s

दोहामा ६ नेपाली अलपत्र

सम्झौताअनुसार काम र सुविधाका नपाएपछि न्यायका लागि अदालत गएका कारण चार जना नेपाली युवालाई कतारको एक कम्पनीले कामबाट निकालेर अलपत्र पारेको छ । कतारको याथ्रेब कम्पनीमा कार्यरत चार जना कम्पनीबाट निकालिएपछि विमानस्थलमा अलपत्र परेका छन् ।

अलपत्र पर्नेमा लखनपुर, झापाका सुदीप थापा, पथरी, मोरङका अमृत पुलामी, नेपालगन्ज, बाँकेका किरण शर्मा र पर्वतका मणिराज छेत्री छन् । सुदीपका दाजु विकास थापाका अनुसार बिर्तामोडको द रिभर ओभरसिजमार्फत भाइ सुदीप कतार पुगेका हुन् । जनही ८० हजार तिरेर कतार पुगेका उनीहरूलाई सम्झौत्ााअनुसार तलब पनि पाएका थिएनन् । 'यहाँबाट पठाउँदा भाइलाई १८ हजार दिने भनेको थियो, त्यहाँ पुगेपछि १६ हजार मात्र दिएछन्,' विकासले कान्तिपुरसित भने, 'त्यही भए पनि ६ महिनासम्म नियमित काम गर्दै तलब पाइरहेका थिए । तीन महिनायता तलबै दिन छाडेछन् ।'

'तीन महिनादेखि तलब नपाएपछि नेपाली दूतावासको शरणमा गयौं,' भाइले टेलिफोनमा भनेको उद्धृत गर्दै विकासले भने, 'दूतावासको सल्लाहअनुसार श्रम अदालतमा मुद्दा हाल्यौं । हामीले मुद्दा जित्यौं पनि ।'

आफूहरूको पक्ष्ामा अदालतले मुद्दा फैसला गरेपछि कम्पनीले बोलाएर एक महिनाको तलब दिएर तीन महिनाकोमा हस्ताक्षर गराएको उनीहरूले बताएका छन् । त्यसपछि उनीहरूलाई कम्पनीले जागिरबाट निकालिदिएका छन् ।

हाल उनीहरूलाई दोहास्थित विमानस्थल नजिकै एउटा कोठामा बन्धक बनाई राखिएको छ । बाँकी तलबबापत रकमले नेपाल जाने हवाई टिकट काटिदिने भनेर कोठामा ल्याएर थुनिएको उनीहरूले आफन्तलाई टेलिफोनमा बताएका छन् । 'साथमा पैसा छैन्ा, खानेकुरा छैन, बाहिर निस्कन पाइएको छैन,' आफ्ना भाइले भनेको पीडा सुनाउँदै विकासले भने, 'सरकारले हाम्रा बन्धक आफन्तको तत्काल उद्धार गरिदिनुपर्‍यो ।'

Published on: 12 July 2012 | Kantipur

Back to list

;