s

दिल्ली अब ‘दूर’ रहेन तर नेपालीको दुःख अझै छुटेन

अर्जुन शाह

धनगढी — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–४ भौने गाउँका २३ वर्षीय खगेन्द्र महतारा भारतको केरलामा मजदुरी गर्थे । रुघाखोकी र ज्वरो आएको केही दिनमै गत फागुन २७ मा उनको उतै मृत्यु भयो । परदेशबाट शव ल्याउन परिवारलाई हम्मेहम्मे पर्‍यो । बाबु पुरी महतारा र गाउँलेले आफ्नै गाउँ ल्याएर सद्गत गर्न कस्सिए । तर, सजिलो थिएन ।

आफ्नै गाउँठाउँबाट चुनाव जितेर गएका नरेशबहादुर शाही प्रदेश सरकारमा आर्थिक मामिलामन्त्री छन् । परिवारको हारगुहारपछि मन्त्री शाहीले कैलालीको सिमानाका गौरीफन्टादेखि बाजुरासम्मका लागि एम्बुलेन्स व्यवस्था गरिदिए । धेरै दौडधुपपछि खगेन्द्रको शव ल्याएर सद्गत गाउँमै सम्भव भयो ।

भारतमा सस्तो श्रम बेच्न बाध्य सबै परिवारको यस्तो पहुँच छैन । पसिना बगाउनका भारतका अनेकन सहर पुगेका नेपालीहरूको भवितव्य वा कालगतिले मृत्यु भइहाल्यो भने शव स्वदेश ल्याउन निकै गाह्रो छ । भारतका विभिन्न सहरदेखि सुदूरपश्चिमका पहाडसम्म पुर्‍याउनु शव वाहनकै खर्च एक लाख बढी पुग्छ । दिल्लीस्थित सुदूरपश्चिमेली नेपाली समाज महासचिव माधव भट्टका अनुसार भारतमा मृत्यु भएमा विरलै परिवारले मात्रै मृतकको शव नेपालमा आफ्नो गाउँठाउँ पुर्‍याउन सक्छन् । दिल्लीमै मात्र हरेक दिन सरदर चार जनाको नेपालीको मृत्यु हुने गरेको उनले सुनाए ।

सुदूरपश्चिमवासीको मुख्य श्रम गन्तव्य भारत भए पनि औपचारिक श्रम प्रणालीमा यो जोडिएको छैन । सरकारी अभिलेखमै नपर्दा अधिकारबाट श्रमिकहरू बेदखल मात्रै भएका छैनन्, मृत्युपछि शव ल्याउनै नसक्दा परिवारका प्रियजन सद्गत गर्ने अधिकारबाट समेत वञ्चित भइरहेका छन् । पुरानो श्रम गन्तव्य भए पनि नेपालीका लागि भारतका सहरमा बसाइ कष्टकर छ । यातायातको पहुँच सहज हुँदा सुदूरका पहाडबाट भारतका विभिन्न सहरमा सस्तो श्रममा जाने बाटो त छोट्टिएको छ तर नेपाली श्रमिकका दुःख भने घटनुको सट्टा झनै पेचिलो बन्दै गएको छ ।

सुदूरपश्चिमको मुख्य श्रम गन्तव्य खाडी र मलेसियाभन्दा पनि भारत नै भएको देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट ६ लाख ३० हजार ९० जना तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा गएकामा सुदूरपश्चिमबाट जानेको संख्या १४ हजार १ सय १६ मात्र छ । त्यसमा पनि कैलालीका ४ हजार ४ सय २९ र कञ्चनपुरका ४ हजार ७ सय ३६ छन् भने अन्य सात पहाडी जिल्लाबाट ४ हजार ९ सय ५१ जना गएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीले पाँच वर्षअघि गरेको अध्ययनअनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न ठाउँमा ६ महिनाभन्दा बढी समयका लागि जानेको संख्या प्रत्येक वर्ष २ लाख ६ हजार छ । प्रतिवेदनअनुसार सुदूरपश्चिमबाट जीविकोपार्जन १७ देखि ४५ वर्ष उमेर समूहका युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन् । भारत जानेमध्ये १९ प्रतिशत महिला र ८१ प्रतिशत पुरुष छन् ।

