्ये तीन लाख रुपैयाँ उनका छोराका नाममा अक्षय कोष स्थापना गर्न प्रदान गरे पनि अन्य सवै रकम संघको खातामै रहेको छ । सन् २०१० यता ३१ लाख रुपैयाँले आर्जन गरेको ब्याजका बिषयमा समेत संघले सूचना लुकाएको छ ।
 
सामान्यतयाः एनआरएनजस्ता सामाजिक संस्थाले जे प्रयोजनका लागि रकम संकलन गरिएको सोही काममा खर्च गर्नुपर्ने हुन्छ । यदि सो काममा खर्च हुन नसके सो रकम सरकारी राजश्वमा जम्मा गर्नुपर्नेमा संघले पिडीत महिलालाई रकम दिन आनाकानी गर्दै संकलित रकम आफैले राख्ने हठ देखाएको छ । कुनै पिडीतका नाममा दाताहरुले दिएको रकम आफैले कब्जा गर्ने अधिकार संघलाई कुनै पनि प्रचलित कानुन र मानीयताको दृष्टिकोणले समेत नदिने भए पनि संघको नवनिर्वाचित कार्यसमितिले कानुन र लोक लाजकोसमेत धज्जी उडाएको छ ।
 
साथै, डोल्माको जीवन बचाउने पवित्र उदेश्यले आफ्नो गास काटेर सहयोग गर्ने दाताहरुको सदभाव र भावनामा समेत संघले खेलवाड गरेको छ । जे प्रयोजनका लागि संकलन गरिएको हो, त्यसो नगरी लामो समयसम्म रकम आफ्नै खातामा राख्ने र रकमले आर्जन गरेको ब्याज रकमसमेत सार्वजनिक जानकारी गराउन आनाकानी गरिरहेको छ ।
 
संघले न त भनिएको प्रयोजनमा पैसा खर्च गर्‍यो न त त्यसरी संकलन गरिएको रकम अब के प्रयोजनका लागि खर्च गरिने छ भन्ने नै जानकारी गराउन चन्दादातालाई आबश्यक ठान्यो ।
 
डोल्माका नाममा उठेको रकम कब्जा गर्ने एनआरएनको निर्णय सार्वजनिक भइरहँदा यतिबेला डोल्मा शेर्पा भने राजधानीमा बिहान के खाउँ, साँझ के खाउँको अबस्थामा छिन् । उनको छाक टार्न र पुनःस्थापना गर्न फेरि चन्दा उठाउन डोल्मा सहयोगीहरु लागिरहेका छन् ।
 
Published on: 5 November 2017 | OnlineKhabar

Back to list

;