s

दिल्लीमा अलपत्र

Devendra Bhattarai

नुवाकोट जिल्ला प्रशासन कार्यालयले जारी गरेको नागरिकताको प्रमाणपत्र बोकेर गत फेब्रुवरीको दोस्रो सातामा घ्याङफेदी- २ की सिरसानी तामाङ नयाँदिल्ली आइपुगिन् । 

तीन वर्षदेखि बेपत्ता भएकी छोरी अनिशा दिल्लीको आश्रयघरमा बसेकी छ भन्ने थाहा पाएर ४३ वर्षीया आमा सिरसानी दिल्ली आएकी थिइन् । दिल्लीमा नेपाली दूतावास हुँदै छोरीको सम्पर्क माध्यम रहेको हुनसक्ने संस्था प्रवासी नेपाली मित्र मञ्चसम्म उनी पुगिन् । घरमा राखिएको अनिशा तामाङ नामका भरमा छोरीको खोजी गरिहेर्दा दिल्लीका कुनै आश्रय केन्द्रहरूमा पनि यो नामसँग मिल्दो कोही भेटिएन ।

१४ वर्षकै उमेरमा हराएकी छोरीसँग उमेरका कारण त्यसबेला स्वभावतः नागरिकता थिएन । सिरसानीसँग नाता प्रमाणितको कागजात पनि थिएन । कलिलै उमेरमा दिल्लीको वेश्यालयमा बेचिएकी अनिशाको यता बोलाउने र लेखिएको नाम भने पिङ्की रहेछ । नाम, पहिचान र नाता खुल्न नसकेको कठिनाइमाझ नेपाली दूतावासलाई आवश्यक सोधपुछ र प्रक्रियापछि नाता प्रमाणित गरिदिन सिरसानीले मौखिक र लिखित आग्रहसमेत गरिन् । दूतावासले पनि पिङ्की आश्रति रहेको दिल्लीस्थित नारी निकेतनलाई 'आमाछोरीको सम्बन्ध पहिचान गरिदिन' अनुरोध पत्र लेख्यो । यी सबै झञ्झावातका बीच आमा सिरसानी छोरी अनिशासँग देखभेटसमेत गर्न नपाई घर फिरिसकेकी छिन् ।

अनिशाजस्तै एक दर्जनभन्दा बढी नेपाली नानीहरू आफन्तसँगको नाता प्रमाणित र पूरा ठेगानाको पत्तो नभएर केही वर्षयता शरणार्थीसरह आश्रति छन् । नयाँदिल्लीस्थित नारी निकेतन, बालिका गृह, डोनबस्को सेल्टर होम लगायतमा रहेका १५ वर्ष मुनिका बालबच्चालाई घर फिर्ता लैजान सहज सरकारी प्रबन्ध मिलाउने कुनै प्रयास भएको देखिन्न । दाङ जिल्लाको कामरे गाविस- ५ स्थित एउटै राना परिवारका चार नानीहरू पनि निर्मल छायास्थित आश्रय केन्द्रमा सन् २००८ देखि बस्दै आएका छन् । १५ वर्षीया लक्ष्मी, १३ वर्षीया गायत्री, १० वर्षीया माधुरी र ८ वर्षीया भूमिकाका बाबु एउटा अभियोगमा तिहाड जेलमा रहेछन् भने आमा अरूसँगै बिहा गरेर हिँडेका कारण यी नानीहरू दिल्लीमा अलपत्र भेटिएका रहेछन् । यिनीहरूलाई स्थानीय प्रहरीमार्फत आश्रयस्थल नारी निकेतन लगिएको रहेछ । 'यी नानीहरूलाई दूतावासमार्फत काठमाडौंमा बाल संगठनमा राख्न सकिन्छ कि भनेर अहिले यो प्रक्रिया बुझिरहेका छौं', मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्याल भन्छन् । आफ्ना भान्जीहरू लैजानका लागि नागरिकता प्रमाणपत्र बोकेर दाङबाट मामा कवर योगी दिल्ली आए पनि उनले समेत सहज प्रक्रियाको अभावमा भान्जीहरू लैजान पाएनन् ।

