s

दिलबहादुरको ‘ब्लडमनी’बाट ३७ लाख बचत

साउदीको जेलबाट छुटेका दिलबहादुर परिवारको सम्पर्कमा

रोल्पाको थवाङका दिलबहादुर घर्तीलाई साउदीको जेलबाट छुटाउन संकलन गरिएको ब्लडमनी वापतको रकम खर्च कटाएर ३७ लाख २६ हजार उब्रिएको छ ।

यो रकम राज्यकोषमा जम्मा गर्ने कि अन्य पीडितलाई दिने भन्नेबारे अभियन्ताहरु दोधारमा परेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको अगुवाइमा दिलबहादुृरका लागि ब्लडमनी संकलन गरिएको थियो । यस क्रममा १ करोड ४ लाख २६ हजार रुपैयाँ संकलन भएको पुनले बताए ।

आवश्यकता भन्दा ३७ लाख २६ हजार रुपैयाँ बढी रकम उठेको बताउँदै पुनले यो रकम कहाँ प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

बचेको रकम राज्यकोषमा

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनको संयोजकत्वमा ४१ सदस्यीय दिलबहादुर बचाउन ब्लड मनी संकलन अभियान समिति गठन गरिएको थियो । समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरेको थियो ।

संकलनका क्रममा उठेको बढी रकमबारे दीपेशले भने- ‘साउदीकै जेलमा रहेका गोरखाका कुमार राना अहिले पनि जेलमै छन् । यो अभियानबाट बचेको रकम कुमार रानाको उद्धारका लागि अपुग हुने रकममा थप गर्ने भनेका छौं ।

तथापि कुमारको नाममा उठेको रकम पर्याप्त भएको खण्डमा यो रकक विदेशी जेल तथा विभिन्न दुःखमा पीडित नेपालीहरुको सहयोगका लागि खर्च गर्नेछौं ।’

सरकारले स्थापना गर्न लागेको बैदेशिक कल्याणकारी कोषमा यो रकम जम्मा गर्ने सोचाइ राखिएको पुनले बताए । सरकारलाई विदेशका विभिन्न जेलमा रहेका नेपालीहरुको उद्धार गर्नमा राहत पुगोस् भन्ने आफूहरुको चाहना रहेको पुनले बताए ।

दिलबहादुरले भने- म ऋणी छु

साउदीको जेलमा रहेका दिलबहादुर घर्ती ६७ लाख रुपैयाँ ब्लडमनी तिरेपछि स्वदेश फर्किइसकेका छन् । सोमबार राजधानीमा एक कार्यक्रम गरेर दिलबहादुर घर्ती बचाउ अभियानले उनलाई परिवारको जिम्मा लगाएको छ ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका १० थवाङ पेवा गाउँका ३० वषर्ीय घर्ती दुई वर्षअघि साउदीको राजधानी रियादमा सवारी दुर्घटनापछि जेल परेका थिए । दिलबहादुर रियादस्थित मजेद अलदियाबही कन्ट्राक्टिङ एण्ड इस्ट नामक कम्पनीमा ट्रक चालकका रुपमा कार्यरत थिए ।

गत भदौ २१ गते जेलमुक्त भएका घर्तीको उद्धारका लागि ६७ लाख ब्लड मनी तिरेको अभियानका संयोजक दीपेश पुनले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए । ब्लडमनी तिरेको ३७ दिनपछि घर्ती शनिबार काठमाडौं आइपुगेका हुन् ।

उद्धारपछि साउदीको जेलबाट स्वदेश फर्केका घर्तीले आफ्नो कथा यसरी सुनाए-

साउदी पुगेको ३ महिनामै मैले चलाएको ट्रकलाई साउदी नागरिक मोटेबबिन अतिखबिन दअफाको कारले पछाडिबाट ठक्कर दियो । मैले भाषा बुझि्नँ र मलाई फसाइयो । दुर्घटनामा साउदी नागरिकको मृत्यु भएपछि जेल चलान गरियो ।

साउदी नागरिक मृत्यु अभियोगमा त्यहाँको अदालतले ७५ प्रतिशत गल्ती तिम्रै हो भनेर फैसला गरिदियो, अदालती फैसलाबमोजिम उरियादमा बन्दी जीवन बिताइरहेको थिएँ । अदालतले तोकेको ब्लड मनी साउदी रियाल २ लाख २५ हजार सम्बन्धित मृतकको परिवारलाई तिरेमात्रै रिहाइ हुने अवस्था थियो ।

त्यति धेरै रकम मेरो परिवारले केही गरी पनि तिर्न सक्ने ल्याकत थिएन । नेपाली नागरिक ६७ लाख तिर्न नसक्दा जेलमै रहनु परिरहेको समाचार सार्वजनिक भएपछि मलाई कैदमुक्त गर्न नेपालमा ब्लड मनी संकलन सुरु गरिएको थियो ।

मलाई नयाँ जीवन दिनुहुने सबैमा हार्दिक धन्यवाद छ । नयाँ जीवन पाउँदा म ज्यादै खुशी छु । देश तथा विदेशबाट एक छाक काटेर मलाई नयाँ जीवन दिने अभियानमा लाग्नुभयो, मेरा कारण दुःख पाउनु भयो, यसका लागि क्षमा चाहन्छु । यो साथको ऋणी छु ।

मजस्ता अन्य थुप्रै नेपालीहरु भाषा नबुझेर विदेशको जेलमा छन् । उनीहरुको उद्धारमा गम्भीर हुन सरकारलाई आग्रह गर्दछु ।

Published On: 24 September 2018 | Online khabar

Back to list

;