भारत जानेहरूमध्ये ६० प्रतिशतले स्वदेशमा काम नपाएर जाने गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । त्यहाँ गएकामध्ये पनि १४ प्रतिशतको आम्दानी औसत हुने गरेको छ । १९ प्रतिशत गाउँमा खेतीपाती लगाएर ६ महिनाका लागि जाने गरेका छन् । तीन वर्षभन्दा बढी लगातार भारतमा बस्नेहरूको संख्या १४ प्रतिशत छ ।

सुदूरपश्चिमेलीहरू रोजगारीका लागि जाने भारतका गन्तव्य मुम्बई, नयाँदिल्ली, पन्जाब, हैदराबाद, सिमलालगायतका ठाउँ हुन् । गएकाहरूमध्ये ५५ प्रतिशतले मासिक १० देखि १५ हजार भारु बचत गर्ने गरेको प्रतिवेदनमा छ । १७ प्रतिशतले मासिक ३२ हजार भारु बचत गर्ने गरेका छन् । ९२ प्रतिशतले भारतमा कमाएको रकम घर खर्चमा उपयोग गर्ने गरेको बताएका छन् । २ प्रतिशतले ऋण तिर्न र ४ प्रतिशतले सम्पत्ति जोड्न खर्चिने गरेको मन्त्रालयको प्रतिवेदनमा छ ।

रोजीरोटीको दुःख सदाकाल

सुदूरपश्चिमका दुर्गम पहाडी भेगबाट श्रमिकहरूको लर्को भारततिर सुरु भएको त्यहाँ ब्रिटिसको शासनकालदेखि नै हो । २०२२ सालमा रोजगारीको खोजीमा दिल्ली पुग्दा बाजुरा कुल्देवमाडौंका नरेन्द्रबहादुर शाह २३ वर्षका थिए । ५५ वर्ष चौकीदारी गरे । दुई वर्षअघि घर फर्किएका ७८ वर्षीय शाह सय वर्ष अघिदेखि भारतमा श्रम गर्न जाने इतिहास भएको मान्छन् । वर्षौदेखि रोजीरोटीका लागि भारतमा पस्ने नेपालीको दुःख नघटेको अनुभव उनको छ ।

विसं. १९८० अघि बाजुराबाट ब्रह्मतोलाको बसालीका हंसबहादुर शाह रोजगारीका लागि दिल्ली जाने पहिलो भएको आफूले बूढापाकाबाट सुनेको उनले बताए । ‘हंसबहादुर देखाएको दिल्ली जाने बाटोमा उनी पछिका धेरै पुस्ता हिँडिसके,’ नरेन्द्रबहादुर भन्छन्, ‘अहिले भारतका सहरमा नपुग्ने सुदूरपश्चिमेली कमै होलान् । हरेक तेस्रो घरबाट एक जना रोजीरोटीका लागि पुगेका छन् ।’

हंसबहादुरका नाति खड्कबहादुर शाहले सुरुमा बाजेले वर्ष दिनजति अंग्रेजकहाँ नोकरी गरेर फर्किएपछि पटक–पटक बाजे, काका सबै उतै श्रम गर्न पुगेको बताए । देशका अन्य प्रदेशबाट श्रम गर्न खाडी र मलेसियालगायत देशमा गए पनि सुदूरपश्चिमका हकमा भने श्रम गन्तव्य फेरिएको छैन । २७ वर्षदेखि दिल्लीमै चौकीदारी गर्दै आएका कुल्देवमाडौ झालीका ४५ वर्षीय गोरख लोहारले भने, ‘उतिबेला जानेहरू रहरले पनि गएका होला । तर, अहिले त बाध्यताले मात्रै भारतका गल्ली चहार्न पुग्छन् ।’

