s

दिल्लीमा नेपाली कामदारको ‘रहस्यमय' मृत्यु, दूतावासलाई थाहै छैन

आकांक्षा शाह

दिल्लीको नोयडास्थित एक क्यान्टिनमा कार्यरत एक नेपाली कामदारको बुधबार ‘रहस्यमय' मृत्यु भएको छ। नोएडा एनसिआरस्थित यामाहा सोरुमको क्यान्टिनका कार्यरत २६ वर्षीय जितबहादुर रानामगरको कोठाबाट निस्केको दुई घन्टामा मृत्यु भएको छ। नजिकै भाडाको कोठामा बस्दै आएका उनको शव क्यान्टिन परिसरमै भेटिएको थियो। शवको घाँटी र आँखामा चोट देखिएकाले आपसी भगडामा मारिएको आशंका आफन्त र सहकर्मीले गरेका छन्। तनहुँ दमौलीमा जितबहादुर छ वर्षदेखि दिल्लीमा काम गर्दै आएका थिए। ‘सामान्य अवस्थामा कामका लागि गएको व्यक्ति दुई घन्टापछि क्यान्टिनमा मृत्यु भएको अवस्थामा भेट्दा स्तब्ध भएका छौं,' रानामगरका शोकाकूल साथी रामहरिले नागरिकसँग भने, ‘शव हेर्दा हत्या गरिएको संकेत देखिन्छ।' मध्याह्न १२ बजेतिर कामका लागि निस्केका उनी मारिएको खबर दुई बजेतिरै फोनबाट दिइएको उनले बताए। स्थानीय वा सहकर्मीसँग रानामगरको कुनै दुश्मनी रहेको जानकारी नभएको उनले बताए। काम लगाउने ठेकेदारसँग भने सम्पर्क हुन सकेन। उनी घटनास्थलमा पनि देखिएनन्।

रानामगररसँग काम गर्नेहरूले उनलाई कुनै प्रकारको रोग नभएको बताएका छन्। ‘पछिल्लो समयमा उनले रोगसम्बन्धी कुनै प्रकारको गुनासो गरेको थिएन। उनी पूर्ण रूपमा स्वस्थ थिए,' एक सहकर्मीले नाम नबताउने सर्तमा भने।

यो मुद्दालाई नोयडाको ४९ नम्बर सेक्टर प्रहरीले हेरिरहेको छ। शव पोस्टमार्टम बिहीबार अपराह्न गरियो। तर पोस्टमार्टम गर्ने ३९ सेक्टर अस्पतालले अहिलेसम्म बुझाएको छैन।
रानामगरको शुक्रबार अन्त्येष्टि गरिएको छ। ‘हामीले प्रहरीमा उजुरी गरेका छौँ र घटनाको विषयमा प्रहरी अनुसन्धान जारी छ,' मामा ओम मगरले नागरिकसँग भने, ‘दिल्लीको खप्न नसक्ने गर्मीको कारण शव गनाउन थालेपछि हामीले शुक्रबार अन्तिम संस्कार गर्‍यौँ।' मृत्यु ‘संदिग्घ' रहेको उनले बताए।

रहस्यमय मृत्युका घटना दोहोरिइरहने भए पनि प्रहरीले खासै अनुसन्धान नगर्ने नेपाली कामदारको गुनासो छ। ‘हामीले धेरैपटक यस्ता घटना भेटेका छौँ, करेन्ट लागेर, भर्‍याङबाट लडेर वा मृत अवस्थामा भेटियो भनेर बताइन्छ, अनुसन्धान खासै हुँदैन,' एक गैरसरकारी संस्थाका कार्यरत नेपालीले भने, ‘कुनै घटनामा न्याय भएको छैन, प्रहरीलाई घुस दिएर दबाइन्छ।'

नेपाली दूतावासलाई पनि यस विषयमा कुनै जानकारी हुँदैन। यसबारे सम्पर्क गर्दा दूतावासका अधिकारीले घटनाबारे जानकारी नै नभएको बताए।

Published on: 22 May 2011 | Nagarik

Back to list

;