s

दिलबहादुरको जीवन रक्षार्थ १ लाख २७ हजार सहयोग

कुवेत/राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेल जीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ एक लाख २७ हजार सहयोग गरेको छ । उक्त रकम दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हस्तान्तरण गरिएको छ ।
 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले समाजको प्रतिनिधिका रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगरले मान्छे जहाँ भए पनि आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्ने कुवेतमा रहने सम्पूर्ण दाजुभाइप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गरिन् ।
 
उनले रोजगारीका लागि कुवेत पुगेर आफ्नो गास कटाएर पनि यति ठूलो गुन लगाएकोमा जीवनभर यसको सम्झना गर्ने बताइन् । सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले रोजगारीका लागि कुवेत पुगेका दाजुभाइहरुले ‘राप्ती एकता समाज कुवेत’ स्थापना गरी एकतावद्ध भएको र त्यसमार्फत सामाजिक सेवामा सक्रिय भइरहेको जानकारी दिए ।
 
त्यस अवसरमा ‘दिलबहादुर घर्ती बचाउ अभियान मूल समिति’का सचिव जीवन रोकामगरले अब दिलबहादुरका लागि आवश्यक ब्लडमनी संसारभरिका नेपाली दाजुभाइहरुको सहयोगबाट लगभग पूरा भएको जानकारी दिए । उनले राप्ती एकता समाज कुवेतलाई पनि विशेष आभार प्रकट गरेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मनोज घर्तीमगरले विश्वभर रहेका दानवीर नेपालीहरुकै सहयोगले अब दिलबहादुरको जीवन रक्षा सम्भव भएको बताउँदै राप्ती एकता समाज कुवेतलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 
त्यस्तै, नेपाल पत्रकार महासंघ, ५ नम्बर प्रदेशका अध्यक्ष मौसम रोकामगरले शुरुमा असम्भव जस्तो लागेको भए पनि सहृदयी दानवीरहरुको सत्प्रयासमा दिलबहादुर घर्तीले नयाँ जीवन पाएको बताए । राप्ती समाज कुवेतका अध्यक्ष कृष्णबहादुर खड्काले पनि कुवेतमा रहेर दिलबहादुर घर्तीको जीवनरक्षाका लागि सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।
 
उनले एक नेपालीको दुःखमा संसारैभर छरिएर रहेका नेपालीहरुको सानो सानो सहयोगबाट उनको जीवनरक्षा हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।
 
Published on: 29 July 2018 | Onlinekhabar

Back to list

;