s

धारचुलामा रहेका नेपालीलाई स्वदेश ल्याइयो

मनोज बडू

दार्चुला — लकडाउनका कारण महिना दिनभन्दा बढी समयदेखि भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई बिहीबार स्वदेश ल्याउन थालिएको छ । लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो । 

दार्चुला, बैतडी, बझाङसहित १० जिल्लाका धारचुला क्षेत्रमा नाका बन्द भएपछि रोकिएका नेपालीलाई सदरमुकामस्थित खलंगा र महाकाली नगरपालिका–९ दत्तुबाट नाकाबाट उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङ नागरिकलाई दत्तु नाका र दार्चुलासहित अन्य जिल्लाका भारतमा रहेका नेपाली नागरिकलाई खलंगा नाकाबाट उद्धार गरिँदै छ । 

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धारभुलाका पाँच क्वारेन्टाइनमा एक हजार ४० जना नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि चार दिनदेखि दार्चुला आइ बसेका थिए । दार्चुलाका स्थानीयलाई क्वारेन्टाइनमा राख्न तयारी गरिएको छ । उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको छ । 

उनीहरुलाई सीमा क्षेत्रमा जाँचपछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ । बैतडी र बझांङका नागरिकलाई बिहीबारै पठाइने छ । अन्य जिल्लाका नागरिकलाई पठाउन सम्बन्धित जिल्लाका प्रशासनसंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

Published on: 30 April 2020 | Kantipur

Link

Back to list

;