s

दिलबहादुर बचाउन १५ लाख हस्तान्तरण

नवीन लोचनमगर

ऊर्जामन्त्रीको सक्रियतामा ‘ब्लड मनी’ संकलन

रोजगारका सिलसिलामा साउदी अरब पुगेका रोल्पा नगरपालिका १० धबाङका दिलबहादुर घर्ती मगरको जीवन रक्षाका लागि आवश्यक ‘ब्लड मनी’ संकलन तीव्र भएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका दिलबहादुरलाई त्यहाँको अदालतले ६५ लाख रुपैयाँ ब्लड मनी तोकेको छ । संकलित रकम परराष्ट्र मन्त्रालय हुँदै साउदी अरबका मृतक परिवारले पाएपछि दिलबहादुर जेलमुक्त हुनेछन् । के थियो दिलबहादुरको गल्ती ?
 
दिलबहादुर घर्ती मगर उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाएको थियो । त्यसबापत मृतकका परिवारलाई २ लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन अदालतले फैसला गरेको थियो । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा पनि अदालतले पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
 
ब्लड मनी संकलनमा ऊर्जामन्त्री नै सक्रिय
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ को सक्रियतामा ‘दिलबहादुर घर्ती बचाउन ब्लड मनी संकलन अभियान’ मूल समारोह समिति गठन गरी सहयोग संकलन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दीपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब–करिब संकलन गरिसकेको छ ।
 
‘दिलबहादुरलाई समस्या आइसकेपछि उहाँका आफन्त मकहाँ आउनुभयो, मैले नै मूल समिति गठनका लागि पहल गरेँ,’ मन्त्री अनन्तले भने, ‘विश्वभरका नेपालीले आफ्नै दाजुभाइ सम्झेर दिलबहादुरलाई सहयोग गर्नुभयो, उहाँको रिहाइ र नेपाल ल्याउन कूटनीतिक तथा प्रशासनिक पहल गर्दै छु ।’
 
आवश्यक ब्लड मनी संकलन हुँदा खुसी लागेको संयोजक दीपेश पुनले बताए ‘हामीले अभियान गर्दै भनेका थियौँ, दिलबहादुर घर फर्कनेछन् । यसमा हामी करिब सफल भएका छौँ,’ उनले भने । संकलित रकम केही समयभित्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उनले बताए । मन्त्री पुनले पनि एक लाख रुपैयाँ सहयोग गरेका छन् । वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।
 
एकै दिन १५ लाख संकलन
 
दिलबहादुर बताउन एकै दिन १५ लाख संकलन गरी हस्तान्तरण गरिएको छ । ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाइसिएल रोल्पाको पहलमा संकलित पाँच लाख ७८ हजार, प्रदेश सांसद लालकुमारी पुन ‘सुशीला’बाट ५० हजार र मगर संघ कतारबाट प्राप्त २५ हजार रुपैयाँ, मगर संघ साउदी अरबबाट संकलित सात लाख ५० हजार रुपैयाँ बिहीबार मूल समितिलाई हस्तान्तरण गरिएको हो ।
 
साउदी अरबबाट विभिन्न संघ संस्थाले संकलन गरेको साढे आठ लाख रुपैयाँ मूल समितिले प्राप्त गरिसकेको छ । दिलबहादुर बचाउँन रोल्पालीसहित सयौँ नेपालीले सहयोग गरेका छन् । रोल्पा उद्योग वाणिज्य संघले बजारभरि थोरै थोरै सहयोग जम्मा गर्दै एक लाख ४८ हजार ६ सय ४५ रुपैयाँ पु¥याएर हस्तान्तरण गरेको छ । रोल्पा नगरपालिकाले पनि दिलबहादुर बचाउन आर्थिक सहयोग गरेको मेयर पूर्ण केसीले बताए ।
 
Published on: 4 August 2018 | Naya Patrika

Back to list

;