s

दोहामा ८८ कामदार अलपत्र

होम कार्की

काम गर्न आएदेखि तलब नपाएका ८८ जना नेपाली कामदार कतारमा अलपत्र परेका छन् । उनीहरूलाई दैनिक जीवनयापनका लागि आर्थिक अभाव भएकाले थप कष्टकर भएको हो । कतारको एउटा कन्ट्रक्सन कम्पनीमा आएका उनीहरू सबैले आएदेखि नै तलब नपाएपछि काम छाडेर बसेको झन्डै एक महिना पुगेको छ ।

पीडितलाई कतारस्थित नेपाली दूतावासले केही चामल दिए पनि त्यसबाट मुस्किल परेको छ । उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन् । उनीहरूले आर्थिक अभावमा भोकैसमेत पर्न थालेको बताए । उनीहरूमध्ये ६५ जनाल काठमाडौं सिनामंगलस्थित 'सिद्धिदादा म्यानपावर' बाट आएको बताएका छन् । पीडितहरू सबैसँग पैसा नभएर नेपाली दूतावास आउँदा एक-एक रियाल उठाएर सीमित कामदार समस्या राख्न आउने गरेका छन् । 'सबै आउने खर्च नभएपछि पैसा उठाएर दूतावास आइपुगेका हौं,' पीडित प्रेमप्रसाद घिमिरेले भने, 'दूतावासले एकचोटि ५ पोका र अर्को पटक १० पोका चामल दिएको थियो । यसले ८८ जनालाई तीन दिन पनि पुग्दैन ।' 'म आएको ६ महिना हुन लाग्यो । जम्मा २२ वटा दिनको तलब पाएको छु । अरू कम्पनीले केही दिएको छैन,' प्रेमप्रसाद घिमिरेले भने, 'घर जान्छु भन्दा पनि जाने वातावरण बनाएको छैन ।' पीडिले आफ्नो कपिल र मुदिरबारे जानकारीसमेत पाएका छैनन् ।

'उनीहरू कहाँ छन् भन्ने थाहा छैन,' उनले भने, 'आफ्नै टिकटले घर जान्छु भनेका छौं । तर जान पाइएको छैन ।' शिवनारयण महतोले आउँदा लागेको ऋण तिर्न नसक्दा समस्यामा परेको बताए । 'तलब दिन्छु भाइ काम गर भन्छ । कसरी तलब थापिन्छ, अहिलेसम्म थाहा छैन,' ७५ हजार तिरेर आएका महतोले भने, 'सयकडा चार रुपैयाँमा ऋण लिएर आएको छु । तिरेको छैन । ६ महिना लाग्यो तलब पाएको छैन । घरमा फोन गर्छु रुन्छन् । तलब पाएको छैन भने आउनु भन्छन् ।' सर्लाहीका सुरेश महतोले आएदेखि आफूले 'एडभान्स' बापत २ सय रियाल मात्रै पाएको बताए । 'म एक महिना ७ दिन भयो बसेको । पसलको खाता पनि बन्द छ ।

साथीभाइसँग ५-१० रियाल मागेर चलाइरहेको छु,' उनले भने, 'लेबर कोर्ट हुँदै हाइकोर्ट पनि गइयो । सीआईडी पनि गयो । समस्या समाधान हुन सकेको छैन ।' उनले आफूलाई ल्याउने एजेन्ट ज्ञानी लामालाई पटकपटक बताउन पनि केही सीप नलगेको बताए । 'एकै दिनमा तीन पटक तीन थरी कुरा गर्छ,' उनले भने । त्यहाँ कार्यरत साथीहरूको तलब १ हजारदेखि १५ सय रियाल रहेको स्याङ्जाका उमाकान्त पंगेनीले बताए ।
नेपाली दूतावासले कम्पनीका मालिक र म्यानेजर (मुदिर) प्रहरीले पक्राउ गरेको बताएको छ । उसले कामदारको समस्या समाधान गर्ने प्रयास भइरहेको बताएको छ ।

Published on: 30 May 2013 | Kantipur

Back to list

;