बिचल्ली रहेका नानीहरूका बारे महिला एवं बाल विकास विभागमार्फत दिल्लीका पत्रपत्रिकामा सूचना आएका आधारमा र आश्रय केन्द्रहरूसँग रहने सम्पर्कका भरमा मित्र मञ्चजस्ता संस्थाहरूले उद्धारमा सहयोग गर्दै आएका रहेछन् । विगतमा उत्तर प्रदेशको मेरठस्थित अपोलो सर्कसमा रहेका ४५ जना नेपाली बालबच्चालाई उद्धार गरेर पीडकलाई कारबाही गर्न न्यायालयसम्म पुगेको मञ्चका सचिव हरिश्चन्द्र शर्माका अनुसार पछिल्ला वर्षमा भने पीडितको भिन्न-भिन्न नामदर्ताका कारण आफन्तसँग नाता प्रमाणित हुन नसक्दा बिचल्ली बन्नेको संख्या बढेको छ । उनका अनुसार दिल्ली सरकारको बालकल्याण समितिले यस्ता आश्रतिलाई पाल्ने र पढाउने काम गरिरहेको छ ।

'आफ्नो घरको ठेगाना खुलाएर भन्न नसक्ने १२ वर्ष मुनिका नानीहरू पनि उत्तिकै छन्', मञ्चका उपाध्यक्ष कमलप्रसाद अधिकारी भन्छन्- 'यी बालबच्चालाई नेपाल फिर्ता पठाउने पहल गर्दा दूतावासले घरको ठाउँठेगाना स्पष्ट पारेर आउन भनिरहेको हुन्छ । यस कुराको आधिकारिकता बुझ्न नेपालका सबैजसो जिल्लामा रहेको बाल संगठनहरूमार्फत सम्भव हुने सुझाव दिएका छौं ।' दिल्लीकै डोन बस्को सेल्टर होममा रहेका १२ वर्षीय इब्राहिम मोहम्मदले आफ्नो ठेगाना महोत्तरी -गौशाला) भनेका छन् भने प्युठानका ११ वर्षीय शंकर खत्री पनि पूरा ठेगाना नखुलेकाले आफन्तसँग सम्पर्कहीनझैं आश्रयस्थलमा बसेका छन् । यस्तै निर्मल छायामा टीकापुर -चिसापानी) की ममता थापा तथा गुडिया नामका साना नेपाली नानीहरू ठाउँठेगाना नखुलेर अलपत्र बसिरहेका छन् ।

मित्र मञ्चका अध्यक्ष अर्यालका अनुसार आश्रयस्थलमा रहेका अथवा नरहेकै अवस्थामा पनि खाडी मुलुकहरूबाट फिरेर आएका नेपाली युवतीहरूको बिचल्ली सम्हालिनसक्नु छ । उनका अनुसार गैरकानुनी तवरमा एजेन्टहरूले दिल्ली वा मुम्बईका विमानस्थलबाट खाडी मुलुकमा पठाइएका युवतीहरू कोही विक्षिप्त अवस्थामा, कोही गर्भ लिएर र कोही अङ्गभङ्ग भएर यता आउने गरेका छन् । 'खाडीबाट बिचल्ली बनेर फिर्ने युवतीलाई एजेन्ट -दलाल) ले दया गरेर काठमाडौं विमानस्थलकै टिकटमा फिर्ता पठाइदिए उनीहरू जे-जसो भए पनि आफ्नै मुलुकमा आश्रति हुनसक्ने थिए', अर्याल भन्छन्- 'यहाँ भने बिचल्लीभन्दा महाबिचल्लीको स्थिति आँखासामु हेर्नुपरेको छ ।'

Published on: 16 May 2011 | Kantipur

Back to list

;