s

धन्यवाद 'काबुलीवाला'

जासुसी गरेको आरोपमा २० वर्ष कारावास सजाय भोगेका तनहुँ बन्दिपुर–१ का तिलकबहादुर थापामगर अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईको क्षमादानपछि आइतबार नेपाल आएका छन्। विगत २ वर्ष ३ महिनादेखि जेल सजाय भोग्दै आएका उनले नेपाल सरकारको विशेष पहलपछि आममाफी पाएका हुन्। आइतबार साँझ काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै उनले आफ्नो रिहाइका लागि पहल गर्ने नेपाल सरकार , पाकिस्तानस्थित नेपाली राजदूत भरत पौडेल, काबुलमा रहेका नेपाली पत्रकार सुवेल भण्डारी र अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईप्रति कृतज्ञता व्यक्त गरे। 'निर्दोष अवस्थामा जेलको कष्टकर जीवन जिउँदै गरेको मलाई त्यसबाट मुक्ति दिलाउने सबैलाई धन्यवाद दिन्छु,' उनले भने, 'अब म केही समय आराम गरेर आगामी जिन्दगीबारे सोच्नेछु।'

काठमाडौं धापासीबाट १८ वर्षे छोरा रोहित र १६ वर्षे छोरा रोहनसँगै आएकी पत्नी जुनाले श्रीमानलाई अँगालो मारेर विमानस्थलमा स्वागत गरिन्। उनी श्रीमानलाई देख्नेबित्तिकै उनको काँधमा भक्कानेर रोइन्।

'उहाँलाई देख्न पाउँदा निक्कै खुसी लागेको छ,' जुनाले भनिन्, 'अब कहिल्यै उता पठाउने छैन।' श्रीमान जेल परेसँगै दिनरात रुँदै बितेको उनले सुनाइन्। 'जेल परेको एक महिना त खबर पनि पाइनँ,' उनले भनिन, 'त्यसपछि मुस्किलले टेलिफोनमा कुरा हुन्थ्यो।' श्रीमानले आफू निर्दोष रहेको बताउँदै नेपाल सरकारसँग सहयोग माग्न लगाएको उनले बताइन्।

उनले तनहुँस्थित घरमा ६९ वर्षे आमा पदममायाले बाटो कुरेर बसेको सुनाइन् । 'एकदुई दिनमै गाउँ गएर आमालाई भेट्नेछु,' तिलकले भने, 'जेलमा बस्दा आमाको निक्कै सम्झना आयो।' उनले जेलमा रहँदा एक पटक टेलिफोनमा आमासँग पनि कुरा गर्न पाएको सुनाए।

बुवालाई लिन आएका छोराहरु निक्कै हर्षित थिए। 'जेजस्तो भए पनि हामीले बुवालाई पायौं,' रोहितले भने, 'बुवाको मुक्तिका लागि पहल गर्ने सबैलाई धन्यवाद छ ।' निर्दोष बुवालाई जेल हाले पनि अहिले आएर मुक्त गरिदिएकोमा उनले अफगानिस्तान सरकालाई 'धन्यवाद' भने।

तनहुँ बन्दिपुर–१ का तिलक कामको सिलसिलामा पहिलो पटक २०६२ सालमा अफगानिस्तान पुगेका थिए। त्यसपछि पटकपटक घर आउने गरेका उनी २०६७ माघ २८ गते घरबाट बिदा भएका थिए। '२०६८ वैशाख ६ गते उहाँ पक्राउ पर्नुभएछ,' जुनाले भनिन्, 'हामीले एक महिनापछि जानकारी पायौं।'

तिलक हेल्मन्ड प्रान्तस्थित आफू काम गर्ने कम्पनीबाटै २०६८ वैशाख ६ गते गिरफ्तार भएका थिए। उनलाई सुरुमा हेलमन्डको प्रान्तीय अदालतले पहिले १६ वर्ष कैदसजाय तोकेको थियो। थापामगरलाई थाहै नदिई, र कुनै वकिल उपलब्ध नगराई सर्वोच्चम पुगेको उक्त मुद्दामा सर्वोच्चका न्यायाधीशले थप ४ वर्ष गरी २० वर्ष कैद तोकेका थिए।

'गिरफ्तार अफगानी नागरिकले नाम पोलेपछि गिरफ्तार गरे। पछि त्यही व्यक्तिले कुरानमा हात राखेर अदालत सामुन्ने हामी निर्दोष भएको बताउँदा पनि जेलसजाय १६ वर्षबाट २० पुर्याखइयो,' उनले भने, 'त्यसपछि चाहिँ जेलमुक्त हुन्छु भन्ने आशा मरेर गयो।'

हेलमन्डको जेलजीवन निक्कै कष्टकर रहेको उनले सुनाए। भाषा, धर्म केही मिल्दैनथ्यो,' उनले भने, 'तालिबानीको भीडमा एक्लै बस्दा सधैं डर लाग्थ्यो।' सुरुमा तालिबानीले धर्म सोधेको उनले सुनाए। 'उनीहरु मलाई तालिबानविरुद्ध लड्न आएका सम्झन्थे,' उनले भने, 'मैले लामो प्रयासपछि उनीहरुको त्यो भ्रम चिरेँ।'

अफगानिस्तानले उनीहरुलाई पाकिस्तानी जासुसी संस्था आइएसआईलाई इमेलमार्फत सूचना चुहाउने काम गरेको आरोप लगाएको थियो । उनको अवस्थाबारे समाचार आएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मानवीय आधारमा थापामगरलाई आममाफीका लागि कारजाईलाई पत्र लेखी औपचारिक अनुरोध गरेका थिए । थापामगरको रिहाइपछि इस्लामाबादस्थित राजदूतावासबाट जारी विज्ञप्तिमा अफगान सरकार र कारजाईलाई आभार व्यक्त गरेको छ।

Published on: 15 July 2013 | Nagarik

Back to list

;