s

डिजिटल रेमिट्यान्स

लीलानाथ घिमिरे

मुलुकको अर्थतन्त्र धान्ने रेमिट्यान्स भित्र्याउने तरिका दुई वर्षयता प्रविधिले फेरिएको छ । यसले समयको बचत गरेको छ । रकम पठाउँदा लाग्ने खर्चमा समेत कटौती गरेको छ ।

पहिले रेमिट्यान्स पठाउन एजेन्टकहाँ गएर आफ्नो विवरण र्फम भर्नुपथ्र्यो । र्फमसँगै एजेन्टलाई रकम बुझाएपछि निश्चित शुल्क लिएर उसले सम्बन्धित मुलुकमा रहेको अर्को एजेन्टलाई रकम भुक्तानी गर्न आदेश दिन्थ्यो । परम्परागत रेमिट्यान्स भुक्तानीको यो प्रक्रियामा पछिल्लो समय प्रविधिले निकै सजिलो बनाइदिएको छ । 'अहिले रकम पठाउन एजेन्टकहाँ पुग्नु पर्दैन, मनकामना विकास बैंकका सूचना प्रविधि विभाग प्रमुख पवन शर्मा भन्छन्, 'इन्टरनेट, मोबाइल, एटीएम मेसिनबाट रेमिट्यान्स सीधै अर्को मुलुकमा पठाउन सकिन्छ ।'

बैंकसँग कारोबार गरिरहेका अधिकांशले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटीएमलगायत सुविधा लिएका हुन्छन् । यही सुविधालाई उपयोग गरेर विदेशबाट रेमिट्यान्स पठाउन सकिने व्यवस्था विभिन्न कम्पनीले मिलाएका छन् । बैंकमार्फत हुने डिजिटल ट्रान्सफरले रेमिट्यान्स सुरक्षित, विश्वसनीय र वैधानिक बनाएको छ । बैंकमा व्यक्तिको विवरण अद्यावधिक रहने भएकाले गैरकानुनी रूपमा गरिएको कमाइ एक अर्को मुलुकमा लैजाने प्रवृत्तिलाई समेत यसले रोक्छ । 'बैंकमा खाता हुने व्यक्तिले मात्र रकम पठाउन सक्ने भएकाले अवैध रकमको वैधानिकताबारे छानबिन गर्न सजिलो हुन्छ,' शर्मा भन्छन्, 'जोसुकैले यसबाट रकम पठाउन नसक्ने भएकाले गैरकानुनी आर्जनको ओसारपसार हुने सम्भावना कम हुन्छ ।' बैंकिङ सेवा लिने व्यक्तिको विवरण बैंकमा पहिल्यै राखिएको हुन्छ ।

व्यक्तिले लिएको अनलाइन सुविधाबाट उसले आफ्नो खाताबाट अर्को मुलुकको बैंक वा एजेन्टलाई रकम पठाउन सक्छ । त्यस्तैगरी मोबाइल बैंकिङ सेवा लिएपछि आफ्नो बैंक खातामा रहेको रकम अर्को मुलुकको एजेन्टकहाँ, व्यक्तिको मोबाइल र बैंक खातामा जम्मा हुने गरी पठाउन सकिन्छ ।

विदेशमा एटीएम मेसिनबाटै रेमिट्यान्स पठाउने सुविधा उपलब्ध छ । रकम ट्रान्सफर गर्ने एटीएम मेसिन फरक खालको हुने शर्मा बताउँछन् । एटीएम काउन्टरमा गएपछि भच्र्युएल किबोर्डमार्फत आफ्नो 'अर्डर इन्पुट' गर्न सकिन्छ । त्यसमा कुन मुलुकमा रकम पठाउने भन्ने जानकारी माग्छ । मुलुक खुलाएपछि त्यहाँ रहेका रेमिट्यान्स एजेन्टको लिस्ट मोनिटरमा देखाउँछ । त्यसैका आधारमा नजिकको एजेन्टलाई रकम पठाउन सकिन्छ । मोबाइलमार्फत पठाएजस्तै एटीएमबाट पठाउँदा पनि पाउने/पठाउने दुवै व्यक्तिको मोबाइलमा रकम पठाएको/पाएको जानकारी एसएमएसमार्फत आउँछ । यसरी एजेन्टकहाँ आएको रकम आफूले त्यहाँबाट नगदै बुझ्न, रकमान्तर गरेर बैंक खातामा जम्मा गर्न सकिन्छ ।

रेमिट्यान्सको कारोबार गर्ने विभिन्न कम्पनी/बैंकहरूले एक मुलुकबाट अर्कोमा रेमिट्यान्स पठाउन आआफ्नै सफ्टवेयर प्रयोग गर्छन् । त्यसलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस -एपीएआई) ले जोडेर रेमिट्यान्स कम्पनी र एजेन्टले चलाउने शर्मा बताउँछन् ।

