s

देश-विदेश : ब्राजिलमा सुन छ...

देवेन्द्र भट्टराई

गाउँघरमा भेकियारी भैटोपलेको कसैले भनिदियो कि अपि|mकी मुलुक ब्राजिलमा सुन-चाँदी फालाफाल छ । गाउँपिच्छे सुन-चाँदीका खानी छन् । तर त्यहाँ गरगहना बनाउने सुनारे, कालिगढ नपाएर हैरान छ । जो-जोसँग यस्तो सीप छ, ब्राजिल हिँडे हुन्छ । त्यहाँ पुग्न केही समस्या छैन— काठमाडौंबाट मलेसिया, इन्डोनेसिया हुँदै त्यहाँबाट खुत्रुक्कै ब्राजिलको सुनखानीमा ।

यो गाउँ खाने कथाजस्तो वैदेशिक रोजगारीको किस्सा धादिङ र नुवाकोटका भित्री गाउँहरूमा यसरी फैलियो कि कुनै कथामै जस्तो रातारात गाउँ छाड्नेहरूको संख्या थपिंँदै गयो । लोभलाग्दो कथा सुनाउने दले-पात्रलाई ४ लाख रुपैयाँका दरमा शुल्क बुझाउँदै सुनौलो संसारमा जानेहरू गाउँका युवा थिए, युवती थिए । पढालेखा थिए र सँगै अपठित पनि थिए । कोही गहना बनाउन जान्ने कालिगढ, केही सुन पसलकै सेक्युरिटी गार्ड अथवा केही भने सेल्स-गर्ल बन्ने सपनामा गाउँ छाड्न तम्सिएकाहरू उत्तिकै थिए । इराकजस्तो युद्धथलोमा तीन वर्ष खटिएर, बाहिरी संसारको यथार्थ भेउ पाइसकेर भर्खरै घर फिरेका तन्नेरी भुवन सुनार पनि ब्राजिलको सुन टिप्न 'क्यु'मा बसेका थिए । 

दन्त्यकथा जस्तो लाग्ने यो किस्सा झन्डै एक वर्षसम्म गुपचुपमै रह्यो । 'एयरपोर्ट सेटिङ'बाट सुन टिप्न उडिसकेका एक दर्जन सपनामुखीहरूले बेहोर्दै आएको संघर्ष र हैरानीको कुरा कहिल्यै बाहिर आएन । कतिसम्म भने यो दन्त्यकथा अझ विश्वासिलो बन्न सकोस् भनेर यो सबै प्रपञ्चको नाइके विष्णु गुरुङले गाउँ छाडेर जानेहरूको आफन्तको खातामा महिनाको ५० हजार रुपैयाँ पठाइरहेको पनि हुन्थ्यो । 'गाउँलेहरू हाल इन्डोनेसियामा काममा लागिसकेका र ब्राजिल उड्ने क्रममा रहेका' भन्ने किस्सासँगै गाउँघरमा आउने रेमिट्यान्सको मासिक किस्ताले कथालाई अझ विश्वासिलो बनाइरहेको थियो । त्यही भएर धादिङ र नुवाकोटका झन्डै दुइ दर्जन युवायुवतीले दन्त्यकथाको नायक श्रीमान विष्णु गुरुङ र नायिका श्रीमती बिनुमाया गुरुङलाई यो एक वर्षको अन्तरमा झन्डै एक करोड रुपैयाँ बुझाइसकेका रहेछन् । 

यसै बीचमा कथाको एउटा मोडमा कुनै दानवीय पात्रको प्रवेश भएझैं स्थिति आयो । कथाका सूत्राधार एजेन्ट विष्णु 'ओ भावरे' स्टाइलमा बाली प्रान्तका सडकमा मोटरसाइकल कुदाइरहेका थिए । साथमा थिए, ब्राजिलमा सुन खोज्नैका लागि गतवर्ष फागुनको पहिलो लटमा इन्डोनेसिया पुगेका थानकोटका ४० वर्षे नकुल सुनार । त्यहाँ एउटा सडक दुर्घटनामा उनीहरू परे । स्थानीय बाली अस्पतालमा उपचार हुँदाहुँदै नकुलको ज्यान गुम्यो, एजेन्ट चालक भने बाँचे । नकुलको शव अहिले पनि स्थानीय अस्पतालमा अलपत्र छ ।

