s

दिल्लीमा जम्दै नेपाली आर्किटेक्ट

महेश आचार्य

करिब दुई वर्षअघि महत्त्वाकांक्षी दक्षिण एसियाली क्षेत्रीय विश्वविद्यालयको प्रस्तावित संरचनाको गुरुयोजना तथा डिजाइनका लागि प्रतिस्पर्धा खुला हुँदा, नेपाली आर्किटेक्टहरू वीरेश शाह र सञ्जयबहादुर थापा सुरुमा अलिकति द्विविधामा थिए । एकातिर अर्बौ भारतीय रुपियाँको योजना, त्यसमाथि दक्षिण एसियाभित्र र बाहिरका अत्यन्तै प्रतिष्ठित आर्किटेक्ट र्फम तथा कम्पनीहरू पनि प्रतिस्पर्धामा सहभागी हुने भएकाले आफूहरू त्यसमा कतिको खरो उत्रिन सकिएला भन्ने चिन्ताले उनीहरूलाई सताएको थियो । तर आफ्नो क्षमता र अनुभवमाथिको दृढविश्वास भने रत्तिभर कम थिएन । 'कुनै कुरामाथि तिम्रो दृढविश्वास छ भने त्यो भएरै छाड्छ' भन्ने प्रसिद्ध अमेरिकी आर्किटेक्ट प|mयान्क लोइड राइटको कथनले सायद डोर्‍याएर हुनसक्छ, उनीहरूले अन्ततः प्रतिस्पर्धाका लागि आवेदन दिए । नयाँदिल्लीको मैदानगढीस्थित ७ सय ६० रोपनी क्षेत्रफलमा निर्माण गर्नुपर्ने प्रस्तावित संरचनाको गुरुयोजना तथा डिजाइनका लागि करिब एक सयले दिएको आवेदनबाट छानिएका १५ कम्पनीको सूचीमा शाह र थापाको आर्किप्लान पनि पर्न सफल भयो । तीमध्ये पनि करिब एक दर्जन जतिले मात्रै गुरुयोजना र डिजाइन बुझाए । तिनमा आर्किप्लानले दिल्लीस्थित एबीआरडी आर्किटेक्ट प्रालिसँग मिलेर बुझाएको गुरुयोजना र डिजाइन सबैभन्दा अब्बल दरिँदै प्रथम स्थान हासिल गर्न सफल भयो । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता दक्षिण एसियाली मुलुकहरूमात्रै होइन, अमेरिकाका र्फमहरूसमेत उक्त प्रतिस्पर्धामा सहभागी थिए । यो क्षेत्रका प्रख्यात आर्किटेक्ट, शिक्षाविद लगायतको निर्णायक मण्डलले उनीहरूको डिजाइन चुनेको थियो ।

'अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो डिजाइन चुनिनु हाम्रालागि अत्यन्तै प्रतिष्ठाको विषय थियो । त्यसमाथि हामीलाई पढाएका प्राध्यापकहरूका डिजाइनसमेत त्यो प्रतिस्पर्धा थिए,' भारतीय राजधानी नयाँदिल्लीमा आर्किटेक्चर र सहरी योजना पढेका शाह र थापाले भने । यहाँस्थित स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा स्नातक गरेका शाहको पदचिन्ह पछ्याउँदै थापा पनि केही वर्षपछि त्यही शिक्षण संस्थामा आएका थिए । त्यहाँबाट फर्किएपछि पुलचोक इन्जिनियरिङ कलेजमा पढाउन थालेका दुवैजना १९९० दशकको अन्त्यतिर आर्किप्लान स्थापना गरी भवन निर्माणमा सक्रिय रहे । शाह पछि स्नातकोत्तर अध्ययनका लागि प्रसिद्ध अमेरिकी विश्वविद्यालय एमआईटी गए । थापा पनि अर्काे प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हार्वाड पुगे, उच्चशिक्षा अध्ययनकै सिलसिलामा । त्यसपछि फर्किएर आफ्नो संयुक्त कामलाई निरन्तरता दिएका उनीहरूले २०११ को सुरुवातमा दक्षिण एसियाली विश्वविद्यालयको डिजाइन प्रतिस्पर्धा जितेका थिए । प्रतिस्पर्धामा पुरस्कृत भएको खुसी छँदै थियो, उनीहरूलाई योजनाभरि नै सामेल गराउने निर्णय भयो । तर त्यसका लागि नयाँदिल्लीस्थित स्थानीय आर्किटेक्ट र्फमसँग जोइन्ट भेन्चर बनाएर अघि बढ्नुपर्ने भयो । त्यसपछि थापाका भारतीय साथीहरूको कम्पनी एबीआरडी अर्थात् अनुपम वंशल एन्ड राजेश डोन्ग्रे आर्किटेक्ट प्रालिसँग उनीहरूले जोइन्ट भेन्चर स्थापना गरे । दक्षिण एसियाली विश्वविद्यालयसँग २०११ मे महिनामा सम्झौतामा हस्ताक्षर भएपछि उनीहरूले औपचारिक रूपमा काम थाले । अहिले पनि प्लानिङ फेज अर्थात् योजना चरणमा रहेका उनीहरूले केही महिनापछि संरचना निर्माणको कार्य सुरु हुने विश्वास लिएका छन् । 'सन् २०१८ सम्ममा सम्पूर्ण संरचना निर्माण पूरा गर्ने लक्ष्य छ', शाहले भने । संरचना निर्माणका विभिन्न पक्षका लागि करिब आधा दर्जनजति कन्सलटेन्टहरू चुनिएका छन् । 'संरचनाको डिजाइनिङमात्रै नभई प्लानिङदेखि लिएर संरचना निर्माण पूरा नभएसम्म नियमन गर्ने जिम्मा हाम्रो हो', शाहले भने । करिब १५ सय करोड भारतीय रुपियाँ लाग्ने अनुमान गरिएको संरचना निर्माणका लागि हालसम्म २ सय ५० मिलियन डलर अर्थात् १३ सय ५० करोड रुपियाँ निकासा भइसकेको छ । दिल्लीको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय करिब १ हजार एकडमा फैलिएको छ । तर दक्षिण एसियाली विश्वविद्यालयको प्रस्तावित भवन निर्माण स्थल ९५ एकड अर्थात् करिब ७ सय ६० रोपनी क्षेत्रफलको मात्रै छ । सानो क्षेत्रफलमा विश्वस्तरीय विश्वविद्यालयका लागि आवश्यक पर्ने प्रायः सबै संरचना निर्माण गर्नु तथा हजारौं विद्यार्थी तथा प्राध्यापक, कर्मचारीका लागि आवासजस्ता सुविधाको व्यवस्था गर्नु चुनौतीपूर्ण कार्य थियो । यद्यपि उनीहरूको डिजाइनले यो चुनौतीलाई सम्बोधन गरेको छ । डिजाइन अनुरुप, १२ वटा संकायका भवन, केन्द्रीय पुस्तकालय, प्रशासनिक केन्द्र र सम्मेलन केन्द्र बनाइनेछन् । करिब ५ हजार विद्यार्थी तथा ४ सय प्राध्यापक एवं कर्मचारीका लागि विश्वविद्यालय परिसरभित्रै आवास पनि निर्माण गरिनेछ । दक्षिण एसियाली विश्वविद्यालयलाई यो क्षेत्रकै पहिचानका रूपमा विकास गर्ने ध्येय पनि उनीहरूले डिजाइनमा समेटका छन् । 'दक्षिण एसियाली मुलुकका खाना, संस्कृति आदि प्रदर्शनीका लागि विश्वविद्यालय हाताभित्र सार्क हाट बनाउने योजना छ । यो विश्वविद्यालय सार्क क्षेत्रको बौद्धिक, सांस्कृतिक तथा सामाजिक केन्द्र बन्नेछ', थापाले भने । उनीहरूले आफ्नो डिजाइनमा वातावरणीय पक्षलाई पनि यथेष्ट ध्यान दिएका छन् । 'विश्वविद्यालय हाताभित्र विभिन्न ठाउँमा हरित क्षेत्र तथा साइकल लेन निर्माण गर्ने डिजाइन हाम्रो छ', शाहले भने । आकाशको पानी जम्मा गर्ने विधि रेन वाटर हार्भेस्टिङको व्यवस्था मिलाउनेदेखि लिएर विश्वविद्यालयमा उत्पादित फोहोरजन्य पदार्थ भित्रै व्यवस्थापन गर्नेसम्मका योजना उनीहरूले बनाएका छन् । नेपालमा नर्वेली दूतावास, नेपाल मेडिकल कलेजको निर्माण लगायतका करिब दुई दर्जन योजना कार्यान्वयन गरेका उनीहरूले नेपालमा प्राप्त अनुभवले क्षेत्रीय विश्वविद्यालयको डिजाइन उत्कृष्ट बनाउन सघाएको पनि बताए । 'थोरै जग्गालाई पनि कसरी उपयोग भन्ने जस्ता विषयमा नेपालको अनुभव साँच्चिकै फलदायी सिद्ध भयो', शाहले भने ।  स्वदेशी अनुभवको पक्ष एकातिर छँदैछ, क्षेत्रीय विश्वविद्यालय निर्माणमा उनीहरूको संलग्नताले नेपाली आर्किटेक्टहरूका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्न सहयोग पुर्‍याउने निष्कर्ष पनि उनीहरूले सुनाए ।

Published on: 23 February 2013 | Kantipur

Back to list

;