s

धनमतीको गुहार

होम कार्की

दुई/तीन महिनापछि लिन आउँछु,' अमरले दिल्ली जानुअघि आफ्नी नवदुलही धनमतीलाई सम्झाउँदै भने, 'चिन्ता लिनु पर्दैन, आमाबुबाको ख्याल गर्दै गर्नु ।' विवाह बन्धनमा बाँधिएको २५ औं दिनमा अमरले छाडेर जाँदा धनमतीले केही बोल्न सकेकी थिइनन् । फेरि चिनजान पनि पुरानो थिएन । बिहे गरेपछि मात्रै अमरलाई देखेकी थिइन् ।

दार्चुलाको धारी गाबिस-५ का अमर दिल्लीमा खलासीको काम गर्थे । बुबाले केटी हेरिरहेको र विवाह गर्न बोलावट भएपछि अमर छोटो समयका लागि घर आएका थिए । दुई दिन हिँडेर पुग्ने अर्को गाविसबाट धनमतीलाई भित्र्याए । विवाहमा लागेको ऋण तिर्न उनी पुनः दल्ली लागे । उनी आएपछि आफूलाई दिल्ली नै लैजाने वाचा गरेकोले धनमती खुसी थिइन् ।

६४ वर्षीय कर्णबहादुरका तीन छोरामध्ये अमर माइला हुन् । आर्थिक अवस्था कमजोर भएकाले तीनवटै छोराहरूलाई पढाउन सकेनन् । अमर पाँच कक्षाभन्दा उक्लिएनन्  । विकट पहाडमा भएको बारीमा गहुँ र जौ मात्रै उमि्रन्छ । चामल किनेर ल्याउनुपर्छ । सानै उमेरमा अमर दिल्लीमा कमाउन गएपछि परिवारलाई राहत मिलेको थियो । अमरले महिनैपिच्छे २/४ हजार रुपैयाँ पठाउँदा घर चलाउन कर्णबहादुरलाई सजिलै थियो । घरमा बुहारी भएपछि समय समयमा छोरो आइरहन्छ भन्नेमा उनी पनि दंग थिए ।

धनमती पनि घरखेतको काममा भुलिरहेकी थिइन् । तर, चार महिना बितेपछि पनि आफ्ना श्रीमान् नआउँदा मन खिन्न हुन थाल्यो । अर्को महिना आउँछन् कि भन्ने आशा लाग्थ्यो । पातलो र अलि अग्लो युवक झोला बोकेर आएको परबाट देख्दा अमर हो कि भनेर आँखा तन्काई तन्काई हेर्थिन् । नजिक आइपुग्दा मन खिन्न बनाएर कामतिर लाग्थिन् । दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो । अमरको कुनै अत्तोपत्तो भएन । अमरलाई फोन गरौं त गाउँमा फोन सुविधा थिएन । हातमा मोबाइल थिएन । चिठी लेखौं, लेखपढ गर्न आउँदैन । अरूलाई लेखाइ मागेर पठाउँ भने लोग्नेको ठेगाना छैन !

दार्चुला जिल्ला विकासमा पिउनको काम गर्ने कर्णबहादुरलाई पनि छोरोको बेखबरले सार्‍है चिन्तित बनायो । आमा रुन थालिन् । अमरलाई खोज्न साथीभाइ सबैलाई गुहारे । खोज्दै जाँदा थाहा भयो, उनले प्रशासनबाट पासपोर्ट बनाएका रहेछन् । भारतको केरलामा चौकीदारी गर्ने जेठो छोरो पदमबहादुर र कान्छो हर्कबहादुरलाई पनि खोज्न लगाइयो । तर, धनमतीलाई सबै ठाउँबाट खबर आउँथ्यो, 'अमरको पत्ता लागेन ।'

मरेको/बाँचेको केही खबर नपाइरहेको बेला एक्कासि अमरको फोन आयो । ६ वर्षपछि कर्णबहादुर र धनमतीले अमरको आवाज सुन्न पाए । 'म दुबईमा काम गरिरहेको छु,' फोनमा भने, 'मलाई ठीक छ । चिन्ता नलिनु ।'

