s

दिवसले छोएन इँटाभट्टा मजदुरलाई

लीला श्रेष्ठ

भक्तपुर — दाङ धनौरीकी ३६ वर्षीया मोनी सुनुवार एक भारी पाकेको इँटा पुर्‍याउँदै अर्को भारी काँचो बोकेर भट्टीमा फर्किन्छिन् । शरीरको धूलो टकटक्याउँदै १० महिने छोरालाई स्तनपान गराउने जिम्मेवारी पनि छँदै छ । बिहानीको झिसमिसेसँगै सुरु हुने उनको इँटाभट्टाको दिनचर्या घाम अस्ताएपछि बल्ल सकिन्छ ।

झ्याउलीभित्र छिरेपछि पनि साना तीन छोरा र पतिलाई खाना खुवाईवरी भाँडा थन्क्याउने काम उनकै काँधमा छ । आइतबार ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक इँटाभट्टामा इँटाको भारी बोकिरहेकी मोनीलाई भने सार्वजनिक बिदासमेत थाहा छैन ।

१५ वर्षकै उमेरमा इँटाभट्टामै प्रेमविवाह गरेकी मोनीका तीन छोरी र पाँच छोरा छन् । ‘बर्सेनि बच्चा बस्यो, यिनीहरूकै लागि पनि दोहोरो भारी इँटा बोक्नैपर्‍यो,’ उनले भनिन्, ‘के दिवस, के शनिबार । दस दिनमा एक दिन आनन्दले बिदा मनाउने हो ।’

दाङ हलुवारकी ३५ वर्षीया नीता चौधरी पनि सोही इँटाभट्टामा काम गर्छिन् । नीता बिहानीको झिसमिसेमै इँटा बोक्न निस्किन्छन् । इँटा बोक्ने, परिवारलाई खुवाउने, स्याहार गर्ने उनको दिनचर्या हो । उज्यालो नझर्दै झ्याउली (छाप्रो) बाट निस्केका उनीहरू धुलाम्य इँटाभट्टामा कोही इँटा बनाउँदै त कोही बोक्न व्यस्त छन् । ‘आफूले पाखुरा नबजारी खान पाउने होइन,’ उनले भनिन्, ‘के दिवस, के अधिकार !, गरिबलाई दिवसले छुँदैन ।’

केही रकम बचाउने सपना बुन्दै ५ वर्षीय जुम्ल्याहा छोरासहित ६ जनाको परिवारसँगै इँटाभट्टा छिरेको उनी बताउँछिन् । उनका पति/पत्नी बिहान पाँच बज्दा नबज्दै इँटा बोक्न निस्किन्छन् । नीताका छोरा १२ वर्षीय कमल र १४ वर्षीय जीवन पनि आमाबुबासँगै इँटा बोक्छन् । गाउँको विद्यालयमा ६ र ८ कक्षामा अध्ययनरत छोरालाई समेत सँगै मजदुरी गर्न ल्याएको उनले बताइन् । ‘आम्दानीको स्रोत केही छैन, सिजनमा थोरै कमाइ होला कि भनेर स्कुल पढ्दै गरेका छोरालाई पनि लिएर आएको हो,’ उनले भनिन् ।

त्यस्तै, सुर्खेत धारापानीकी ३१ वर्षीया सरस्वती पुनमगर चाँगुनारायण–९ ताथलीस्थित एक इँटाभट्टामा इँटा बनाउने काम गर्छिन् । उनका पतिसहित १० र १६ वर्षीय दुई छोरा सँगै आएका छन् । १३ वर्षकै उमेरमा विवाह गरी १५ वर्षमै छोरालाई जन्म दिएकी उनी र १६ वर्षीय छोरा राजीव पनि इँटा बनाउँछन् । उनले कक्षा ७ मै पढाइ छोडे । सरस्वतीका अर्का छोरा १० वर्षीय आलोक कक्षा ३ को पढाइ छोडेर अभिभावकसँगै भक्तपुर आएका हुन् । ‘छोरो पढाइमा लगनशील थियो, गाउँमा गरी खाने स्रोत छैन,’ उनले भनिन्, ‘आफैंसँग ल्याउँदा विद्यालय जान पाएन ।’ इँटाभट्टा नजिक विद्यालय नभएको र वैशाखपछि गाउँमै पढाउने उनले बताइन् । पढ्ने उमेरका सन्तानसाथ इँटा बनाइरहेकी सरस्वतीले प्रतिप्रश्न गरिन्, ‘हाम्रो परिश्रम र पसिनाको मूल्यांकन गर्ने निकाय पनि छ ?’

