s

दिल्लीमा अलपत्र परेकामध्ये अधिकांश पुगे नेपाल

सुरेशराज न्यौपाने

नयाँदिल्ली — केही दिनदेखि दिल्लीमा अलपत्र परेका नेपालीहरुलाई नेपाली दूतावास र प्रवासी नेपाली संगठनको समन्वयमा नेपालतर्फ पठाइएको छ ।

भारतमा कोरोना भाइरसको बढ्दो त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका थिए। घर फर्कनका लागि उनीहरु भारतका शिमला, बैंग्लोर, पन्जाबबाट दिल्ली आइपुगेका थिए। तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुवाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि उनीहरु दिल्लीस्थित आनन्दबिहार बसपार्क र छतरपुरमा अलपत्र परेका हुन्। तीमध्ये २१४ जनालाई तीनवटा बस र ट्याक्सीमा नेपाल पठाइएको हो।

भारतको दिल्लीलगायतका विभिन्न ठाउँमा ‘लकडाउन’ गरिएका कारण उनीहरुलाई नेपाल पठाउन दूतावासले भारतको विदेश मन्त्रालयसँग समन्वय गरेको थियो। उनीहरु मंगलबार बिहान गौरीफन्टा (धनगढी) पुगेको समेत बताइएको छ।

दिल्लीमा अलपत्र नेपाली भन्छन्, ‘जहाँ गए पनि पुलिसले लखेट्छ, हामी कहाँ जाने?’

दिल्लीमा अलपत्र परेकामध्ये केही दिल्लीमा रहेका आफन्त र साथीभाइ्कहाँ बसे भने बैंग्लोरबाट आएको २५ जनाको टोली भने अझै अलपत्र अवस्था रहेको छ। दक्षिण भारतको बैंग्लोरबाट आएका उनीहरु हाल दिल्लीको छतरपुरमा एक जना उत्तरप्रदेशका भारतीयको कोठामा बसेका छन्।

‘एक जना साथीको डेरामा बसेका छौं, ऊ पनि घर जाने भनेको छ त्यसपछि त विजोग हुन्छ जस्तो छ,’ तीमध्येका एक प्रकाश टमाटाले भने। अरुलाई घर पठाएजस्तै आफूहरुलाई पनि दूतावासले उद्धार गरिदिने आशमा बसेको उनले बताए। ‘अरुलाई त दूतावासले घर पठायो हामीलाई पनि पठाएको हुन्थ्यो नत्र हामीहरु कहाँ जाने थाहा छैन,’ टमाटाले भने।

Published on: 24 March 2020 | Kantipur

Link

Back to list

;