सपनामयीहरूको यो कथा यहीं टुङ्गदिैन । यो नसोचेको स्थितिसँगै साथमा नक्कली भिसा रहेको अर्को अभियोगमा इन्डोनेसियामा अलपत्र दैनिकी गुजारिरहेका प्रविन सुनार, कृष्ण सुनार, किशोर सुनार, कजन पोखरेल र हीरा गुरुङ अहिले जकार्ताको अध्यागमन जेलमा थन्किएका छन् । उनीहरूकै साथमा जेलमा छन्— यो सबै हविगत निम्त्याउने मुख्य दलाल विष्णु गुरुङ । सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको मन्त्र सुनाइरहने परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड र सरोकार सम्बद्ध कूटनीतिक निकायहरूमा ठगी/तस्करीको यो कथा फैलिसकेको छ । तर पनि मृतकको शव ल्याउन, थुनामा रहेका पीडितको उद्धार गर्न र पीडकको जालोमा प्रहार गर्न सकिएको अवस्था छैन । पीडितहरू परराष्ट्रदेखि श्रम मन्त्रालयको गोलचक्करमा घुमिरहेकै छन् । यसबेला सबैको कुरा सुन्ने/बुझ्ने हो भने अर्को उदेकको कथा जन्मिएजस्तो लाग्छ ।

इन्डोनेसिया मामला हेर्ने मलेसियाको क्वालालम्पुरस्थित दूतावास भन्छ- 'मलेसियाबाट जकार्ता गएर सबै स्थितिको बुझबुझारथ गर्न र एउटा कूटनीतिक कर्मचारी त्यहाँ पठाउन हामीसँग हवाई टिकटको पैसा पनि छैन ।'

अब गर्ने के ? सपनामुखी बन्नाकै कारण पीडित बन्नेहरू भन्नथालेका छन्— 'हाम्रो आफन्तको शव काजकिरिया गर्न घरमा ल्याइदिनोस् । जेलमा परेका आफन्तलाई घर फिर्ता गरिदिनोस् । बरु हामी आफूले बुझाएको रकम माया मार्न तयार छौं ।'

वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड भन्छ— 'त्यो बालीको अस्पतालमा थन्किएको शवको हैसियत 'इलिगल' हो, जकार्ताको अध्यागमनमा थुनिएका नेपाली पनि 'इलिगल' हुन् । यसकारण यस्तो गैरकानुनी हैसियतमा सिधै कल्याणकारी कोषबाट उद्धारका लागि रकम दिन मिल्दैन ।'

वैदेशिक रोजगार विभाग आफ्नो निकायसम्बद्ध रहेका मलेसियास्थित श्रम सहचारीलाई निर्देशन दिँंदै भन्छ— 'जसरी, जेजुनै कोषबाट भए पनि पैसा खोजेर क्वालालम्पुरबाट जकार्ता गैहाल्नोस् । र उद्धारको काम थाल्नुहोस् ।'

परराष्ट्रको कन्सुलर शाखा भन्छ— 'हामी पत्राचार गरेका-गर्‍यै छौं । कतैबाट पनि भरपर्दो जवाफ आइरहेको छैन ।' अब अझ अगाडि बढेर परराष्ट्र मन्त्री, मुख्य सचिव अथवा सचिवकै तहमा पुगेर अलपत्र नेपालीको उद्धारबारे जिज्ञासा राख्ने हो भने सनातनी जवाफमात्रै आउँछ— 'केही छैन । हामी अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम) लाई भन्छौं । मदागास्कर वा अफगानिस्तानबाट नेपाली ल्याएझैं उद्धार भैहाल्छ नि !' 

यसकारण यो घटनाबाट स्पष्ट हुन्छ कि हाम्रो राज्यसँग विदेशी भूमिमा रहेका कानुनी वा गैरकानुनी हैसियतका नेपालीले पठाउने आँसु-पसिनाको रेमिट्यान्स हिसाब-किताब निकाल्ने संयन्त्र छ । तर तिनै नेपाली बिचल्ली परेमा उद्धार गर्ने अथवा भरथेग गर्ने संयन्त्र छैन । परराष्ट्र वा श्रम मन्त्रालयमा एउटा उपसचिव अथवा शाखा अधिकृतसम्म छैन, जसले उद्धार संयन्त्रमा मात्रै काम गरोस् । यसकारण हालका निम्ति सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीका ऐजन-ऐजन गफहरू छाडेर परराष्ट्र र श्रम मन्त्रालयले तत्काल उद्धार संयन्त्र गठन गर्नेतर्फ ध्यान पुर्‍याउन सकुन् । होइन भने यता भैरहने रेमिट्यान्सको हिसाब-किताबले मात्रै पराईभूमिमा अरण्यरोदन गरिरहेका असंख्य पीडितहरूको आवाज ढाकिनेवाला छैन ।

Published on: 25 February 2013 | Kantipur 

Back to list

;