s

दिल्लीमा ३३ बालबालिका अलपत्र

माधव ढुंगाना

रोजगारका लागि सानैमा भारतको नयाँदिल्ली पुगेका ३३ नेपाली बालबालिका अलपत्र परेको त्यहाँस्थित प्रवासी नेपालीको सामाजिक संस्था 'प्रवासी नेपाली मित्र मञ्च' ले जनाएको छ । अलपत्र बालबालिका १० देखि १२ वर्षका छन् । अलपत्र २ बालकलाई हस्तान्तरण गर्न यहाँ आएका मञ्च अध्यक्ष दुर्गाप्रसाद अर्यालले सञ्चारकर्मीसँग अहिले दिल्लीमा अलपत्र रहेका ३३ बालबालिकामध्ये ६ बालिका र २७ बालक रहेको र ठेगाना खुल्न नसक्दा उनीहरूको उद्धारमा ढिलाइ भइरहेको बताए ।

'उनीहरू घर र्फकन आत्तुर छन् तर ठेगाना बताउन नसकेकाले उद्धारमा जटिलता छ,' उनले भने, 'घर फर्काउन नेपालका विभिन्न गैरसरकारी संस्थासँग कुरा गरी पहल जारी राखेका छौं ।' बालबालिका रोजगारका निम्ति आफन्त तथा छिमेकीसँग त्यहाँ पुगेका हुन् । काममा लगाइएको स्थानमा कोही काम गर्न नसकेर र कोही कामबाट निकालिएपछि बालबालिका अलपत्र परेका हुन् ।

उनीहरूलाई त्यहाँ पुर्‍याउनेमध्ये कोही काम गर्ने स्थान परिवर्तन गर्ने, कोही घर फर्किसकेको र कोही बालबालिकालाई काममा लगाइएको घर वा स्थान छाडेपछि सम्पर्क हुन नसकेको समस्या छ । केही बालबालिकालाई आफूलाई त्यहाँ लैजाने अभिभावकले काम गर्ने स्थानबारे जानकारी छैन । उनीहरूलाई दिल्लीस्थित विभिन्न बालगृहमा राखिएको छ । जसमध्ये चाइल्ड वेलफेयर नामक बालगृहमा नेपालको सागरनाथ गाउँ घर बताउने १२ वर्षीया लक्ष्मी थापा, राजवास २ सिन्धुली घर बनाउने १२ वर्षीया विना तामाङ, रानी विराटनगर घर बताउने १२ वर्षीया चन्दा चौधरी, भगवतीपुर घर बताउने १२ वर्षीया सरिता छन् । केलकारी बालगृहमा २ बालिका छन् ।

चाइल्ड वेलफेयरमा १५ जना, सलाम बालक ट्रस्टमा ७ जना, डन बस्को बालगृहमा ४ र अन्तोदय बालगृह लालपतनगरमा १ बालक रहेको अध्यक्ष अर्यालले बताए । उनीहरू अलपत्र अवस्थामा फेला परेपछि प्रहरीको उद्धारबाट बालगृहमा राखिएको हो ।

 

Published on: 29 January 2013 | Kantipur

Back to list

;