s

डलर सस्तिँदा कामदार निराश

रोशन अधिकारी

दसैंको मुखमा विदेशबाट आउने रेमिट्यान्स पर्खिरहेकालाई डलरको घट्दो मूल्यले निराश बनाउन थालेको छ । केही महिनाअघिसम्म बढ्दो मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाए पनि चाडबाड नजिक आउन थालेपछि उल्टो भएको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार डलर ५ महिनाकै सबैभन्दा कमजोर भएको छ ।

बिहीबारका लागि बैंकले डलरको मूल्य ८४ रुपैयाँ १४ पैसा तोकिएको छ । यो दर असार १० गते ९१ रुपैयाँ ८८ पैसा थियो । डलरको भाउ सस्तिएपछि रेमिट्यान्स भित्रिने क्रम केही घट्ने देखिएको छ । सामान्यता दसैंतिहारमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार दसैंमा रेमिट्यान्स भित्रिने क्रम २५ प्रतिशतसम्म बढ्छ ।

राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीका अनुसार महिनैपिच्छे रेमिट्यान्स पठाउनेको संख्या उच्च रहेकाले डलरको अधिमूल्यन वा अवमूल्यनले धेरै फरक पर्दैन । 'अधिकांशले हरेक महिना रेमिट्यान्स पठाउँछन् । केहीले डलरका कारण रोके पनि त्यो एक महिनाको हाराहारी मात्र हुन्छ,' उनले भने, 'डलरको मूल्य बढ्ने निश्चित नभएकाले हाल नरोकिएला ।'

तर दसैंको अवधिमा सञ्चित गरेर राखेको रकम पनि पठाउने हुनाले डलरको मूल्यले असर गर्न सक्ने अर्का अधिकारी बताउँछन् । 'डलर कमजोर भएको भेला घर चलाउन आवश्यक रकम मात्र पठाउने गरेको पाइन्छ,' उनले भने, 'बलियो भएको समयमा भने सञ्चित गरेर राखेको रकम पनि पठाउने गरेको देखिन्छ ।' केही दिन वा सातामा पुनः डलरको मूल्य बढ्ला भन्ने अनुमानसहित रेमिट्यान्स पठाउन पर्खने चलन विदेशमा देखिने उनले बताए । 'दुई/तीन रुपैयाँ बढ्दा पनि ठूलो फाइदा पुग्छ भनेर पर्खने गरिन्छ,' उनले भने ।

अधिकांश नेपाली कामदार जाने खाडी मुलुक र मलेसियामा भने डलरको मूल्यले धेरै असर गर्दैन । 'यस्ता मुलुकमा जानेले साधारणतया महिनैपिच्छे रकम पठाउँछन्,' उनले भने, 'तर केही भने साँचेर पठाउने पनि हुन्छन् ।' अमेरिका, यूके, अस्ट्रेलियालगायत मुलुकबाट भने रेमिट्यान्स पठाउनुअघि डलरको मूल्य घटबढ हेरेर बस्ने धेरै रहने उनी बताउँछन् । 'यस्ता मुलुकमा रहेका धेरैले चाडबाडकै समयमा रेमिट्यान्स पठाउने गर्छन्,' उनले भने ।

डलरको भाउ सस्तो हुँदा आयातमुखी अर्थतन्त्रलाई फाइदा हुने भए पनि तुरुन्तै असर देखिँदैन । डलर खरिद बिक्री गर्न तुरुन्तै विनिमय दर लागू हुने भए पनि सामान आयात गर्दा लामो समय लाग्ने भएकाले छिट्टै असर देखिँदैन । अर्कोतर्फ डलरको मूल्य घट्दा नेपाल आयल निगमलाई भने फाइदा पुग्छ । डलर कमजोर भएपछि पेट्रोलियम पदार्थको मूल्य कम पर्छ ।

किन घट्दै छ डलरको मूल्य ?

सामान्यतया डलरको मूल्य माग र आपूर्तिका आधारमा घटबढ हुन्छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले नेपालमा रहेको माग र आपूर्तिले डलरको मूल्य निर्धारण गर्दैन । भारतमा डलरको मूल्यमा हुने उतारचढावको सीधै असर नेपालमा पर्छ । पछिल्लो समय भारत सरकारले विदेशी लगानी भित्र्याउन लिएको उदार नीतिका कारण डलर अवमूल्यन हुन थालेको छ । त्यसैको असर नेपाली बजारमा परेको हो । भारतले खुद्रा व्यापारका साथै हवाई क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गरेको छ । यसपछि विदेशी लगानी भित्रिने क्रम बढेको छ ।

डलरका रूपमा भित्रिने लगानीले आन्तरिक बजारमा माग घटाएको र आपूर्ति बढाएको छ । यसको असरले भारतीय रुपैयाँ बलियो र डलर कमजोर हुँदै गएको छ । रुपैयाँ बलियो हुँदै गएपछि भारतीय सेयर बजारमा पनि त्यसको असर देखिन थालेको छ ।

अब कता जाला ?

भारतीय विश्लेषक अमेरिकी डलरको मूल्य ५२ भारतीय रुपैयाँको हाराहारीमा बस्ने अनुमान गर्छन् । 'रुपैयाँ अझ कमजोर हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले भारतको चाहना डलरलाई ५२ कै आसपासमा राख्ने हुन सक्छ,' राष्ट्र बैंकको विदेशी मुद्रा विभागमा लामो समय काम गरेका एक पूर्वअधिकारी भन्छन्, 'त्यसैले नेपालमा पनि डलरको मूल्य ८३ रुपैयाँभन्दा तल नझर्नुपर्ने हो ।'

Published on: October 2012 | Kantipur

Back to list

;