s

देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी

देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी भएकाले मुलुक शोधनान्तर बचतमा रहेको पछिल्लो तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार असोजसम्म शोधनान्तर बचत ५२ अर्ब ७४ करोड भएको छ। गत साउनमा १६ अर्ब ९ करोड बचतमा रहेको शोधनान्तर भदौसम्म आइपुग्दा ३३ अर्ब पुगेको थियो। अघिल्लो वर्षको असोजमा शोधनान्तर दुई अर्ब पाँच करोड रुपैयाँ बचत थियो।

असोजमा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा (रेमिटेन्स) को वृद्धि दर समेत बढेको छ। अघिल्लो महिनासम्म वृद्धि दर घटिरहेको थियो। दसैंका कारणले पनि रेमिटेन्सको वृद्धि दर बढेको हो । अघिल्लो असोजमा २८.८ प्रतिशत रहेको रेमिटेन्सको वृद्धि दर यसपाली ३८.२ प्रतिशतमा उक्लिएको छ। असोजसम्म १३५ अर्ब ३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

भदौसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि १३.८ प्रतिशतले बढेर ६०६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १२.२ प्रतिशतले बढेर ५०८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकिङ क्षेत्रमा अमेरिकी डलरमा सञ्चिति ९.६ प्रतिशतले बढेर ६ अर्ब १५ करोड पुगेको छ।

असोजसम्म सरकारले वैदेशिक नगद ऋण १ अर्ब १९ करोड रुपैयाँ प्राप्त गरेको छ। सरकारले नगद अनुदान १३ अर्ब ३९ करोड प्राप्त गरेको छ। अघिल्लो वर्ष असोजमा सरकारले ४४ करोड ९२ लाख ऋण र तीन अर्ब ६६ करोड अनुदान पाएको थियो।

चालु वर्षको असोजमा सरकारी खर्चमा केही सुधार देखिएको छ। सरकारी खर्च ७.२ प्रतिशतले बढेर ५७ अर्ब ११ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष यतिबेला सरकारी खर्च ५३ अबै २९ करोड भएको थियो। खर्च सामान्य बढेका कारण सरकार ३२ अर्ब ६२ करोड बचतमा रहेको छ। भदौमा सरकारी बचत ३५ अर्ब ४४ करोड रुपैयाँ थियो। गत वर्ष असोजमा सरकार जम्मा १० अर्ब ९४ करोड बचतमा थियो। सरकार बचतमा हुँदा विकास निर्माण प्रभावित हुन्छ।

बैंकिङ निक्षेप–कर्जा

असोजमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.२ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाले ४९ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। अघिल्लो वर्ष असोजमा २४ अर्ब ९७ करोड निक्षेप बढेको थियो।

कुल निक्षेपमध्ये बाणिज्य बैंकको ३.९ प्रतिशत, विकास बैंकको ४.८ प्रतिशत र वित्त कम्पनीको ३.३ प्रतिशतले बढेको छ। लगानीयोग्य पुँजी बढेर ब्याज दर घट्न थालेपछि वाणिज्य बैंकको निक्षेप वृद्धि दर विकास बैंकको भन्दा कम भएको हो। वाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन्छन्।

असोजमा बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार २.७ प्रतिशत अर्थात ३१ अर्ब ११ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्ष कर्जाको विस्तार ५.४ प्रतिशत अर्थात ५१ अर्ब ७९ करोडले बढेको थियो। वाणिज्य बैंकहरुको कर्जा २.३ प्रतिशत, विकास बैंकको ३.६ प्रतिशत र वित्त कम्पनीको २.२ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले दुई महिनामा निजी क्षेत्रमा ३७ अर्ब ६६ करोड कर्जा लगानी गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो। बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा दिएको कर्जामध्ये औद्योगिक उत्पादनमा १० अर्ब पाँच करोड कर्जा लगानी बढाएका छन्।

कृषि कर्जा पनि एक अर्ब ७० करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्ष ४ अर्ब ८५ करोड कृषिमा लगानी भएको थियो। निर्माण क्षेत्रको कर्जा ४ अर्ब ८५ करोड, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा ४१ करोड र थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ अर्ब २२ करोडले बढेको छ।

Published on: 26 November 2013 | Nagarik

Back to list

;