s

दिल्लीबाट एक नेपाली किशोरीको उद्धार

कान्तिपुर संवाददाता

नयाँदिल्ली — कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी एक नेपाली किशोरीलाई भारतको राजधानी नयाँदिल्ली छेउको बदरपुर बोर्डरबाट उद्धार गरिएको छ ।

दिल्ली क्राइम ब्रान्च, हरियाणा पुलिसले दिल्लीस्थित नेपाली दूतावास र केआई नेपालसँगको समन्वयमा आइतबार साँझ ती १६ वर्षीया किशोरीलाई उद्धार गरेको हो । प्रहरीले उनलाई दुई महिनादेखि ‘बन्धक’ बनाएर राख्ने एक जना भारतीयलाई पनि पक्राउ गरेको छ ।

किशोरीले दिएको जानकारीअनुसार केही महिनाअघि महेन्द्रनगर महोत्सवमा नाच्नका लागि आएका दुई किशोरीसँग उनको चिनजान भएको थियो । नाच्न निकै रुचि रहेकी उनी स्कुल र गाउँमा हुने सांस्कृतिक कार्यक्रमहरुका नाचगानका कार्यक्रममा नछुटाइ भाग लिने गरेकी थिइन् । महोत्सवमा भेट हुँदा आशिका र पुष्पाले ठूला कार्यक्रममा नाच्ने रहर छ भने आफूलाई सम्पर्क गर्न भन्दै नम्बर दिएको किशोरीले सुनाएको केआई नेपालका प्रतिनिधि नवीन जोशीले बताए ।

जोशीका अनुसार गत ४ चैतमा घरमा आमा झगडा भएपछि उनी घर छाडेर हिडिँन । र पहिले दिइएको नम्बरमा सम्पर्क गरिन् । उनलाई दोधारा–चाँदनी नगरपालिकाको एउटा एकान्त ठाउँमा बोलाइयो । त्यसपछि उनलाई राती नै चोरबाटोबाट बनबासा पुऱ्याइयो । किशोरीका अनुसार बनबासा जाँदै गर्दा दुई जना युवा र दुई जना किशोरी मिसिए । त्यो रात उनीहरु सबै बनबासाको होटलमा बसे ।

भोलिपल्ट बिहान करिब ६ बजे सबैजना बनबासाबाट दिल्ली जाने बस गाडीमा चढे । दिल्लीको आनन्दबिहार बसपार्क झमक्कै भइसकेको थियो । लामो यात्राबाट थकित ती किशोरी बसपार्ककै एउटा बेन्चमा केही बेर निदाइछिन् । उठेर हेर्दा उनलाई दिल्ली पुऱ्याउने र अन्य दुई किशोरी पनि थिएनन् । जोशीका अनुसार किशोरीलाई बेंग्लोर जाने योजना बनाइएको तर, प्रहरीले थाहा पाएको आशंका भएपछि छाडेर गए । 

किशोरीले बताएअनुसार आफूसँग भएको सानो झोला बसपार्क छेउको एउटा पान पसलमा राखेर काम पाइन्छ कि भनेर नजिककै बस्तीमा गइन् । तर, काम नपाएपछि फेरि पान पसलमै फर्किइन् । पान पसलको आफूले काम लगाइदिने र घरमा सम्पर्क गराइदिने प्रलोभन दिएर आफ्नो कोठामा पुऱ्यायो । तर, कोठा पुग्नासाथ पसलेको व्यवहार फेरियो । कसैलाई सम्पर्क गर्न पनि दिएन । घरबााहिर निस्कन पनि दिएन । यसबीच किशोरीका अभिभावकले महेन्द्रनगरमा छोरी हराएको भन्दैमा उजुरी दिइसकेका थिए । तर, किशोरीका बारेमा केही पत्ता लागेको थिएन । एक दिन युटु्युब हेर्ने भन्दै पसलेलेसँग मोबाइल मागिन् । र फेसबुकमार्फत् महेन्द्रनगरका आफन्तलाई सबै कुरा बताइन् ।

त्यसपछि किशोरीका आफन्तले केआई नेपाललाई सम्पर्क गरेको जोशीले कान्तिपुरलाई बताए । त्यसपछि आफूले दिल्लीस्थित दूतावास र दिल्ली क्राइम ब्रान्चलाई जानकारी गराएको जोशीले सुनाए । त्यसपछि किशोरीको खोजी सुरु भयो । र, चार दिनपछि आइतबार साँझ किशोरीको उद्धार भएको हो । प्रहरीले ‘बन्धक’ बनाएर राख्ने ती भारतीयलाई पनि पक्राउ गरेको छ । साथै उनलाई दिल्ली पुऱ्याउनेहरुको समेत प्रहरीले खोजी सुरु गरिसकेको जोशीले जानकारी दिए । जोशीका अनुसार दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा किशोरीलाई केही दिनमै घर फकाईने छ ।

Published on: 24 May 2021 | Kantipur

Link

Back to list

;