s

देशमा केही हुँदैन भन्ने बहसको अन्त्य गर्नुपर्छ : अर्थमन्त्री महत

अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा केही हुँदैन, सबै सकिन लाग्यो भन्ने निराशाको बहस अन्त्य गर्नुपर्ने बताएका छन्। उनले त्यसको खिलाफमा यही देशमा धेरै कुरा सम्भव छ भनेर प्रमाणित गर्नुपर्ने वेला आएको बताए।

कांग्रेस मकवानपुरको मंगलबार हेटौँडामा भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रविरोधी केही स्वार्थ समूहहरूले अनुचित पाइदा उठाउन नेपालमा केही हुँदैन भनेर अफबाहा फैलाइरहेको दाबी गरे।

‘देशमा केही हुँदैन, सबै सकिन लाग्यो, अब विदेशिनुपर्छ भनेर एकखालको निराशापूर्ण अभिव्यक्ति दिनहुँ सामाजिक सञ्जालमा देख्न पाइन्छ। यो एउटा स्वार्थ समूहको काम हो। जो लोकतन्त्रको खिलाफमा छ। गरे नेपालमै धेरै हुन्छ भन्ने प्रमाणित गर्नु हाम्रो दायित्व हो। केही राम्रो गरेर निराशाको बहस अन्त्य गर्नुपर्छ। सरकार यसमा दत्तचित्त भएर लागेको छ,’ उनले भने।

अर्थमन्त्री महतले युवाहरूलाई सामाजिक सञ्जालमा देखिने अर्काको देशको चाकाचौँधबाट प्रभावित नहुन आग्रह गर्दै आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरे। सरकारको अथक प्रयासबाट देशको बिग्रिएको अर्थतन्त्रले गति लिन थालेको उनले दाबी गरे।

‘अर्थतन्त्रका सबै इन्डिकेटरहरू सकारात्मकतर्फ उन्मुख छन्। कोरोना र युक्रेन–रुस युद्धको प्रभावका कारण शिथिल बनेको अर्थतन्त्र बिस्तारै चलायमान बनेको छ। अब देशमै धेरै गर्न सकिन्छ। म विशेष गरी युवाहरूलाई यही देशमा सम्भावनाको खोजी गर्न आग्रह गर्छु। विदेशी भूमिमा नजानुस्,’ उनले भने।

मन्त्री महतले पछिल्लो समय पर्यटन आगमनमा वृद्धि हुनु, विदेशी मुद्राको सञ्चिति बढ्नु, विप्रेषण प्रवाह बढ्नु, घर–जग्गाको कारोबार बढ्नु र सेयर कारोबार नियमित बढ्नुले अर्थतन्त्र सकारात्मक भएको दाबी गरे।

यस्तै, कांग्रेसका प्रवक्तासमेत रहेका मन्त्री महतले समस्या परेका वेला देशलाई कांंग्रेसले नै निकास दिने काम गरेको बताए। उनले वर्तमान सरकारले समस्याको चाङलाई पन्छाउँदै देशलाई सकारात्मक बाटोमा डोर्‍याउने काम गरेको दाबी गरे।

सरकारले गरेका राम्रा काममा एकजुट भएर सहयोग गर्न उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। मन्त्री महतले कांग्रेस एक ढिक्का भएर उभिए देशमा देखिएको सबै समस्याको समाधान गर्न सकिने दाबी पनि गरे।

उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने बताउँदै पार्टीभित्र नै एक-अर्काविरुद्ध लाग्नुभन्दा तहगत रूपमा छलफल र संवादबाट समस्या समाधान गरी अघि बढ्न आग्रह गरे।

Published on: 20 December 2023 | Naya Patrika

Link

Back to list

;