s

ढाँटेरै लिए उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति

शम्भु कट्टेल 

सरकारी कर्मचारीको लापरबाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको खुलासा भएको छ। स्वास्थ्य, गृह र श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेस गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएका हुन्।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति निकाल्न प्रयोग भएको कागजपत्रमा कहीँ–कतै पनि उनीहरू उत्तर कोरियाली चिकित्सकहरू भएको उल्लेख छैन। उनीहरूले राहदानी त पेस गरेका छन् तर सरकारी कर्मचारीले समेत उत्तर कोरियाको राहदानी नचिन्दा उत्तर कोरियाली चिकित्सकले बिनाविस्तृत अनुसन्धान श्रम स्वीकृति लिएका थिए। संयुक्त राष्ट्रसंघले उत्तरकोरियामाथि आणविक हतियारको जथाभावी उत्पादन र परीक्षण गरेको भन्दै कडा नाकाबन्दी गरेको छ।
 
त्यसको बाबजुत नेपालमा भने उत्तर कोरियालीले निर्वाध रूपमा बिजनेस भिसामा समेत काम अवैध रूपमा गर्दै आएका छन्। स्वास्थ्य, गृह र श्रम विभागका कर्मचारीले कुन मुलुकका चिकित्सक हुन् भन्ने पहिचान र आवश्यक सोधखोज नगरीकनै श्रम सहमति दिएका हुन्। उनीहरूको कार्य सहमतिका लागि स्वास्थ्य मन्त्रालयले गृहलाई लेखेको पत्रमा समेत उनीहरू उत्तर कोरियाली चिकित्सक भएको उल्लेख छैन। सरकारी रेकर्डमा कुनै पनि उत्तर कोरियाली नागरिकले श्रम स्वीकृति लिएको देखिँदैन।
 
गृह मन्त्रालयले श्रम स्वीकृतिका लागि कुनै पनि उत्तर कोरियाली चिकित्सकहरूलाई कार्य सहमति नदिएको बताउँदै आएको थियो। श्रम विभागका कर्मचारीले समेत आफूहरूले कुनै पनि उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति नदिएको जिकिर गरेका थिए। श्रम विभागको रेकर्डमा समेत उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको देखिँदैन। श्रमको रेकर्डमा दक्षिण कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको देखिन्छ।
 
अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गरी त्यसबारे छानबिन गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीन जना उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको र तनहुँको दमौलीमा रहेको ‘ने कोर्यो’ अस्पतालमा बिजनेस भिसा लिएका उत्तर कोरियालीले चिकित्सकीय काम गरिरहेको बारे छानबिन भइरहेको बताए। प्रवक्ता सुवेदीले भने, ‘हामीले सम्बन्धित निकायमा छानबिनका लागि लिखित निर्देशन दिइसकेका छौं।’
 
गृह मन्त्रालयका एक अधिकारीले उत्तर कोरियालीलाई कार्यसहमति नदिनू भन्ने निर्देशन कहीँ–कतैबाट नआएको र ती तीन जना उत्तर कोरियाली नागरिकले चाहिँ गलत विवरण पेस गरेर श्रम स्वीकृत लिएको पाइएको बताए। गृह मन्त्रालयका ती अधिकारीले उनीहरूले आफूहरू उत्तर कोरियाली चिकित्सक भनेरै प्रक्रिया अघि बढाएको भए पनि श्रम स्वीकृति पाउँथे तर उनीहरूले कोरियाली चिकित्सक मात्र भनी कागजपत्र पेस गरेर कर्मचारीलाई झुक्याएको बताए।
 
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका सञ्चालनको सहयोगमा ती तीन जना उत्तर कोरियाली नागरिकले श्रम विभागबाट श्रम स्वीकृति लिएको फेला परेको हो।
 
सेफरमा अहिले एक जना उत्तर कोरियाली चिकित्सक कार्यरत छन्। अन्य दुई पति÷पत्नी थिए। केही महिनाअघि पतिको निधन भए पनि पत्नीले समेत उक्त अस्पताल छाडेर उत्तर कोरिया फर्किसकेकी छन्। ती तीनै जना चिकित्सकले सेफर अस्पतालको सिफारिसमा श्रम स्वीकृति लिएका हुन्। सेफरका सञ्चालकले समेत उनीहरू उत्तर कोरियाली चिकित्सक भएको बारे कुनै निकायमा खबर गरेनन्।
 
