s

देशले बोलाए आउने मन छ

गणेश बस्नेत

 

मेरो घर उदयपुर गाइघाट हो । हाल म मलेसियाको पेरक भन्ने जिल्लामा छु । यहाँ आएको तीन वर्ष हुन लाग्यो । म काम गर्ने कम्पनीमा लगभग ४५० जनाजति छौँ । जसमध्ये १ सय २० जना जति नेपाली छौँ । मलेसियन सरकारले मार्च १८ देखि ३१ सम्मको लागि ‘लकडाउन’ गरेको छ । अहिले सबै कम्पनी बन्द छ । कुनैकुनै कम्पनीमा रातिराति काम हुने गरेको छ ।

म बसेको जिल्लामा लगभग सयजना कोरोना भाइरसको संक्रमित पुगिसकेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसियामा १,७९६ जना संक्रमित र १९ जनाको मृत्यु भइसकेको छ । 

‘लकडाउन’ भनिए पनि गाडीहरूचाहिँ चलिरहेकै छ । प्रहरीहरू रोडमा तैनाथ छन् । बाहिर हिँड्न दिँदैन । भिडभाड हुन दिँदैन । ठुल्ठूला सपिङ मलहरू बन्द छन् । सानासाना खाद्यान्न पाइने पसलचाहिँ कतैकतै खुलेको छ । 

हामी बस्ने कम्पनीमा अधिकांश नेपालीको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो छ । हामीलाई यहाँ खानेकुराको पनि अभाव छैन । कम्पनीले खानेकुरा किन्न १५÷१५ दिनमा पैसा दिइरहेको छ । 

अहिले हामी कोठाभित्रै बसिरहेका छौँ । दिनभरि फेसबुक चलाउने, फिल्म हेर्ने, समाचारहरू पढ्ने, एकअर्कामा गफ गर्दै बितिरहेको छ, हाम्रो दैनिकी । तर, कुनैकुनै साथीहरूको कम्पनी बन्द भएको छैन । उनीहरू ८ घन्टा काम गरिरहेका छन् । उनीहरू सुरक्षित भएर गइरहेका छन् । कम्पनीभित्र जानुअघि गेटमा स्वास्थ्यको चेकजाँच गरिन्छ । 

गणेश बस्नेत र उनका साथीहरू

हामी बस्ने ठाउँमा कसैलाई संक्रमण नभएकाले हामी त्यति डराइरहेका छैनौँ । मन दह्रो बनाएर काम गरिरहेका छौँ । आफ्नो मनोबल दह्रो बनायौँ भने यो रोगलाई जित्न सकिन्छ भन्ने आत्मबल छ हाम्रो । जति डरायो उति लाग्ने सम्भावना हुन्छ भन्ने सुनेको छु । त्यसैले हामी धेरै डराएका छैनौँ । रोगले छुँदै छुँदैन भन्ने त होइन । तर, हामी सचेत छौँ । 

आफ्नो घरपरिवारलाई खुसी बनाउन अहिले हामी परदेशमा छौँ । सरकारले अहिले विदेशमा बस्ने नेपालीलाई उतै सुरक्षित बस्नु भनेको सुनेको छु । विपत्को वेला उतै बस्नुभन्दा हामीलाई त्यति दुःख लागिरहेको छैन । आफ्नो देशबाट सात समुद्रपारि आइसकेपछि घर जान्छु भने पनि अहिले पाइँदैन । तर, आफ्नो देशले सबैजनालाई देशभित्रै बोलायो भने त आउने हो । 

५० लाख नेपालीलाई रोजगार दिने व्यवस्था सरकारले गरे हामी आउँछौँ । तर, देशभित्रैको युवालाई रोजगारी दिन सकेको छैन, हामीलाई कसरी दिन सक्ला ? नेपाल सरकारले रोजगार दिन सक्दैन । आफ्नै व्यक्तिगत पहलमा विदेशमा सिकेको सीपलाई प्रयोग गर्न सकिन्छ । तर, सरकारको भर छैन । अन्त्यमा हामी यता सबैजना ठीक छौँ । गाउँघरतिर सबैजना सचेत भएर बस्न आग्रह गर्छु । यो भाइरसलाई मानवजातिले अवश्य जित्नेछ । आशा राखौँ ।

Published on: 11 April 2020 | Nayapatrika

Link

Back to list

;