s

'धन्य, बाँचेर आइस् बाबै !’

देवेन्द्र भट्टराई

अनाहकको अभियोगमा १५ वर्ष जापानी कारागारमा बसेर शनिबार घर फिरेका ४५ वर्षे गोविन्दप्रसाद मैनालीले त्रिभुवन विमानस्थलको आगमन कक्षबाट बाहिरिनासाथ भुइँ ढोगे र भने, 'म मेरो माटोमा आएँ ।'

कक्षछेउमै उनलाई स्वागत गर्न उभिएकी ७९ वर्षीया आमा चन्द्रकलाले अँगालोमा बेर्दै भनिन्, 'धन्य, बाँचेर आइस् बाबै !' एकअर्काका गाला छुँदै गरिरहँदा आमाछोरा दुवैका आँखा आँसुले रसाएका थिए । भावपूर्ण स्थितिमा दाजु इन्द्र मैनालीले पनि भाइलाई अँगालोमा बाँधे ।
 
धेरै प्रश्न सोध्न र भनेजति जवाफ लिन आतुर देशविदेशका झन्डै सय पत्रकार प्रश्नोत्तरभन्दा त्यो क्षणलाई तस्बिरमा कैद गर्न आतुर थिए । 'यतिका वर्षपछि घर फिर्न पाउँदा कस्तो लागेको छ ?,' पत्रकारको भीडबाट कसैले सोध्यो ।
 
लगत्तै गोविन्दले सर्टको खल्तीबाट कागजको चिर्कटो झिके र जापानी भाषामै भने, 'म शब्दमा व्यक्त गर्न सक्दिनँ, घर फिर्न पाएकामा एकदमै खुसी छु ।'
 
हत्या अभियोगमा गतिलो अनुसन्धानबिनै सन् १९९७ मार्चदेखि जापानको योकोहामा जेलमा थुनामा परेका मैनाली अदालतबाट निर्दोष प्रमाणित भएपछि घर फिरेका हुन् ।
 
थाई एयरलाइन्सबाट काठमाडौं उत्रिँदा अध्यागमन अड्डादेखि नै अलिक हतास र आत्तिएका देखिन्थे । श्रीमती राधा, दुई छोरीहरू एलिशा र मिथिलासहित सहयोग समूहका सदस्य र जापानी पत्रकारको ठूलो भीडका माझ कालो ह्याट लगाएर बाहिरिँदै गरेका गोविन्दको सुरक्षा प्रबन्ध गर्न एयरपोर्ट प्रहरीलाई हम्मे परेको थियो ।
 
एयरपोर्टबाट शंखमूलस्थित गोविन्दको आफ्नै निवास पुग्दासमेत टोकियो र दिल्लीबाट आएका जापानी पत्रकारको घुइँचो साम्य भएको थिएन । हिन्दु रीतिअनुसार पाठपूजा गरेर उनलाई आमा चन्द्रकला र दाजु इन्द्रले घर भित्र्याएका थिए । २६ वर्षे उमेरमा सन् १९९४ मा जापान गएका गोविन्द अहिले घर फिरेर आउँदा धेरैजसो आफन्तजन चिनारु हराएका झैं लाग्थे । 'म फलानो', 'म फलानो' भन्दै परिचय दिने र गोविन्दलाई फूलमालाले स्वागत गर्नेको लर्को दिनभर चलिरह्यो ।
 
कारागारमा लामो समय रहनु परेको र नेपालीभन्दा बढी जापानी भाषा बोल्नु परेकाले हुन सक्छ, नेपाली लवज बोल्न गोविन्दलाई मुस्किल परिरहेको थियो । सन् १९९४ देखि १९९७ सम्म जापान बस्दा गरेको कमाइबाट बनाएको शंखमूलस्थित घरमा पनि गोविन्दको पहिलो पटक प्रवेश भएको थियो । घरभित्र पस्नासाथ उनले पाँच वर्षअघि गुमाएका पिताजी जयप्रसादप्रति श्रद्धासुमन चढाएका थिए ।
 पन्ध्र वर्षसम्म जेलमा रहँदाका आफ्ना अनुभव र भोगाइ डायरीमा उतार्दै आएका गोविन्दले अबको फुर्सदमा जेल अनुभव तयार पार्ने भएका छन् । गोविन्दले पन्ध्रवर्षे जेल डायरीलाई परिमार्जन गरेर त्यसलाई डायरीकै रूपमा प्रकाशित गर्ने सोचाइ बनाएको बताए ।
'मैले जेलमा सास्ती पाएँ’  
 
थुनामा जेल प्रशासनबाट 'तल्लो स्तरको व्यवहार' पाएको गोविन्दले सुनाए । अपराह्न अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार भेटघाटमा धेरै अडकिएको नेपाली लवजमा उनले भने, 'जेलमा ममाथि निकै नराम्रो व्यवहार भयो । मेरो परिवारसँग भेटघाट र आदानप्रदान सहज रहेन । जेलरको बोलीबचन तल्लो स्तरको थियो, मुटु छेड्ने खालको । लगाउने लुगा तल्लो स्तरको दिइन्थ्यो ।' गोविन्दले आफूमाथि लागेको अभियोगको अन्तिम फैसला बाँकी रहेकाले पाउन सक्ने क्षतिपूर्तिबारे केही थाहा नभएको बताएका थिए । मानसिक थकानका कारण पत्रकारहरूको प्रश्न लिन नसक्ने अवस्थामा देखिने गोविन्दले आफू सहज स्थितिमा घुलमिल भएपछि मात्रै केही बोल्न सक्ने बताए ।
 
