s

‘दोहोरो मारमा महिला’

समयअघिको अनुगमनमा यहाँका होटल, डान्सबार, मसाज सेन्टर, दोहोरी साँझलगायत विभिन्न भौतिक संरचनाका निर्माणस्थलको अवस्थाले महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मीदेवी जीसीलाई चकित बनायो । उनी त्यहाँ हुने यौनजन्य व्यवहारबाट झस्किइन् । ‘यसलाई नरोक्ने हो भने छोरीचेली सुरक्षित हुने छैनन्,’ उनले भनिन्, ‘यस्तो अवस्थाले पोखरा मानव बेचबिखनको हबका रूपमा विकास भएको सहजै अनुमान लगाउन सकिन्छ ।’ 

अनपढ, गरिब, पारिवारिक बिछोड, तिरस्कार, संरक्षणविहीन महिला त्यसमा पनि किशोरीहरू कुनै न कुनै रूपमा यौन हिंसामा पारिएको उनले बताइन् । ‘जबरजस्ती यौन व्यवसायमा लगाउने, यौनशोषण गर्ने, शरीरका अंग झिक्नेजस्ता काम पनि मानव बेचबिखनमा पर्छन्,’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध दिवसको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘पोखरामा यौनकर्ममा महिलाको प्रयोग बढिरहेकाले आन्तरिक मानव बेचबिखन डरलाग्दो भएको छ ।’ डान्सबारदेखि अन्य क्षेत्रमा २० वर्षमुनिकै महिलाको प्रयोग बढी भएको पाइएको उनले बताइन् । ‘मानव बेचबिखनका लागि यस्ता क्रियाकलाप पहिलो चरण हो,’ जीसीले भनिन्, ‘१२ वर्षीयालाई पनि यौन व्यवसयामा लगाएको पाएका छौं ।’

साक्षरता बढी, कम गरिबी भएको, मानव सूचकांकको अवस्था पनि माथि रहेको पोखरामा त यस्तो अवस्था छ भने अन्यत्र के होला भन्ने कार्यक्रममा चिन्ता व्यक्त गरिएको थियो । कास्कीभन्दा पनि बाहिरी जिल्लाबाट किशोरी तथा महिला पोखरामा बढी रहेको शक्ति समूहकी अनिशा लामाले बताइन् । ‘सुरुमा राम्रो काम गर्न लगाएर पछि यौन व्यवसायमा लगाउने गरेको पाइन्छ,’ उनले भनिन्, ‘जस्तोसुकै रूपमा भए पनि बेचबिखनमा परेका महिला दोहोरो–तेहोरो मारमा पर्छन् ।’ पछिल्लो ७ वर्षमा जम्मा ३८ मुद्दा मात्रै प्रहरीकोमा दर्ता भएका थिए । डीएसपी खडकबहादुर खत्रीले यस्ता उजुरी खासै प्रहरीकोमा नआउने बताए । नेपालमा मंगलबार एघारौं मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने नारा साथ मनाइँदै छ । 

दलाल अझै फरार

सिन्धुपाल्चोक– गाउँकै युवतीलाई भारतमा लगेर बेचेको आरोपमा ४४ वर्षअघि मेलम्ची नगरपालिका बाँसबारीका एक तामाङ युवकविरुद्ध जिल्ला अदालतमा मुद्दा चल्यो । उनलाई दोषी ठहर गर्दै अदालतले २०३० पुसमा तीन वर्षको जेल सजाय सुनायो । तर, ती युवक अहिले पनि फरार सूचीमै छन् । हेलम्बु गाउँपालिकाको ग्याल्थुम महांकालका एक अर्का युवकविरुद्ध पनि सजाय सुनाइयो । जिल्ला अदालतले २०३० भदौमा उनलाई पाँच वर्षको कैद सजाय तोक्यो । उनलाई पनि प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन ।

यी दुई प्रतिनिधि घटनामात्रै हुन् । जिल्लादेखि राजधानीसम्मका अदालतले मानव बेचबिखनका मुद्दामा सजाय सुनाएका ४५ भन्दा बढी अभियुक्त अझै पक्राउ पर्न नसकेका हुन् ।

Published on: 5 September 2017 | Kantipur

Back to list

;