सरकारी कर्मचारीले उत्तर कोरियाको राहदानीसमेत चिनेनन्। श्रम विभागका कर्मचारीले उनीहरूको अन्तर्वार्ता लिँदासमेत उत्तर वा दक्षिण कोरियाली हुन् छुट्याउन सकेनन्। श्रमले उनीहरूलाई दक्षिण कोरियाली नागरिकका रूपमा श्रम स्वीकृति दिएको थियो।
 
श्रम विभागको रेकर्डमा समेत उनीहरू दक्षिण कोरियाली चिकित्सक नै हुन् भन्ने उल्लेख छ। नेपालस्थित उत्तर कोरियाली दूतावासको रोहवरमा सेफर अस्पताल र उत्तर कोरियाली चिकित्सकको सम्झौताअनुसार अन्य उत्तर कोरियाली चिकित्सकसमेत नेपाल आउने उल्लेख रहेको स्रोतले बताएको छ। सेफर अस्पतालका सञ्चालकले उत्तर कोरियाली चिकित्सकको भिसा सिफारिसका लागि बनाएको आवश्यक कागजपत्रमा उनीहरू कोरियाली नागरिक भएको उल्लेख छ।
 
सेफर अस्पतालले लेखेको पत्रमा ती चिकित्सक उत्तर वा दक्षिण कुन कोरियाका हुन् भन्ने खुलेको छैन। सेफरको पत्रमा उनीहरू कोरियाली नागरिक भएको उल्लेख छ। त्यसैका आधारमा स्वास्थ्य मन्त्रालयले कार्य सहमति दिन आग्रह गर्दै गृह मन्त्रालयमा पत्राचार गरेको थियो। गृहले समेत उनीहरूको राहदानी नहेरी स्वास्थ्य मन्त्रालयकै विश्वासमा कार्य सहमतिको पत्र दिएको छ। श्रम विभागमा कुनै पनि विदेशीलाई श्रम स्वीकृत दिनुअघि अनिवार्य अन्तर्वार्ता दिनुपर्ने प्रावधान छ।
 
ती उत्तरकोरियाली चिकित्सकहरूको अन्तर्वार्तासमेत भयो। तर, अन्तर्वार्ताका क्रममा उनीहरूले उत्तर कोरियाली भन्ने पत्तो पाएनन् र आफ्नो रेकर्डमा श्रम विभागले उनीहरू दक्षिण कोरियाली चिकित्सक भएको भन्दै रेकर्ड राख्यो। श्रम विभागका निर्देशक वरुणकुमार झाले उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृत नदिएको जिकिर गर्दै आएका थिए। समाचार प्रकाशन भएपछि निर्देशक झाले आफ्नो रेकर्ड हेर्दासमेत उनीहरू दक्षिण कोरियाली भएको भन्दै जिकिर गरे।
 
जब झाले आफ्ना कर्मचारीलाई सेफर अस्पतालको फायल हेर्न लगाए त्यसबेला मात्र उनीहरूले थाहा पाए कि उत्तर कोरियाली चिकित्सकलाई आफ्नो निकायले श्रम स्वीकृति दिएको। त्यसपछि झाले अबआइन्दा उत्तर वा दक्षिण कुन कोरियाका नागरिक हुन् खुलाएर पठाएपछि मात्र प्रक्रिया अघि बढाउने व्यहोराको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएका छन्। कार्य सहमति दिने क्रममा गृह मन्त्रालयसमेत नराम्ररी झुक्कियो।
 
गृह मन्त्रालयले कात्तिक २७ गते उत्तर कोरियाली चिकित्सकलाई दिएको कार्य सहमतिपत्रमा समेत कोरियाली नागरिक मात्र उल्लेख गरेको छ। गृहले समेत उनीहरू उत्तर वा दक्षिण कुन कोरियाका नागरिक हुन् भन्ने खुलाएको छैन। गृह मन्त्रालयले अहिले अध्यागमन विभागमा पत्र लेखी कञ्चनपुरमा रहेका उत्तर कोरियाली चिकित्सकको गतिविधि निगरानी गर्न निर्देशन दिएको स्रोतले बताएको छ।
 
Published on: 2 April 2018 | Annapurna Post

Back to list

;