गोविन्द सहयोग समूहकी सचिव जापानी अधिकारकर्मी मिकिको क्याकुनोले गोविन्द अझै 'नर्भस' स्थितिमा रहेको उल्लेख गर्दै उनीमाथि भएको दुव्र्यवहार र दिइएको सास्तीलाई सामान्य भन्न नमिल्ने बताइन् । '१९९७ को मार्च २२ देखि २०१२ को जुन १६ बिहानसम्म गोविन्दले मानसिक र अन्य 'टर्चर' सहनुपर्योफ,' उनले भनिन्, 'जापानबाट बैंकक ट्रान्जिट हुँदै यता आउने क्रममा हिजो राति (शुक्रबार) पनि त्यस्तै स्थिति देखियो । बैंककको अध्यागमनमा समेत गोविन्द र हामीलाई एउटै कोठामा बस्न दिइएन । गोविन्दलाई उनकी श्रीमती र छोरीहरूसँग पनि भेट गर्न दिइएन ।'
 
बैंकक अध्यागमनमा समेत गोविन्दलाई सुत्ने ओछ्यान नभएको सुविधाहीन कोठा, पानी नभएको ट्वाइलेट दिइएको जानकारी दिँदै क्याकुनोले 'अध्यागमनमा पानीसम्म पिउन नदिई गोविन्दलाई राखिएको' बताइन् ।
 
दाजु इन्द्रले जापानमा सहयोग समूह नभइदिएको भए सायदै भाइ गोविन्द नेपाल आउन नसक्ने टिप्पणी गरे । 'मैलेभन्दा बढी मेरो भाइलाई माया र सद्भाव दर्शाउने सहयोग समूहका मित्रहरू सधैं सम्झनामा रहनेछन्,' उनले सहयोग समूहलाई प्रशंसापत्र दिने क्रममा भावुक हुँदै भने । गोविन्दसँगै सहयोग समूहका जुनको हासुमी, मिकिको क्याकुनो, सुनिती कातागावा र राजन प्रधानांग काठमाडौं आएका छन् । गोविन्दकी आमा चन्द्रकलाले प्रशंसापत्र हासुमीलाई प्रदान गरेकी थिइन् ।
 
सहयोग समूह र गोविन्दको कानुनी रक्षा अभियानमा लाग्ने समर्थकको संख्या ८ सयभन्दा बढी छ । प्रशंसापत्र लिएपछि हासुमीले गोविन्दले अन्तिम न्याय नपाउन्जेल सहयोग समूहले अभियान जारी राख्ने बताइन् । 
 
ँराज्यको असहयोगप्रति दुःखी छु’
सन् १९९७ मा थुनामा परेर त्यसको तीन वर्षदेखि आजीवन कारावासको सजाय बेहोर्दै आएका मैनालीको मुद्दा र अनुसन्धान प्रक्रियामा नेपाल सरकारले कहिल्यै चासो दिन नसकेकोबारे पीडित नागरिकका हैसियतमा उनी स्वयंले पहिलो पटक बोलेका छन् । 'अनाहकको अभियोगमा १५ वर्षदेखि थुनामा रहेको र रिट्राइलको आग्रहसमेत भइरहेको अवस्थामा आफ्नो एउटा नागरिकको अधिकार रक्षाप्रति नेपाल सरकारले चासो नराखिदिएकामा म पीडित नागरिकको हैसियतमा एकदमै दुखित बनेको छु । मेरोजस्तै राज्य पक्षबाट सुनुवाइ हुन नसकेको अवस्थामा अरू नेपाली नागरिक नपरून् भनेर बिन्ती गर्न चाहन्छु,' मैनालीले आफ्नो लिखित वक्तव्यमा भनेका छन् ।
विशेषगरी 'गोविन्द सहयोग समूह' का सम्पूर्ण सदस्यलाई गोविन्दले हृदयदेखि आभार व्यक्त गरेका छन् । 'तपाईंहरूले गरेको म र मेरो परिवारप्रतिको सेवा र सहयोगलाई संसारकै अति उत्कृष्ट र निःस्वार्थ मानवीय सेवामा गन्न सकिन्छ भन्ने मलाई लाग्छ ।
 
यो विशिष्ट योगदानका लागि म तपाईंहरूलाई विशेष धन्यवाद दिँदै भविष्यमा यो सेवाको ऋण चुकाउने प्रयास गर्नेछु,' उनले भने ।
उनले पत्रकार तथा मानव अधिकारवादी संस्थाहरूले आफूमाथि भएको अन्यायका विरुद्ध जेजति आवाज उठाएर सहयोग पुर्या एका छन्, त्यसका लागि धन्यवादबाहेक आफूले अरू केही भन्न नसक्ने कृतज्ञतासमेत व्यक्त गरे । 'यत्तिका वर्षपछि आफ्नो परिवारसँग भेट्न र फेरि दुःखसुख बाँढेर बस्न पाउने क्षण आएकामा म हर्षले रोएको छु । लामो तनावपूर्ण दैनिकीपछि शान्तिपूर्वक आराम गर्न मातृभूमिमा आउन पाएकामा म यहाँहरूले सोचेभन्दा बढी खुसी छु,' गोविन्दले भने ।  
 
Published on: 17 June 2012 |  Kantipur 

Back to list

;