s

डीभी भर्नेको विवरण खोज्दै प्रहरी

प्रतिमा बाँस्कोटा

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत  असई विकास अधिकारीलाई मुख्यालयले कमान्डो तालिममा भारत पठाउने निर्णय गर्‍यो । तर उनले यति महत्त्वपूर्ण अवसर अस्वीकार गर्दै  उनले लिखित निवेदन दिँदै कारण खुलाए, 'मलाई डीभी परेको छ । दुई चरणको प्रक्रिया पूरा गरिसकें । तेस्रो चरणमा आफैं उपस्थित हुनुपर्ने भएकाले तालिममा जाँदा यता छुट्छ ।'

असई अधिकारीको यस्तो बेहोरासहितको निवदेनले 'अध्ययनका लागि विदेश जाँदासमेत अनुमति लिनुपर्ने संगठनमा जानकारीबिना डीभी -डाइभर्सिटी भिजा) भर्न र पीआर (परमानेन्ट रेजिडेन्स) का लागि आवेदन दिन मिल्छ/ मिल्दैन ?' भन्नेबारे मुख्यालयमा बहस सुरु भएको छ । केही साताअघि प्रहरीको पीसीसी बैठकमा समेत यो विषय उठेको थियो । पीसीसी मुख्यालयमा उपलब्ध एसएसएपीभन्दा माथिका अधिकृत सामेल हुने प्रहरीको नीति निर्माण बैठक मानिन्छ ।

प्रहरी ऐन, नियमावली र आचारसंहितामा स्पष्ट उल्लेख नभएकाले बैठकले यसबारे के गर्ने निर्णय गरिनसकेको तालिम निर्देशनालयका डीआईजीपी गणेश राईले बताए । 'बहालमा रहँदै डीभी/पीआरका लागि आवेदन दिन पाइँदैन भन्ने कहीं उल्लेख रहेनछ,' उनले भने, 'पढ्न जाँदा अनुमति चाहिन्छ भने डीभी भर्दा किन नचाहिने भन्ने प्रश्न उठेको छ ।'

सरकारले २०६४ सालमा बहालावाला सरकारी कर्मचारीलाई डीभी/पीआर भर्दा पूर्वस्वीकृति लिनुपर्ने र पाइसकेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । तर त्यसबारे जानकारी नभएकाले प्रहरी डीभी/पीआरका लागि आवेदन दिने र बाहिरिने प्रक्रियामा रहेकाको लगत माग्ने निष्कर्षमा पुगेको छ ।  

प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले तथ्यांक संकलनपछि उनीहरूबारे के गर्ने भन्ने छलफल गरिने बताए । उनका अनुसार प्रहरीको कानुन शाखाले सबै क्षेत्र, अञ्चल र जिल्लालाई परिपत्र गर्दै डीभी भर्ने र पर्ने कर्मचारीको नाम मागेको छ । प्रहरी स्रोतका अनुसार ठूलो संख्यामा प्रहरीसँग डीभी भरेर पाएको अमेरिकी गि्रनकार्ड छ । गि्रनकार्ड जोगाउन वर्षमा एकपटक अमेरिका पुग्नैपर्ने भएकाले उनीहरू एक महिना पाइने बिदामा अमेरिका पुग्दै र्फकने गरेका छन् ।

जागिर छाडेर गएकामध्ये धेरैले डीभी परेरै राजीनामा दिएको मुख्यालय स्रोत बताउँछ । तर जागिर छाड्नुको कारण अरू नै देखाउने गरेकाले स्पष्ट तथ्यांक भने छैन । यसबारे अनुगमन पनि हुने गरेको छैन । आफैंलाई वा श्रीमतीलाई डीभी परेर अमेरिका पलायन हुनेको संख्या ठूलो भए पनि उपल्लो तहका र साथीभाइलाई जानकारी भएका आधारमा केही नाम भने चर्चामा आइरहन्छन् ।

नेपाल प्रहरीमा कार्यरत रहँदै डीआईजी शारदा पराजुली डीभी परेपछि जागिर छाडेर अमेरिका गएका थिए । त्यसैगरी प्रहरी एसपीहरू दिवस उदास, प्रभाकर शाह, डीएसपी मधुसूदन बुढाथोकी, जगदीश पोख्रेललगायत पनि डीभी परेरै गएका थिए ।

Published on: 3 February 2014 | Kantipur

Back to list

;