रातभरि चौकीदारी सकेर जमघट गर्दै दिल्लीको रोहिणीमा बाजुरेलीहरू । तस्बिर : अर्जुन/कान्तिपुर

नरेन्द्रबहादुरको अनुभवमा भारतमा श्रम गर्न जान पहिलाभन्दा सजिलो भएको छ । तर, श्रमिकका दुःख, काम नपाउँदाको सास्ती, श्रम शोषण, मृत्यु भइहाल्यो भने कतैबाट पनि राहत, क्षतिपूर्ति नपाइने अवस्था र शव ल्याउनै हम्मेहम्मे हुने अवस्था उस्तै छ । २०२२ सालमा बाजुरा दक्षिणी भेगको ब्रह्मतोलाबाट दिल्ली पुग्न आफूलाई १२ दिन लागेको उनलाई अझै सम्झना छ । ‘अहिले त वर्षे भेलका जँघार तर्नु पर्दैन, धर्मशाला र ओडारहरूको आश्रय लिनु पर्दैन, सातुसामल बोकेर हिँड्नु पर्दैन,’ उनी भन्छन्, ‘ब्रह्मतोला वा मार्तडीबाट निस्केको तेस्रो बिहान सजिलै दिल्ली पुगिन्छ । बाटो छोट्टियो, दुःखचाहिँ घटेन ।’

कुल्देवमाडौं–७ का ८३ वर्षीय लालसिंह लोहारको अनुभव पनि नरेन्द्रकै जस्तो छ । २०२४ सालमा उनी कामको खोजीमा दिल्ली पुग्दा २७ वर्षका थिए । ‘ज्यानमा तागत भएको उमेर उतै बित्यो, घर फर्किएको १२ वर्ष भयो,’ उनले भने । फर्किएर आए पनि दिल्लीसँग परिवारको निर्भरता नघटेको उनी बताउँछन् । जेठो छोरा साइचे बाबुकै बाटो पछ्याउँदै ३५ वर्षदेखि र कान्छा गोरख २६ वर्षदेखि दिल्लीमा चौकीदारी गरिरहेका छन् ।

उतिबेला दिल्ली जाँदा पाएको दुःख लालसिंहलाई अझै पनि स्मृतिमा छ । घरबाट कुल भाकेर हिँडेको पहिलो दिन उनीसहितको टोली अछामको मार्कुसम्म पुगेर राति ओडारमा बास बसेको थियो । दोस्रो दिन बिहानैदेखि हिँडेर उनीहरू साँझ डोटीको सुर्मा पुगेका थिए । ‘अहिलेजस्ता होटल थिएनन्, खाने सामल बोकेर हिँडेका हुन्थ्यौं । तेस्रो दिन गड्डीगाड, सल्लेनीगाड, चौथो दिन दिपायल हुँदै कपल्लेकीसम्म पुग्थ्यौं,’ लालसिंहले भने, ‘पाँचौं दिन तेल्याको लेक, छैटौं दिन फल्टुडेको तल कोल्मुढा, सातौं दिन गड्डाचौकी, आठौं दिन टनकपुर हुँदै ११ दिनमा दिल्ली पुगिएको थियो ।’ उनका अनुसार भारतका सहर पुग्ने नेपालीलाई बाटोघाटाले सजिलो भए पनि दुःखअनुसार आर्जन बढेको छैन ।

