s

दिनभरि दशगजामा बसेर फेरि भारततिरै

बिनु सुवेदी, अजित तिवारी

जमुनीघाट, धनुषा — जमुनीघाटको आँपगाछीमुनि डेढ घण्टाजति सुस्ताएपछि धनुषाधाम काशीपुरका १८ वर्षीय विष्णुदेवकुमार यादवको थकान केही मेटियो । सुत्नुअघि उनले त्यहीं बसेर एउटा कुरकुरे र एक बोत्तल पानी खाएका थिए ।

भारतको गुजरातबाट चार दिन यात्रा गरेर दशगजा आइपुगेको उनीसहितको टोलीले जटही नाकाबाट भित्र छिर्न नपाएपछि करिब ४२ किलोमिटर पश्चिममा रहेको महोत्तरीको भिट्टामोड जान दशगजै दशगजाको बाटो हिँड्दाहिँड्दै थाकेर मुखियापट्टीमा पुगी बिसाइ फेरेको हो ।

सरकारले भारतबाट नेपाल आउनका लागि तोकिदिएको २० नाकामा जटही नपरेपछि उनीहरूलाई सीमा सुरक्षाका लागि बसेका प्रहरीले नेपाल भित्रिन दिएनन् । उनीहरू दशगजामा पनि भारतपट्टिको भूमिबाट भिट्टामोड आएका हुन् । गत फागुन पहिलो साता विष्णु गुजरात पुगेका थिए । उनले त्यहाँ जम्माजम्मी २१ दिन मात्रै काम गर्न सके । लगत्तै लकडाउन सुरु भयो, काम गरिरहेको होटल बन्द भयो ।

२१ दिन काम गरेको पैसा तलबको हिसाबले पुगिन्जेलसम्म होटलको साहुले खान, बस्न दिए, विष्णु पनि ढुक्कैले बसे । तलब सकिएपछि होटलले निकालिदियो, त्यही बेलामा भारतमा रेल चल्न थाल्यो । विष्णु आफ्नै भूमिमा फर्किनु उत्तम हुने भन्दै नेपाल आए तर सीमा नाकामा आएर आफ्नो भूमिमा टेक्नै लाग्दा प्रहरीले अर्काे नाकाको बाटो देखाइदिए ।

कक्षा ५ सम्म मात्रै पढेका विष्णु घरको आर्थिक अवस्था उकास्नका लागि यसअघि पनि भारत गएका थिए । त्यतिखेर उनले २ महिना काम गरेको १४ हजार रुपैयाँ ल्याएर आमाको हातमा थमाइदिए, नगारिकता र पासपोर्ट बनाए, केही दिन घरमा बसे र पैसा कमाउन फेरि गुजरात गए । यसपालि उनले सोचेजस्तो भएन । ‘होटलले अब काम र खाना दिन सक्दिनँ, आफ्नो तरिकाले जाऊ भनेपछि आएको हुँ,’ विष्णुले भने, ‘सिमानामा आइपुगेपछि धेरै नै दु:ख भयो, प्रहरीले कहिले यो नाकाबाट जाऊ भन्छन्, कहिले त्यो नाकाबाट जाऊ भन्छन् । धेरै नै थाकेपछि एकछिन सुतें ।’

गृह जिल्लाको किनारामै आइपुगेका उनले कुराकानीका सिलसिलामा नगरपालिकाले गाडी पठाइदिने र आफू त्यसैमा चढेर घर जाने बताइरहेका थिए । ‘ट्रक आउँँछ होला,’ अब केहीबेरमा गाउँ पुगिन्छ भन्ने खुसीले उज्याल्लिएका उनले भने, ‘आमासित कुरा भएको थियो, घर आउन त पाउँदैनौँ, स्कुलमा लगेर राख्छन् भन्दै हुनुुहुन्थ्यो ।’

चित्तलापुरी धनुषाधामका १९ वर्षीय पारस चौधरी अरू दुई जना साथीहरूसहित अहमदाबादको होटलमा काम गरिरहेका थिए । लकडाउन सुरु भयो, काम रोकियो । त्यसपछि उनलाई त्यहीं बसिरहन मन लागेन तर साथीहरूले बसिरहेको ठाउँ छोड्न चाहेनन् । ‘साथीहरूले हाम्रो सपना अझै पूरा भएको छैन, हामी त यहीं बस्छौं भने,’ पारसले भने, ‘छुटेको पढाइ पूरा गर्ने मेरो सपना थियो, त्यही भएर पनि फर्केर आएँ ।’ पारस पोहोर एसईई दिएर एक–दुई महिना मात्रै काम गर्छु अनि नेपाल फर्किन्छु भन्दै भारत गएका हुन् । त्यहाँ पुगेपछि उनलाई छिट्टै फर्किहाल्न मन लागेन ।

‘घरको समस्याका कारणले गर्दा एसईई दिनेबित्तिकै गएको हुँ, ५० हजारजति आईसी (भारतीय रुपैयाँ) कमाएँ होला, केही घरमा पठाएँ,’ पारसले कान्तिपुरसँग भने, ‘पछि होटल मालिकले खान पनि दिएन । आफ्नो पैसाले खान सकिन्जेल खाएँ, पैसा सकिएपछि फर्किएर आएँ ।’

आफ्नै देश छिर्ने सिमानामा आइपुगेपछि रोकिएका उनलाई यताको प्रहरीले भित्रिन नदिँदा भने दु:ख लागेको छ । तर अब भने फेरि भर्ना भएर ११ कक्षादेखि पढाइ सुरु गर्ने विचारमा उनी छन् । ‘१२ कक्षा पढिसक्छु, त्यसपछि यहीं काम गर्छु, अरूको देशमा गएर दु:ख हुन्छ भन्ने मैले बुझें,’ उनले भने । उनले यसपालि आफ्नै भूमिमा निर्बाध छिर्न नपाउँदाको दु:ख पनि बुझे ।

