s

‘ढुंगो बोल्ला, मान्छे बोल्दैनन्’

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको यशोधरा गाउँपालिका–७, सुल्तनावपुरका ३२ वर्षीय कोरोना संक्रमित युवा बाटो छेउको चोकमा पुग्दा उनलाई देख्नेहरू तर्कन्छन् । 

‘गाउँ छेउमा नहरको सर्भिस रोड छ,’ उनले भने, ‘त्यहाँको चिया पसलमा पुग्न नपाउँदै सबै जना कुर्सी छोडेर भाग्छन् ।’ लालाबालाको चुलोचौको चलाउन भारतको गुजरातमा रोजगारीका लागि गएका थिए । त्यहाँबाट फर्केर घर पुग्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित हुँदैमा मसँग गरिएको व्यवहार अपराधीको जस्तो हुँदा निकै तनाव भइरहेको उनले सुनाए । ‘संक्रमण भई हाल्यो,’ उनले भने, ‘त्यो चिन्ता छँदै थियो । त्यसभन्दा ठूलो चिन्ता समाजले थपेको छ ।’ घरका बालबालिका र आमाबाबु घरबाहिर निस्किँदा अरू गाउँले परपर भाग्ने गरेको उनले सुनाए । आफ्ना कारण वृद्ध बाबुआमालाई सकस दिँदा बडो कष्ट भइरहेको उनले दुखेसो पोखे । जेठ १६ गते उनी गाउँ आएर सिधै क्वारेन्टाइन गएका थिए । १८ गते उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै बिमार र लक्षण नदेखिएपछि चिकित्सकले उनलाई घर पठाएका थिए ।

उनीजस्तै यशोधरा गाउँपालिका–८, बाँसखोरका सात जना संक्रमित घर फर्केपछि गाउँलेको व्यवहारले दु:खी तुल्याएको बताए । बाँसखोरका २८ वर्षीय संक्रमितका अनुसार घरबाहिर निस्क्यो कि छिमेकीले मुख फर्काउने गरेका छन् । ‘गाउँले कति निर्दयी बनेका हुन्, ढुंगो बोल्ला मान्छे बोल्दैनन्,’ उनले भने, ‘उल्टै हामीलाई देख्नासाथ टाढाटाढा भाग्छन् ।’ यसरी गाउँले भागेको देख्दा आफैं अपहेलित महसुस गरिरहेको उनले सुनाए । ‘मुम्बई नगएको भए घरमा चुलो बल्दैन्थ्यो,’ उनले भने, ‘नगए पनि समस्या, गए पनि समस्या छ ।’ अहिले गाउँलेको व्यवहार देख्दा जतिसक्दो छिटो भारत नै फर्कुं जस्तो भइरहेको उनले सुनाए ।

उनीजस्तै ४६ वर्षीय संक्रमितले पनि गाउँलेको व्यवहार देखेर दिग्दार लागेको सुनाए । ‘स्वदेशमा काम पाएको भए भारत जानु पर्थेन,’ उनले भने, ‘मुम्बईबाट संक्रमण बोकेर पनि आउने थिइनँ ।’ स्वदेश फर्किंदा बाटोमा पाएको दु:खकष्ट सुनाइसाध्य नभएको उनले बताए । ‘आइसोलेसनबाट फर्किसकेपछि पनि चिनेजानेका साथीसंगीसँग अनुहार लुकाउँदै हिँड्नु पर्दा तनाव भइरहेको उनले सुनाए ।

संक्रमितका कारण गाउँघरमा समस्या आएको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले स्विकारे । ‘गाउँमै गएर सम्झाइबुझाइ गरे पनि विभेद बढेको छ,’ उनले भने, ‘यो अहिले जटिल समस्या बनेको छ ।’ चेतनाको कमीले संक्रमित र उनका परिवार गाउँलेको फरक व्यवहारमा परेको उनले सुनाए ।

Published on: 16 June 2020 | Kantipur

Link

Back to list

;