धनमती केही बोल्न सकिनन्, लोग्नेको स्वर सुनेर उनको स्वर होइन, आँसुमात्र निस्किरहे । अमरले आउने/नआउने केही भनेनन् । कर्णबहादुरले सम्झाए, 'हामीलाई पैसा चाहिएन । बुहारीले तेरो बाटो हेरिरहेको छ । यसको लागि भए पनि आइज ।'

लामो कुरा भएन । फोन काटियो । अमर बाँचेको खबरले परिवारमा खुसियाली छायो । त्यसपछि महिना, दुई महिना, ६ महिनाको अन्तरमा उनले फोन गर्न थाले । सधैं कुरा हुन्थ्यो, 'मलाई ठीक छ । मेरो चिन्ता नगर्नु ।' पत्नी, बुबा/आमाको एउटै जोड हुन्थ्यो, 'घर आइज, बाबु ! हामीलाई पैसा चाहिएन ।' पटकपटक फोन हुँदा पनि अमर के गर्छन्, कति कमाउँछन्, किन घर नआएको भन्ने कुरा खुलेन ।

०६७ साल भदौ ८ गते संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासलाई हवाला दिँदै एउटा समाचार आयो, 'धारी गाविस दार्चुलाका अमरबहादुर बम सन् २००३ बाट मृत्युदण्डको सजाय पाएर अल अबिर जेलमा छन् । एक भारतीय नागरिकको हत्या गर्ने दुई भारतीयको गाडी चलाएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।'

तत्कालीन राजदूत अर्जुनबहादुर थापा र जेलका महानिर्देशक मेजर जनरल मोहम्मद हुमैद सैफ अल् सुवैदीबीच कुरा हुँदा अमरले मृत्युदण्डको सजाय पाएको ७ वर्षपछि बल्ल दूतावासले जानकारी पाएको हो । त्यसपछि दूतावासले यसलाई सार्वजनिक गर्दै भन्यो, 'हत्याराहरूको सवारी चालकका रूपमा काम गरेका बमले आफू हत्यामा प्रत्यक्ष संलग्न नरहेको, हत्या हुनुपूर्व र हत्याको तत्कालपश्चात् सोको बारेमा अनभिज्ञ रहेको र भाषाको समेत कठिनाइका कारण परिबन्दमा परेको दाबी गर्दै सहयोगका लागि दूतावासमा अनुरोध गरेका छन् ।'

यो खबर हुरीको वेग जसरी दार्चुला पुग्यो । बम परिवारलाई छाँगोबाट खसेजस्तो भयो । रुवाबासी भयो । त्यस दिनदेखि अमरकी आमा बिरामी परिन् । धनमती टोलाउन थालिन् । बूढो बाबु कसलाई के भन्ने भन्दै मेसो पाउन सकेनन् । छोरोले मृत्युदण्ड पाएको खबर सुनेको २२ औं दिन बम परिवारको घरमा एउटा दुःखद घटना भयो, 'अमरकी आमाको मृत्यु भयो ।'

त्यसले कर्णबहादुरलाई अर्को बज्र आइपर्‍यो । अर्कोपटक अमरको फोन आउँदा आमाको मृत्यु भइसकेको थियो । आफ्नो वास्तविक खबर बाहिर पुगिसकेपछिको फोनमा उनी रुन थाले, 'म बर्बाद भएँ, बुबा । मैले जीवनमा कल्पना पनि नगरेको घटना हुन पुग्यो । मेरो जीवन त बर्बाद भयो । बिचरी धनमतीलाई सोच्दा झन् मलाई असह्य हुन्छ । कसरी मन बुझाएको छु, आफैंलाई थाहा छैन ।'

अमरले घटनाको विषय बुबालाई विस्तृतरूपमा बताए, 'बिहे गरी घरबाट बिदावारी भएपछि पासपोर्ट बनाएर दिल्ली गएँ । दिल्ली पुगेपछि दुईजना भारतीयले गाडी चलाउन दुबई जाने हो ? महिनाको २० हजार आईसी दिन्छु भने । तिनीहरूसँग दुबई आएँ । त्यसको तीन दिनमा एउटा रेस्टुराँमा गइयो । म बाहिरै बसें । एकछिनपछि उनीहरू आए । त्यसपछि गाडी लिएर जाँदा आउँदै गरेको प्रहरीले पक्राउ गर्‍यो । अनिमात्रै थाहा पाएँ तिनीहरुले रेन्टुरेन्टमा मान्छे मारेर आएका रहेछन् ।'