मोबाइललाई वालेट बनाउन लागिरहेको सफ्टवेयर उत्पादक कम्पनी एफवन सफ्टले विदेशबाट रेमिट्यान्स भित्र्याउन 'ट्रान्सबोर्डर' सफ्टवेयरको प्रयोग गरिरहको छ । यसले विश्वका १ सय ५० भन्दा बढी मुलुकबाट पठाइएको रेमिट्यान्स मोबाइलमै तुरुन्त उपलब्ध गराउने कम्पनीका अध्यक्ष विश्वास ढकाल बताउँछन् । त्यसलाई मोबाइलधनीले एसएमएस गरेर बैंक खातामा जम्मा गर्न, एजेन्ट वा बैंकमार्फत भुक्तानी लिन सक्छन् ।

एफवन सफ्टको ट्रान्स बोर्डरमार्फत दैनिक १० जनाले रेमिट्यान्स पठाउने गरेको ढकालले जानकारी दिए । कम्पनीले गत दसैंदेखि डिजिटल प्रविधिबाट रेमिट्यान्स भित्र्याउन सुरु गरेको हो । वेस्टर्न युनियन, अलअन्सार, अल फर्दान, लिडर, स्पिड रेमिट, आईडीआई, ट्राङ्लो, क्युटेललगायत २० वटा ग्लोबल रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेर डिजिटल रेमिट भित्र्याइरहेको उनले बताए  । उसले नेपालमा नबिल, सनराइज, जनता, माछापुच्छ्रेलगायत १३ वटा बैंक वित्तीय संस्थाका रेमिट्यान्स एजेन्टसँग सहकार्य गरेर रकम भुक्तानी गर्छ ।

खर्च बचाउने भएकाले संसारभर रेमिट्यान्सलाई डिजिटल सिस्टममा लान प्रयास भइरहेको ढकालको भनाइ छ । उनका अनुसार रेमिट्यान्स भित्र्याउन डिजिटल प्रविधिको प्रयोग भएको दुई वर्ष भयो । यस अवधिमा विश्वभर १ प्रतिशत मात्रै रेमिट्यान्सको डिजिटल कारोबार हुन्छ । अर्को वर्ष यस्तो दर बढेर १० प्रतिशतसम्म पुग्ने अनुमान छ ।

'विदेशबाट डिजिटल्ली रेमिट्यान्स पठाउन नेपालीहरू अझै अभ्यस्त भइसकेका छैनन्,' एफवन सफ्टका अध्यक्ष ढकाल भन्छन्, 'यसका लागि सूचना प्रविधिबारे सचेतना जगाउनु जरुरी छ । एफवन सफ्टले नेपाली धेरै रहेका खाडीलगायत मुलुकमा उनीहरू बस्ने होस्टलहरूमा गएर रेमिट्यान्स पठाउने तरिकाबारे तालिम दिने तयारी गरेको उनले बताए ।

डिजिटल माध्यमबाट पठाउँदा कतै एजेन्टको प्रयोग गर्नु नपर्ने भएकाले खर्चको धेरै बचत हुने ढकाल बताउँछन् । 'पठाउँदा मात्र डिजिटल प्रविधिको प्रयोग गर्दा पनि खर्चमा ३० प्रतिशत बचत हुन्छ,' उनले भने, 'दुवैतिर यस्तो व्यवस्था गर्न सके ५० प्रतिशतभन्दा बढी बचाउन सकिन्छ ।'

ट्रान्सबोर्डरमार्फत रेमिट्यान्स 'एजेन्ट टु एजेन्ट', मोबाइलमा र बैंकमा सीधै जम्मा गर्ने गरी पठाउन सकिने ढकाल बताउँछन् । एजेन्टबाट एजेन्टलाई पठाउँदा सामान्यत १० डलर लाग्ने शुल्क एजेन्टबाट मोबाइलमा पठाउँदा ७ डलर मात्रै खर्च लाग्ने उनले बताए ।

विदेशबाट आएको रेमिट्यान्स स्वदेशमा हेल्लो पैसा, फोन पेलगायत मोबाइल बैंकिङ, ई-सेवामा एकाउन्ट भएका व्यक्तिले मोबाइलमै प्राप्त गर्छन् । त्यसलाई उनीहरूले नजिकको एजेन्ट, बैंकका शाखाहरूमा गएर रकम झिक्न सक्छन् । बैंकमा खाता हुने ग्राहकले आएको रेमिट्यान्स सीधै जम्मा गर्न सक्छन् ।

Published on : 12 April 2013 | Kantipur

Back to list

;