s

दिल्लीमा दलालको दलदल

कहाँकी झापाली मालती सतार, कताकी रसुवाली छिरिङ मेन्दु गुरुङ ! यसरी थाहापत्तै नभएको अनौठो नाम-ठेगानाले भरिएको पासपोर्ट लिएर खाडी मुलुक उड्नै लागेकी २२ वर्षीया मालती दिल्लीको पहाडगन्जमा भेटिएकी थिइन् । मालतीसँगै झापा लक्ष्मीपुरकी ३५ वर्षीया धनमाया किस्कु (राजवंशी) पनि चितवनकी सरस्वती क्षत्रीको नाम रहेको पासपोर्टमा उड्नै लागेकी रहिछन् । यी महिलाहरूसँग आफ्नो नागरिकता अथवा अरु कुनै परिचय पत्रसमेत थिएन । झापा गाउँदेखि काठमाडौं महेन्द्रनगर हुँदै दिल्लीसम्म फैलिएका दलालहरूको सपनामा भर पर्दै पहाडगन्जका गल्लीमा भेटिने सस्ता होटलमा त्रास र भयको एक महिना बिताइसकेपछि मात्रै यी महिलाहरूले घर फिर्ने निधो गरेका थिए । दिल्लीस्थित दूतावासको सहयोगमा यी महिलाहरू झापा फिर्नसकेको खबर सेलाइसकेको थिएन, फेरि अर्को चङ्गुलको चर्तिकला सुनिनमा आयो ।  

यो चर्तिकला भने सुन्दैमा रमाइलो छ, अलौकिक पनि । मध्य दक्षिण अमेरिकामा पर्ने बोलिभिया जान के-कताको 'रुट' समाउनुपर्ला ? त्यो पनि कुनै श्रमिक गन्तव्य खोज्दै बोलिभिया जान लागिएको होइन, एउटा फिल्म सुटिङका लागि भनेर २१ जना सपनामुखी नेपाली बोलिभिया जान लागेका रहेछन् । लमजुङका एकजना राना मगर एजेन्ट हुँदै दिल्लीमा रहेका भारतीय र श्रीलंकन सव-एजेन्टहरू यो बोलिभिया प्रकरणका हिस्सेदार रहेछन् ।

ती २१ जना नेपालीले बोलिभियाको फिल्मी सुटिङमा जान जनही २४ लाख रुपैयाँका दरमा एजेन्टलाई बुझाएको ६ महिना भैसकेको रहेछ । एकपटक काठमाडौं विमानस्थलबाट काठमाडौं-दिल्ली-इथियोपिया जानलागेका अध्यागमनका अधिकारीले ती फिल्मी श्रमिकलाई सोधेका रहेछन्— 'खोइ तिमीहरूको निर्देशक ? क्यामेरा कहाँ छ ? के कथामा बोलिभिया पुगेर सुटिङ गर्न लागेको ? हिरो/हिरोइन कहाँ छन् ? आदि ।

यो प्रश्नोत्तरले त्यसबेला राम्रै काम गर्‍यो । सबै प्रश्नमा जवाफहीन बनेपछि उनीहरू काठमाडौं एयरपोर्टबाटै फर्काइएका रहेछन् । काठमाडौं भएन त के भयो ? फेरि दलालले यी फिल्मी श्रमिकको हुललाई दिल्ली ल्याइपुर्‍यायो । पहाडगन्जदेखि महिपालपुरसम्मका झन्डै एक दर्जन होटलमा उनीहरू यतिखेर बाँडिएर बसेका रहेछन् । जामा गेष्ट हाउसमा भेटिएका थापा थरका एकजना तन्नेरी पनि यो 'अलौकिक वैदेशिक रोजगारी'मा डेब्यु गर्न तम्सिएका रहेछन् । दिल्ली आएर गत शुक्रबार राति इथियोपिया उड्न विमानस्थल पुगेका थापासहितका युवाहरू यहाँबाट फर्काइएका रहेछन् ।

'मसँग बोलिभियाको भिसा भने छ,' थापाले नाम नखोलिदिन आग्रह गर्दै सुनाए— 'दिल्लीबाट इथियोपिया, त्यहाँबाट ब्राजिल, ब्राजिलबाट कोलम्बिया अनि बोलिभिया जाने टिकट साथमा थियो । तर ब्राजिलमा ९ घन्टा ट्रान्जिट र कोलम्बियामा ११ घन्टे ट्रान्जिट भएकाले यसमा शंका गर्दै हामीलाई फर्काइयो ।'

