s

देश र श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रम मन्त्रीको निर्देशन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन्।

बिहीबार नौवटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमाण्ड आयो भन्दैमा राम्रोसँग बुझेर स्वीकृत नदिन आग्रह गरे।

मन्त्री कुँवरले डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको मात्रै स्वीकृत दिनुपर्नेमा जोड दिए। कसैको दबाब र धम्कीका आधारमा डिमाण्ड स्वीकृत नगर्न निर्देशन दिए।

डर, धम्की दिने व्यवसायीसँग नडराउन आग्रह गरे। श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताए। साथै उनले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा समय समयमा अनुगमन गरेर काम गर्न पनि अनुरोध गरे।

नौवटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरले आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिहरूको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरूलाई दूतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराए।

काम गर्न भन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण नेपाली समस्यामा पर्ने गरेको उनको भनाइ छ। भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उनीहरुले आग्रह गरे।

त्यस्तै सिप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने पनि उनीहरूले बताएका छन्।

Published on: 16 September 2022 | Annapurna Post

Link

Back to list

;