s

दोलखामा मजदुर बोकेको बस दुर्घटना, २ को मृत्यु, एक दर्जन घाइते

राजेन्द्र मानन्धर

दोलखाको लामाबगरमा माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ४५७३ नम्बरको भाडामा लिइएको बस शुक्रबार बिहान करिब ७ बजे बिगु गाउँपालिका १ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । उनले दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका ३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का ४४ वर्षीय हिराप्रसाद मिजारको मृत्यु भएको जनाए ।समा चालकसहित करिब २५ जना मजदुर सवार थिए।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन्।गम्भिर घाइते कञ्चनपुर-२ का देवसिंह चौधरी, लमजुङका २५ वर्षीय सुरज लामा, सुर्खेत विरेन्द्रनगर नगरपालिका-७ का ४३ वर्षीय प्रेम आचार्य र बर्दिया ठाकुरद्वाराका २३ वर्षीय दिनेश सुनुवार रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । अन्य करिब एक दर्जन सामान्य घाइते भएका प्रहरी नायव उपरीक्षक पाठकले बताए। उनका अनुसार घाइतेलाई सदरमुकाम चरिकोट र सिंगटी बजारका अस्पताल लगिएको छ। घटनास्थल चरिकोटबाट करिब ५५ किलोमिटर उत्तर तिब्बती सीमामा पर्दछ।

Published On: 15 March 2019 । Kantipur 

Back to list

;