आपनो छोरा निर्दोष रहेकोमा कर्णबहादुरलाई शंका छैन । हत्यामा संलग्न दुई भारतीयले पनि दुबई अदालतलाई छुट्टाछुट्टै निवदेन लेख्दै भनेका छन्, 'श्रीमान्, अमर निर्दोष छ । उसलाई माफी दिनुहुन हाम्रो अनुरोध छ ।'

अहिले कर्णबहादुर छोराको जीवनरक्षाको गुहार माग्दै हिँडिरहेका छन् । तर, उनको गुहार दार्चुलामा मात्रै सीमित छ । काठमाडौंलाई सुनाउन सकेका छैनन् । उनले दार्चुलाका सभासद् र कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूसमक्ष आपनो बिन्ती पुर्‍याएका छन् । परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गर्नसमेत आउन सकेका छैनन् । 'काठमाडौं आउन पैसा छैन,' उनले भने, 'दुई वर्षअघि छाडेको पिउनको उपदान पाएको छैन । त्यो पाउनासाथ काठमाडौं आउनेछु ।' अमर आफ्नो जीवन रक्षाको लागि सबैले पहल गरिदिऊन् भन्ने चाहन्छन् । 'म निर्दोष छु,' उनी बुबासमक्ष भन्ने गर्छन्, 'हाम्रो सरकारले दया गरिदिए आउन सक्छु । नत्र सक्तिनँ ।' कर्णबहादुर पनि त्यही अपिल गर्छन्, 'मेरो मात्रै छोरो होइन । नेपालकै छोरो हो । यसको लागि सबै जुटिदिए हुन्थ्यो ।'

दूतावासले भने यो मुद्दालाई गम्भीर रूपमा लिएको जस्तो धेरैलाई लाग्दैन । उनको जीवन बचाउका लागि कसैले चासो राख्दा दूतावासका अधिकारीहरूको जवाफ आउँछ, 'उनी निर्दोष छन् तपाईं हामीलाई लाग्नु स्वाभाविककै हो । तर, न्यायाधीशलाई लाग्दैन । न्यायाधीशलाई निर्दोष सावित गर्नलाई व्यक्तिको बयान, ऊसँग भएका अरूको बयान र त्यसलाई वकिलले कसरी प्रस्तुत गरेको छ ? साक्षी, प्रमाण, बयान, चाहिन्छ । अपराधी होइन, छोड्नुहोस् भनेर हुँदैन । दूतावासले यहाँको अदालतमा बहस गर्न पाउँदैन ।'

बुहारीलाई देखेपछि कर्णबहादुर झन् चिन्तित हुन्छन् । 'मेरो छोरो मात्रै जेलमा छैन, बुहारी पनि जेलमा छ,' अघिल्लो साता उनले दार्चुलाबाटै फोनमा भने, '२७/२८ वर्षकी मेरो बुहारी घरमा एक्ली छ । यो उसका लागि जेलसरह भएको छ ।' घरमा जेठा र कान्छा छोराको चार/चार नातिनातिनी छन् । अमरतर्फ भने छैन । 'कसरी सहनु,' उनले भने, 'बच्चा मात्रै भइदिए पनि बुहारीले मन बुझाउँथी ।' हिजोआज अमरले फोन गर्दा धनमतीलाई माइत गएर बस्न आग्रह गर्छन् । त्यसबाहेक अरू कुरो उनीसँग हुँदैन । माइतमा पनि बूढा बाआमा मात्रै छन् । 'तपाईंले बिहे गरेर ल्याउनुभएको हो,' धनमती फोनमा रुन्छिन्, 'मेरो अन्त जाने ठाउँ कहाँ छ र ?'

Published on: 28 April 2012 | Kantipur

Back to list

;