०२२ सालमा नरेन्द्रबहादुरले दिल्लीमा मासिक १० रुपैयाँमा नोकरी गरेका थिए । खर्च जोगाएर घरमा नासो (लत्ताकपडा, खानेकुरा वा नगद रकम) पठाउने गर्थे । ‘त्यो बेला त १० रुपैयाँ पनि धेरै नै हुन्थ्यो । एक रुपैयाँको ८ किलो नुन आउँथ्यो । धेरैथोक किनमेल गर्न पुग्थ्यो ।’ ५५ वर्षपछि उनी मासिक १० हजार भारु तलब थाप्ने भएका थिए । बुढ्यौलीले छोप्न थालेपछि उनी गाउँ फर्किए । यतिबेला नरेन्द्रका तीन छोराको बाटो पनि बाबुको भन्दा फरक छैन । कान्छा छोरा हिक्मत गत साता मलेसिया उडे । अरू दुई छोरा तेज र रमेश बेलाबेला भारतमै काम गर्न आउजाउ गर्छन् ।

निम्नस्तरको रोजगारी, थोरै आम्दानी

रोजगारीका लागि भारत पस्ने नेपालीमध्ये अधिकांशले निकै थोरै पारिश्रमिकमा चित्त बुझाउनुपरेको छ । चौकीदारी, गाडी सरसफाइ, होटल पसल र भारी बोक्ने कामबाट नोकरीको स्तर माथि उठेको छैन । हन्डर र सास्तीका कथा थुप्रै छन् । कुल्देवमाडौ झालीका ४४ वर्षीय रनसिंह लोहारले दिल्लीको सदरबजारमा चौकीदारी गर्न थालेको २६ वर्ष भयो । २०५२ मा एसएलसी दिएपछि बाबुसँग दिल्ली हिँडेका उनी त्यसपछि दुई/चार वर्षमा एक पटक जरुरी काम पर्दाबाहेक घर फर्किएका छैनन् ।

दिल्ली पुगेपछि एउटा पसलमा दुई वर्ष काम गरे । पछि चौकीदारीको काम पाए । चौकीदारीबाट मासिक १० हजार भारु आउँदा गर्जो मुस्किलले चल्ने भएपछि उनी बिहान ४ घण्टा गाडी सफा गर्ने काम पनि गर्छन् । ‘सबै गरी जेनतेन महिनाको २५ हजार कमाइ हुन्छ,’ रनसिंहले भने, ‘दिल्लीमा काम गर्ने धेरैले बिहानको समय गाडी सफा गरेर अतिरिक्त कमाइ गर्छन् । नत्र त पुग्दै पुग्दैन ।’

यति धेरै मिहिनेत गर्दा पनि रनसिंहलाई बर्सेनि घर जाने आँट आउँदैन । खर्चको हिसाब सम्झेरै उनी खुम्चिन्छन् । कतिसम्म भने गत वर्ष आमा सिकिस्त रहेको खबर पाउँदा पनि उनी तत्कालै काम छाडेर घर दगुर्न सकेनन् । उनले भने, ‘कुन छोरालाई आमाको ज्युँदो मुख हेर्ने इच्छा नहुँदो हो र ! आमाले प्राण त्याग्ने बेला पनि मुख हेर्न पाइँन ।’ रनसिंहका बाबु मैपतीले जीवनका ऊर्जाशील २० वर्ष दिल्लीमा चौकीदारी गरेर बिताएका थिए । १८ वर्षअघि ५५ वर्षको उमेरका घर फर्किएका उनको दुई वर्षअघि निधन भयो । रनसिंहलाई भारतमा दुःख उठाउनुको एउटै उद्देश्य छोरालाई राम्रो शिक्षा दिनु हो । काठमाडौंमा आईएस्सी पढ्दै गरेको छोरालाई मासिक २० हजार खर्च पठाउने गरेको बताउँदै उनले भने, ‘मैले त पढ्न नपाएर चौकीदारको जीवन बिताउनुपर्‍यो, छोराले कहिल्यै मेरो जस्तो दुःख गर्नु नपरोस् भन्ने इच्छा हो ।’