दिनरात इँटाभट्टाको मजदुरीमा लागेका महिलालाई महिला दिवस कहिले र किन मनाइन्छ, पत्तो छैन । ‘हामी कामदारलाई बारसम्म याद हुँदैन, कसरी दिवस थाहा हुनु,’ सिन्धुली मरिनछाप गाउँपालिका–३ कमवतीकी सीता वाइबाले भनिन्, ‘हामीलाई कामको मात्र याद हुन्छ, योबिना हामी भोकै हुन्छौं ।’ ‘न हामीलाई आफ्नो अधिकारबारे थाहा हुन्छ, न हामीले आफ्ना सन्ततिलाई अधिकार सिकाउन सकेका छौं,’ उनले गुनासो गरिन्, ‘अधिकार अधिकार भनेर भएन, बाँच्ने आधार पनि त चाहियो ।’ १० दिनको हप्ते बिदा लिने गरेको उनले बताइन् ।

घरबास छोडेर इँटाभट्टाको झ्याउली छिरेका महिला पुरुषसरह बिहान सबेरै उठी घाम झुल्किने बेलासम्ममा एक हजारदेखि १५ सय इँटा पार्ने गरेको बताउँछन् । इँटाभट्टामा कार्यरत महिलाका काँधमा बालबच्चा हुर्काउने जिम्मेवारी पनि उत्तिकै चुनौतीपूर्ण छ । ‘जताततै माटो मुछ्न कृत्रिम पोखरी स्थापना गरेको छ, बच्चा जोगाउनै मुस्किल छ,’ सल्यान कालीमाटी रामपुरकी सारदा डाँगीले भनिन्, ‘सानो दुई वर्षको छोरो छ, कामसँगै उसकै गोठालो बस्नुपर्छ ।’ खुला रूपमा छोडिएको अस्थायी पोखरीका कारण इँटाभट्टामा कार्यरत मजदुरका बालबालिका असुरक्षित रहेको उनीहरूको गुनासो छ । प्रत्येक वर्ष इँटाभट्टाको पोखरीमा डुबेर बालबालिकाको मत्युहुने गरेको छ ।

इँटाभट्टामा ज्यालाको भने कुनै विभेद नरहने भएकाले कामको समान मूल्यांकन हुने गरेको उनीहरू बताउँछन् । ‘गाउँमा मजदुरी गर्दा पुरुषको भन्दा महिलाको ज्याला आधा हुन्थ्यो, यहाँ त्यस्तो विभेद छैन,’ शारदाले भनिन्, ‘इँटाभट्टामा काम गर्न आउनुअघि नै पेस्की लिएका हुन्छौं, पछि जति काम गर्‍यो, त्यति ज्याला पाउँछ ।’ ‘गाउँमा बच्चालाई एक्लै छोड्ने कुरा भएन, पढाइ छुटाएर साथै ल्याएका छौं,’ उनले भनिन्, ‘यहाँ पढाउने व्यवस्था छैन ।’

जिल्लामा ६२ इँटाभट्टा सञ्चालनमा छन् । एक इँटाभट्टामा दुई सयदेखि चार सयसम्म मजदुर छन् ।प्रत्येक इँटाभट्टामा कामदारका रूपमा आउने महिला र पुरुषको संख्या समान छ । भट्टामा बाल/महिला/मजदुर दिवसले कुनै प्रभाव नपर्ने उनीहरू बताउँछन् ।

Published on: 9 March 2020 | Kantipur

Link

Back to list

;