१९ वर्षीय कृष्ण दनुवारलाई पोहोर आफैंले कमाएर पठाएको पैसाले घरको छानो फेरिएपछि एकदमै खुसी लाग्यो । यसपालिको पैसाले घरमा अरू तीनवटा कोठा थप्ने योजना थियो । ‘१० कक्षा पास गरें, बाआमाले पढाउन सकेनन्, त्यही भएर १५ वर्षको हुँदै भारत गएको हुँ,’ कृष्णले भने, ‘मैले पैसा कमाएपछि घरमा फुसको छानो फेरेर टिन लगाइयो, मलाई बहुत खुसी लाग्यो ।’

तर अब रोजगारीका लागि भारत नफर्किने निधो गरेर देश छिर्नै आँट्दा धनुषाका नाकाहरूमा रोकिए र जटहीबाट करिब ४२ किलोमिटर भारततर्फको बाटो पैदल हिँडेर महोत्तरीको भिट्टामोड आइपुगे । भारतबाट नेपाल भित्रिनेहरूका लागि सरकारले तोकेको २० वटा नाकामा धनुषाका ८ मध्ये कुनै पनि नाका परेका छैनन् । जबकि नेपालतिरको नापअनुसार जटहीबाट भिट्टामोडसम्म २५ किलोमिटर मात्रै पर्छ ।

जेठ १४ गतेसम्म जटही नाकाबाट मात्रै १ हजार ८ सय जना नेपाली धनुषा भित्रिएका थिए । त्यही नाकाबाट आएका साथीहरूले भनेका कारण यी तीन युवासहित २७ जना नाकामा आएर फेरि भारतीय बाटो हुँदै फर्किएका हुन् । यसरी नेपाल छिर्न भनेर जटही र जमुनीघाटलगायतका नाकाहरूमा दिनहुँ ५/६ जनाको टोली आउँदै फर्किंदै गर्छन् । ‘जेठ १४ गतेसम्म हामीले यही नाकाबाट पनि नेपालीलाई भित्र्याएका थियौं,’ सशस्त्र प्रहरीको जटही बीओपी प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद भट्टले भने, ‘अहिले आउनेहरूलाई भिट्टामोडबाट मात्रै प्रवेश पाइन्छ भनेर उतै पठाइदिने गरेका छौं ।’ उनले शनिबार मात्रै पनि १४ र २७ सदस्यीय दुई टोलीलाई भिट्टामोड नाकातिरको बाटो देखाइदिएका थिए । तिनैमध्येको २७ सदस्यीय टोलीलाई हामीले जमुनीघाटमा भेटेका हौं ।

लकडाउन सुरु भएयता दक्षिणतर्फका १६४ सीमाबाट २ लाखभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को तथ्यांकअनुसार झन्डै ४० लाख नेपाली भारतमा कार्यरत छन् । यद्यपि सरकारसँग आफ्ना कति नागरिकले भारतमा काम गर्छन् भन्ने औपचारिक रेकर्ड भने छैन । सरकारले ६ देखि १० लाखसम्म नागरिक नेपाल भित्रिने अनुमान गरेको छ । सरकारको पछिल्लो रेकर्डअनुसार एक दिनमै करिब १५ हजार नेपाली दक्षिणी नाकाबाट भित्रिरहेका छन् । तर उनीहरूका लागि तोकिएको नाकाबारे सूचना प्रवाह नहुँदा सिमानामा आएर दु:ख पाउनेको संख्या धेरै छ । 

हिँड्दाहिँड्दै लखतरान परेका यी २७ युवा बिहान १० बजेतिर जमुनीघाट नाकामा पुगेका थिए । त्यहींबाट उनीहरूले धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डललाई सम्पर्क गरे । मण्डलले ट्रयाक्टर पठाइदिने आश्वासन पनि दिएका थिए । ‘एकछिनमा मेयरले ट्रयाक्टर पठाइदिनुहुन्छ, त्यही ट्रयाक्टरमा हामी भिट्टामोडसम्म जान्छौं र गाउँमा गएर क्वारेन्टाइनमा बस्छौं,’ विष्णुले कान्तिपुरसँग भनेका थिए । उनीहरूले अब आफूहरूले एक कदम पनि हिँड्न नसक्ने बताएपछि नाकामा खटिएका सशस्त्र प्रहरीले त्यहीं आराम गर्न दिएका थिए ।

दिउँसो ३ बजेतिर हामीले उनीहरूसँग कुराकानी गर्दागर्दै एउटा ट्रयाक्टर आइपुग्यो । यी युवा आफैंलाई लिन आएको भन्ठानेर जर्‍याकजुरुक उठे र दौडिए तर त्यहाँ खटिएका सशस्त्र प्रहरीले ट्रयाक्टर उनीहरूलाई लिन नआएको र आउँदा पनि नआउने बताएपछि निराश बनेर फेरि भारतीय बाटो हुँदै भिट्टामोडतर्फ सोझिए । राति साढे ९ बजे हामीले यो समाचार तयार पार्दासम्म उनीहरू त्यहाँ पुगेका छैनन् । महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले धनुषाधाम नगरपालिकाका २७ युवाको समूह भिट्टामोड नाकाबाट भित्रिनसकेको जानकारी दिए ।

Published on: 7 June 2020 | Kantipur

Link

Back to list

;