भारतमा सस्तो श्रम गर्न बाध्य अधिकांश नेपालीको सपनाको आयतन ठूलो छैन । घरखर्च चलाउने र सकेसम्म छोराछोरीलाई राम्रो पढाउने । बाजुराको माटेसाँघु जयबागेश्वरीका गणेशबहादुर शाही गाउँमा पुरुष भारत नगएको घरै नभएको बताउँछन् । अधिकांशले घरखर्च भारतकै कमाइले चलाएको उनले सुनाए । ‘फाट्टफुट्ट केहीले त तराईतिर पनि जग्गा जोडेको सुनिन्छ । तर धेरैजसो गएको गुजाराकै लागि हो,’ उनले भने ।

भारतमा काम गर्न जाने नेपालीहरूको परम्परामा विस्तारै बदलाव छ । त्यो हो, पहिले महिलाहरू जाने चलन थिएन । अहिले परिवार र बालबच्चासहित जाने बढेका छन् । पुरुषले पसलमा, चौकीदारीमा, गाडी सफा गरेर कमाइ गर्दा महिलाले सरसफाइ, कपडा धुने, बच्चाहरूको हेरचाह, खाना पकाउने घरेलु कामदारको रोजगारी पाउँछन् । त्यसैले हिजोआज धेरैजसोले परिवार नै हिँडेका सीमा भेटिन्छन् ।

दिल्लीको नाग्लैमा आठ वर्षअघिदेखि झालीका जयबहादुर कटुवाल चौकीदारी गर्छन् । उनले तीन वर्षअघि श्रीमतीलाई पनि साथै ल्याए । उनी राति चौकीदारी र बिहान गाडी सफा गर्ने काम गर्छन् भने श्रीमती साहुको घरमा खाना पकाएर मासिक ५ हजार कमाउँछिन् । दुवैको कमाइले उनीहरूले छोराछोरीलाई धनगढीमा डेरामा राखेर पढाइरहेका छन् । उनले भने ‘दुवैको कमाइले बालबच्चाको पढाइ, घरखर्च र आफ्नो गुजारा चलेको छ ।’ छोरी स्नातक तहमा पुगेकी छन् भने छोरा १० र ८ कक्षामा छन् । ‘हाम्रा बाले आफूजस्तै हामीलाई पनि नपढाएर हाम्रो जिन्दगी बिगारे नभनून् भनेर भारतका गल्लीमा चौकीदारी गरिरहेको छु,’ जयबहादुरले भने ।

भारतका सहरैपिच्छे सुदूरपश्चिमका फरक–फरक जिल्लाका बासिन्दा उल्लेख्य संख्यामा भेटिन्छन् । सुदूरपश्चिमेली नेपाली समाज भारतका अनुसार दिल्लीमा सबैभन्दा धेरै संख्या बाजुराका छन् भने मुम्बईमा अछामका धेरै छन् । बझाङका धेरैजसो भने बैंग्लोरमा छन् । बाजुराका जयबहादुर कटुवालले सुनाए ‘दिल्लीको जुनसुकै कुनामा पनि बाजुरेली नभेटिने ठाउँ छैन ।’

समाजका महासचिव दार्चुलाको शैल्यशिखर–४ का ४० वर्षीय माधव भट्ट २४ वर्षदेखि दिल्लीमा छन् । भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको अभिलेख, बिमा, सुरक्षा, उद्धारको व्यवस्था सरकारले गरिदिए पनि धेरै सजिलो हुने उनी बताउँछन् । समाजमा हाल करिब ६ हजार सुदूरपश्चिमेली आबद्ध रहेको बताउँदै उनले भने, ‘दिल्लीमै लाखभन्दा बढी छन् सुदूरपश्चिमेली । सबैलाई समाजमा आबद्ध गर्न सकिएको छैन ।’

भारतमा श्रम गर्नेहरूका समस्याबारे प्रदेश र स्थानीय सरकारले चासो लिनुपर्ने उनको मत छ । ‘तेस्रो देश जाने नेपाली श्रमिक सरकारी बिमादेखि कानुनी उपचार र मृत्यु भएमा शव ल्याउनेसम्मको दायित्व नेपाल सरकारले लिन्छ, भारतमा काम गर्नेको हकमा पनि त गर्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले त तीन तहका सरकार छन् । तर, हाम्रा सरकारले अभिभावकत्व लिनु त परै जावस्, वास्तै छैन ।’

