s

देश नै थाहा नपाई वैदेशिक रोजगारीमा जान तयार

परराष्ट्र मन्त्रालयबाट 'इमरजेन्सी' मा राहदानी बनाउन सिफारिस लिएकी इचोककी ३७ वर्षीया टोकमाया तामाङलाई आफू कुन मुलुकमा जाँदैछु भन्ने जानकारी छैन। कहिले, के काम गर्न र कहाँ जाने भन्ने जानकारी नभए पनि उनी विदेश गएरै छाड्ने योजनामा छिन्।

एकपटक गएर आएकाको भनाइ सुनेर दुबई जाने मनस्थिति बनाएकी उनलाई गरिबीबाट मुक्ति पाउन विदेश जानुपर्ने बाध्यता भएको छ। चार छोराछोरीकी आमा टोकमाया गाउँमा भन्दा कम दु:ख गरेरै धेरै आम्दानी गर्न सकिने लोभमा वैदेशिक रोजगारीमा आकर्षित भएकी हुन्। विदेश जाने महिलाका लागि जिल्ला प्रशासनमा स्थापित शक्ति समूहको परामर्श केन्द्रमा सल्लाह लिइरहेकी उनले भनिन्, 'साहुसाहुनीले लगाएको जे काम पनि गर्छु।'

बाँसबारी थाक्लेका ४० वर्षीया फूलमाया तामाङ र ३५ वर्षीया काली तामाङले पनि राहदानीका लागि प्रशासनमा फाराम बुझाएका छन्। उनीहरूको पनि कहाँ जाने भन्ने निश्चित छैन। विदेशबाट आएकाले राम्रो र सजिलो काम पाइन्छ भनेकाले 'पासपोर्ट' बनाउन आएको उनीहरू बताउँछन्।

राम्रो नेपाली बोल्न पनि नजान्ने, गुन्यु, चोलो र चप्पल लगाएर प्रशासन आएका दुवैले आफूखुसी राहदानी बनाउन आएको बताए पनि उनीहरूको यो भनाइ पत्याउन कठिन थियो। यहीं र यही काम गर्न जाने भन्ने थाहा नभएका दुवैलाई राहदानी बनाए विदेशमा पैसा कमाउन पठाउने आश्वासन कसैले दिएको सहजै अनुमान लगाउन सकिन्थ्यो।

टोकमाया, फूलमाया र काली प्रतिनिधि पात्रमात्र हुन्। राम्रो कमाइ हुने आशामा विदेश जान राहदानी बनाउन आउने महिलाको संख्या दैनिक रूपमा बढ्दैछ। विशेषगरी जनजाति समुदायका महिलाले बढी राहदानी बनाउने गरेका छन्। वैदेशिक रोजगारीमा जान राहदानी बनाउन आउने अधिकांश निरक्षर र निम्नवर्गीय हुने प्रशासनका कर्मचारी बताउँछन्।

प्रशासनको तथ्यांकअनुसार विदेश जान राहदानी बनाउनेमध्ये ४० प्रतिशत महिला छन्। 'कुल राहदानी बनाउनेमध्ये ४० प्रतिशत महिला हुन्छन्', राहदानी शाखाका प्रकाश थापा भन्छन्, 'यो आधारमा विदेश जाने संख्या पनि त्यति नै होला भन्ने अनुमान लगाउन सकिन्छ।'

२० देखि ३० वर्ष उमेर समूहका महिला बढी बिदेसिने गरेको शक्ति समूहद्वारा सञ्चालित परामर्श केन्द्रकी परामर्शकर्ता ज्योति तामाङ बताउँछिन्। सन् २०१३ मा एक हजार सात सय ७३ जनालाई परामर्श दिएको उनले जानकारी दिइन्। राहदानी बनाउन आउने सबै महिला परामर्श केन्द्रमा नआउने भएकाले राहदानी बनाउने महिलाको संख्या यसभन्दा बढी हुन्छ।

ज्योतिका अनुसार परामर्श लिएका मध्ये १८ जनामात्र राहदानी नबनाई फर्किएका थिए। उनको अनुभवमा दैनिक १० जनाभन्दा बढी महिला वैदेशिक रोजगारसम्बन्धी परामर्श लिन आउने गरेका छन्। विकट भेगका महिलाले ऋण तिर्न विदेश जाने बताउने गरेको ज्योतिले सुनाइन्।

परामर्श लिन आएकाले बाहिरबाट सिकाएको कुरा भन्ने, उमेर बढाएर पाससोर्ट बनाउने, कुन देश जाने भन्ने थाहा नपाई, कुरै नबुझी एजेन्टले भनेको देशमा जान तयार हुनेजस्ता समस्या भएको तामाङले बताइन्।

Published on:  5 February 2014 | Annapurna Post

 

Back to list

;