s

देशभर ३० हजार निर्माण कामदार अलपत्र

जीवन बस्नेत

 

सरकारले एक स्थानबाट अर्को स्थानमा जानसमेत प्रतिबन्ध गरेपछि निर्माण क्षेत्रमा रहेका करिब ३० हजार कामदार आफ्नो घर फर्किनबाट वञ्चित भएका छन् । आ–आफ्नो गन्तव्यमा फर्किनुपर्ने सबै मजदुर एवं सर्वसाधारण फर्किसकेको भन्दै गृह मन्त्रालयले आवतजावत रोक्न प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको छ । गृहको परिपत्रले अझै घर फर्किने तयारीमा रहेका कामदार अलपत्र परेका हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार विभिन्न जिल्लामा करिब ३० हजार कामदार अझै घर जाने तयारीमा छन् । ‘सरकारले काम गर्न रोक लगाएपछि निर्माणस्थलमा क्याम्प बनाएर बसेका छन्, काम नभएपछि दैनिक ज्याला पनि छैन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘अर्कोतिर केही दिनमै रासनलगायतका अत्यावश्यक सामान पनि सकिने अवस्था छ । घर जान पनि नपाउने भएका छन् ।’ लकडाउनको समय वृद्धि हुँदै जाँदा कामदारलाई कठिनाइ हुँदै जानेछ । सोमबारसम्म विभिन्न जिल्लाबाट ४० हजार कामदार घर फर्किसकेको महासंघले जानकारी दिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने सबै जिल्लाबाट कामदार घर फर्काउने काम सकिएको जानकारी पाएकाले प्रमुख जिल्ला अधिकारीलाई अब आवतजावतमा रोक लगाउन परिपत्र गरिएको जानकारी दिए । ‘यसरी त कहिल्यै नसकिने भयो त, हामीले घर जानेहरू फर्किसकेको भनेर बन्द गरेका हौँ,’ उनले भने । त्यस्तो समस्या भए सम्बन्धित जिल्लाबाट अनुमति लिएपछि फर्किन सकिनेसमेत बताए । 

करिब ३ हजार भारतीय मजदुर अलपत्र 

निर्माण व्यवसायीका अनुसार नेपालीबाहेक करिब ३ हजार भारतीय कामदार पनि अलपत्र परेका छन् । कामदारहरूले नेपाल–भारत सीमासम्म पु¥याउन आग्रह गरेका छन् । तर, त्यसो गर्दा असुरक्षित र केही भइहालेमा जिम्मेवारी हुनुपर्ने भएकाले निर्माण व्यवसायीले आँट गरेका छैनन् । ‘यो विषय भारतीय दूतावाससँग समन्वय गरेर मात्र समाधान गर्नुपर्ने देखिन्छ,’ महासंघका अध्यक्ष सिंहले भने ।   

यसअघि १५ चैतमा गृह मन्त्रालयले कोरोनाका कारण भएको लकडाउनले गर्दा देशभर रहेका निर्माण व्यवसाय क्षेत्रमा कार्यरत कामदारहरू आ–आफ्नो गृहजिल्ला लैजाने निर्णय गरेको थियो । मन्त्रालयमार्फत निर्माणसम्बन्धी कार्यहरू रोकिएका कारण कामदारका रूपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आफ्नो गृहजिल्लासम्म उद्धार गरी पुर्‍याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिएको थियो । सोहीअनुसार व्यवस्था मिलाउन र प्रशासनसँग समन्वय गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको थियो । 

अलपत्र कामदार घर फर्काउने यस्तो व्यवस्था 

सबैभन्दा पहिला अलपत्र परेका कामदारलाई उनीहरूको घरमा पुर्‍याउनका लागि काम बन्द भएको पत्र सम्बन्धित आयोजना वा कार्यालयले दिनुपर्नेछ । त्यस्तै, कामदारको नाम, ठेगानासहितको विवरण हुनुपर्नेछ । गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने र नामावली पठाउनुपर्नेछ । बीचबाटोमा सवारीसाधन रोक्न नहुने र अन्य यात्रु चढाउन पाउनेछैन । सवारीसाधन फर्काउँदा कुनै पनि यात्रु नचढाइएको सुनिश्चितता गर्नुपर्नेछ । यसबाहेक गन्तव्य जिल्लाले फर्केका कामदारलाई उनीहरूका घरमै क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ ।

Published on: 31 March 2020 | Nayapatrika

Link

Back to list

;