s

दिल्ली हुँदै टर्की पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र

गोपाल साउद

कन्सल्टेन्सीको आवरणमा मानवतस्करी

स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोवास अनुमति (पिआर) पनि पाइने आसमा उनी पोखराको पिएनपी मिराकल कन्सल्टेन्सीलाई ८ लाख ८० हजार रुपैयाँ बुझाएर पर्यटक भिसामा टर्की पुगेका थिए । सुखद भविष्यको कल्पना गर्दै टर्की पुगेका गुरुङ करिब ४ महिनापछि बल्लतल्ल ज्यान जोगाएर ११ मंसिरमा नेपाल आइपुगेका छन् ।

मानवतस्करहरूले गुरुङजस्तै धेरै युवालाई युरोपमा रोजगारी र पिआर दिलाउने भन्दै भारत हुँदै टर्की पुर्याएर ठगी गर्ने गरेको खुलेको छ । टर्कीमा १ सयभन्दा बढी युवाहरू यसरी अलपत्र परेको पीडितहरूले अनुमान गरेका छन् । टर्की लैजाने क्रममा गत भदौमा गुरुङसहित अन्य तीनजनालाई मानवतस्करले बसमार्फत दिल्ली लगेर राखेका थिए । तस्करहरूको मुख्य नाइकेको रूपमा चिनिने नारायण भन्ने चिरन गिरीले उनीहरूलाई दिल्ली एयरपोर्टमा सेटिङ मिलाएर बहराइन हुँदै टर्कीको स्तानबुल पुर्याएको उनले बताए । स्तानबुलमा उनीहरूलाई तस्कर समूहका सदस्य कुमार प्रधान एयरपोर्टसम्मै लिन आएका थिए ।
 
तस्करको जालोमा परेर टर्की पुर्याइएका अन्य दुई दर्जनभन्दा बढी नेपालीलाई राखिएकै स्थानमा उनीहरूलाई पनि राखियो । टर्की पुर्याइएको केही दिनमा नजिकैको जंगलमा लगेर जबर्जस्ती जोखिमपूर्ण काममा लगाइयो । सो स्थानमा महिनौँदेखि विनातलब काम गरिरहेको नेपाली भेटेपछि गुरुङ सुरुमा राखिएको कोठामै फर्किए ।
 
त्यसपछि उनी गिरोहका सदस्य प्रधानकै भनाइका आधारमा अन्य कामको खोजीमा विभिन्न ठाउँमा चक्कर काट्न लागे । तर, भनेजस्तो काम उनले कहीँ पाएनन् । गुरुङको यस्तो अवस्था देखेपछि प्रधानले थप ३ लाख उपलब्ध गराए ग्रिस पठाइदिने आश्वासन दिए । राम्रो काम र आकर्षक कमाइ गर्ने आसमा गुरुङ उधारोमै भए पनि अन्य केही साथीहरूसँगै जंगलको बाटो भएर ग्रिस छिर्ने प्रयासमा जुटे । तर, बीचजंगलमै पक्राउ गरेर त्यहाँको प्रहरीले उनीहरूलाई पुनः टर्की फर्काइदियो । प्रहरीले ग्रिस छिर्न नदिएपछि गुरुङलाई नेपाल नै फर्कने सोचाइ आउन लाग्यो । तर, चर्को ब्याजमा लिएको ऋण सम्झेर घर फर्किने निर्णय लिन सकेनन् ।
 
बरु, आलु र बन्दाकै भरमा दिन गुजार्न थाले । ‘केही दिनपछि त्यो पनि आउन बन्द भयो, घरबाटै पैसा मगाएर भए पनि जेनतेन भोक मेटाउँदै थियौँ,’ उनले भने, ‘तर, प्रधानले पाकिस्तानी गुन्डा प्रयोग गरी कोठा नै खाली गर्न बाध्य बनाए ।’ गाँस र बास नै नपाउने अवस्था आएपछि उनी नेपालबाट खर्च मगाएर स्वदेश फर्किएका छन् ।
 
कन्सल्टेन्सी सञ्चालकहरूको बयान सुरु
 
मानवतस्करीमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेका कन्सल्टेन्सी सञ्चालकहरूलाई काठमाडौं जिल्ला अदालतमा बयानका लागि पेस गरिएको छ । सिआइबीले टर्कीमा कठिन अवस्था सामना गरी फर्केका विभिन्न आठजना पीडितको उजुरीका आधारमा स्याङ्जाका प्रवीण गिरी र प्रदीप गिरीलाई गएको २४ पुसमा तथा झापा गौरादहका ज्ञानेन्द्र अधिकारीलाई २५ पुसमा पक्राउ गरेको थियो । तर, गिरोहका मुख्य नाइके मानिएका चिरन गिरी भने फरार छन् । उनको खोजीकार्य भइरहेको सिआइबीले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले बताएको छ ।
 
अहिले अन्य पीडितसमेत सम्पर्कमा आउने क्रम बढेको सिआइबीले जनाएको छ । सिआइबीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालका अनुसार थप २० जना पीडित सम्पर्कमा आइसकेका छन् । ‘केही पीडितले टर्कीबाट आफैँ र केहीले आफन्तमार्फत आफू ठगीमा परेको उजुरी टिपाइरहेका छन्,’ उनले भने । युरोपमा आकर्षक तलबको झुटो आश्वासनको भरमा सयौँको संख्यामा नेपाली कन्सल्टेन्सीबाट मानवतस्करीको फन्दामा परेको प्रहरीको अनुमान छ ।
 
प्रतिव्यक्ति ८ देखि २५ लाख ठगी
 
मानव तस्करहरूले युरोपमा रोजगारी दिलाउने नाममा प्रतिव्यक्ति ८ देखि २५ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरूले बताएका छन् । पोखरा बेगनासका मेघबहादुर थापामगरले भने, ‘पीडितहरुले प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म कन्सल्टेन्सीलाई बुझाएका छन् ।’ आफू्सँगै युरोप जान हिँडेका अन्य ६ जना अझै उतै रहेको जानकारी उनले दिए । उनी एक साताअघि मात्र नेपाल आएका हुन् । स्वदेश फर्किन पैसा नभएर अझै धेरै नेपाली टर्कीमै अलपत्र परिरहेको उनले जानकारी दिए । अहिले अन्य पीडितहरूसमेत सम्पर्कमा आउने क्रम बढेको सिआइबीले जनाएको छ ।
 
यसैगरी ठगिएका आठजना पीडितको उजुरीका आधारमा सिआइबीले पिएनपी मिराकल कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरिसकेको छ ।
 
Published on: 26 January 2018 | Naya Patrika

Back to list

;