यी थापाका मामा एउटा पश्चिम अफ्रिकी मुलुकको दूतावासमा काम गर्ने भएकाले उनले बोलिभियाको भिसा शुल्क पनि बुझिहेरे । जम्मा १३ सय ५० रुपैयाँमा पाइने यो भिसा र अन्तर्राष्ट्रिय नियमले नमिल्ने लामो ट्रान्जिटका भरमा भिडाइएको सस्तो मूल्यको टिकटका लागि २४ लाख रुपैयाँ तिरिएको रहस्य यी फिल्मी श्रमिकहरूले यहाँ आएर मात्रै पहिल्याए ।

'हाम्रो समूहमा ५० वर्षसम्मका दाइहरू पनि छन्, केही निजी स्कुलका शिक्षक पनि छन्,' थापाले भने— 'चर्को ऋणपानका भरमा एजेन्टलाई बुझाएको पैसा ब्याज र त्यसको डबल ब्याजका कारण गाउँ र्फकन सक्ने अवस्थै छैन ।' अब के गर्ने ? अब फेरि एजेन्टले कसैलाई चेन्नईबाट उडाउने, कसैलाई हैदरावाद र कसैलाई मुम्बईबाट उडाएर छाड्ने भनेको छ (अरे) भनेर यी आशामुखीहरू पहाडगन्जमै घुमिरहेका छन् । यी मध्ये कोही स्नातक पढाइ पुरा गरेका छन् भने कोही पोखरा, बागलुङतिरका व्यापारी पनि छन् ।  

अब समस्या के देखिएको छ भने एकातर्फ मालती सतार जसलाई सपनाको दुनियाँबाहेक केही पत्तो छैन, उनी पनि दलालका पिछा लागेर पहाडगन्ज आएकी छिन् । अर्कातिर जानकार, पढेलेखेका, धनीमानी पोखरेली थापाजी पनि अर्का चटकी दलालका पिछा लागेर यहीं आइपुगेका छन् । मालतीलाई आफ्नो सक्कली नाम, नक्कली नाम र भएको सबै घटना खोल्नमा कुनै शरम छैन, समस्या छैन । थापाजीसहित बोलिभियाली फिल्म खेल्न जानलागेका समाजका जानकारहरूलाई 'शरमको मारे' भएको छ । उनीहरू न आफ्नो पुरा नाम भन्न चाहन्छन्, न दलाललाई कारबाहीको दायरामा ल्याउन सहयोगी बन्छन् । किनभने 'कता हिंँडेको, केका लागि हिँडेको, कसका पछि हिँडेको, कति पैसा तिरेर हिँडेको' जस्ता सामान्य प्रश्न गर्दा पनि यी फिल्मी श्रमिकहरू पानी-पानी बनिरहेका छन् ।

यसरी दिल्लीमा दलालको दलदल गजबको देखिन्छ । मालती सतारजस्ता सपनामुखी श्रमिकले बेहोरेको किर्ते पासपोर्टको समस्या अब हस्तलिखित राहदानीमा पूर्णतया बन्देज गरिएपछि टुङ्गिएला । तर अनेक दर्गादिशा हुँदै अमेरिका-युरोप र अफ्रिका लैजाने अन्तर्राष्ट्रिय सञ्जालको 'दलाली' भने टुङ्गहिाल्ने छाँट देखिन्न । एउटै एजेन्टले लगातार कुर्दिस्तान, रूस, अफ्रिका, मरिसस, पपुवा न्युगिनी, अष्ट्रेलिया लगायतका मुलुकका लागि एउटै व्यक्ति/समूहबाट भिसा आएको छ भनेर लगातार ५ देखि ७ लाख रुपैयाँसम्म उठाएको खबर पहाडगन्जदेखि बाराखम्बाको नेपाली दूतावाससम्म फैलिएको छ । तर गर्न सकिने र भन्न सकिने उपाय केही छैन ।

अहिले मिडियामा छाएका कारण अफ्रिकामा मुजुरा नाच्न जाने नेपाली युवतीहरूबारे चासो फैलिएको छ । तर मध्यदक्षिण अमेरिकी मुलुक बोलिभियामा फिल्म खेल्न हिंँडेका धेरै सचेत, जागरुक र सम्पन्न यी 'अलौकिक' श्रमिकहरूका बारेमा के-कसलाई, कत्तिको थाहा छ कुन्नि ? थाहा छैन भने थाहा पाएकै राम्रो । यसमा भने ठग्नेभन्दा ठगिनेको सोचाइ र बुझाइ बाहिर आउनु जरुरी छ । 

Published on: 18 September 2013 | Kantipur

Back to list

;