सीमामा सास्ती

भारतमा काम गर्ने श्रमिकका दुःख श्रम गन्तव्यमा मात्रै सीमित छैन । वर्षौंको मजदुरी गरेर फर्केकाहरूले सीमामा पाउने दुःखको पनि बेग्लै फेहरिस्त छ । बाटोमा हुने लुटपाट र ठगीदेखि भारतीय सीमा प्रहरीले दिने सास्तीका कथा प्रत्येक दिन सीमा क्षेत्रमा सुनिन्छ । नयाँ वर्षमा मनाइने सुदूरपश्चिमको चाड बिशुका लागि घर फर्किरहेका सुर्खेतको भेरीगंगा–४ का ताराबहादुर मगर, मिलन राजी, लालबहादुर नेपाली र केशर वली गत सोमबार भारतको हल्द्वानीबाट फर्किंदै गर्दा भारतीय भूमिमै लुटिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूको ४५ हजार भारु नगद र चार थान मोबाइल लुटपाटको घटना भएको छ ।

कालापहाडमा मजदुरी गरेर घर फर्किन लागेका उनीहरूलाई उत्तराखण्डको हल्द्वानीमा बेहोस बनाएर लुटिएको थियो । सीमा क्षेत्रमा बेहोस भेटिएका उनीहरूलाई प्रहरीले उद्धार गरेर महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार गराएको थियो । तर, लुटिएको पैसा र सामान फिर्ता पाउने आधार भेटिएन ।

यस्तै गत साता कञ्चनपुर गड्डाचौकीको बाटो घर फर्किरहका नेपाली श्रमिकहरूबाट भारतीय सुरक्षाकर्मर्लीे १३ लाखभन्दा बढी भारु रकम बरामद गरे । त्यति धेरै नगद बोक्न नपाइने भन्दै रकम जफत गरियो ।

कञ्चनपुर प्रहरीका अनुसार चैत २४ मा हरियाणाबाट घर फर्किरहेका बझाङ दुर्गाथलीका धर्मराज मुरबाट एसएसबीले २ लाख १३ हजार भारु खोसेर भारतीय अध्यागमनलाई बुझाइदियो । हरियाणामा लामो समयदेखि चलाइरहेको ढावा बेचेर उनी घर फर्किरहेका थिए । नेपाली श्रमिकलाई सबैभन्दा ठूलो मर्का भारतमा बैंकिङ कारोबार गर्न खाता खोल्न नपाउनु त छँदै छ, नेपालतर्फ २५ हजारभन्दा बढी भारु नगदमा ल्याउन पाउँदैनन् । ज्याला मजदुरी गरेर घर फर्किनेका साथमा हुने रकम स्रोत नखुलेको भन्दै एसएसबीले सीमामा खोस्ने गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीमा ५ वर्षअघि त्रिलोचन भट्टले पदवहाली गर्दा धेरैलाई लागेको थियो, अब भारतमा काम गर्ने नेपालीका दुःख घट्छन् । यस्तो लाग्नुका पछाडि भट्टको विगत भारतमा चौकीदारी गर्दाको दुःख समेटिएको थियो । भट्टले भनेका थिए, ‘अब सुदूरपश्चिमेलीहरूले भारतमा चौकीदारी गर्न जानुपर्ने छैन ।’ पाँच वर्षे कार्यकाल सकेर उनी पदबाट हटे, श्रमका लागि भारत आउजाउ गर्ने प्रदेशवासीको सास्ती कम भएको छैन । कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा हरेक दिन भारत आउजाउ गरिरहेका नेपालीका दुःखका सुस्केरा उस्तै सुनिन्छ ।

Published on: 18 April 2023 | Kantipur

Link

Back to list

;