s

दिल्लीबाट श्रीलंका हुँदै खाडी

मानव तस्करी
 
कमल पन्थी
 
गुलरिया, पूर्वी नाकामा कडाइपछि मानव तस्करले नेपाली महिलालाई बर्दियाका नाकाबाट सीमा कटाउने गरेको पाइएको छ । उनीहरूले दिल्लीबाट श्रीलंकाको राजधानी कोलम्बो हुँदै खाडी मुलुक लैजाने गरेका हुन् ।
 
अवैध रूपमा भारत लैजान लागिएकी एक महिला आइतबार पक्राउ परेपछि उक्त रुटको खुलासा भएको हो । ती महिलाले दिल्ली हुँदै कोलम्बोबाट कुवेत जान लागेको प्रहरीलाई बयान दिएकी छन् । जिल्लाको सानोश्री तारातालस्थित बासगढी–७ की ३७ वर्षीया हीरा हमाल एक महिलालाई दिल्ली लैजाने क्रममा पक्राउ परेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । प्रहरीका अनुसार हमालले दिल्लीमा रहेका एजेन्टमार्फत श्रीलंका हुँदै कुवेत पठाउने गरिएको बयान दिएकी छन् । उद्धार गरिएकी महिला र उनका पतिको बयानको आधारमा हमालविरुद्ध मानव बेचबिखनको मुद्दा दायर गरेको बोहराले बताए ।
 
ती महिलालाई यसअघि पनि दुई पटक फिर्ता ल्याइएको थियो । जमुनाहा नाकाबाट दुई पटक फिर्ता भएपछि पछिल्लोचोटि बर्दियाको चोरी नाका हुँदै भारत जान लाग्दा प्रहरीले फेला पारेको हो । हमालले भने ती महिलालाई बेचबिखनका लागि नभई रोजगारीकै लागि लैजान लागिएको दाबी गरेकी छन् । ‘मलाई काम चाहिएको छ, म पनि विदेश जान्छु भनेकाले आफूसँगै लगेकी हुँ,’ उनले भनिन् ।
 
करिब दुई वर्षअघि सीमावर्ती भारतीय सुरक्षा बल एसएसबी पोस्ट लौकाही, बहराइचले ७ नेपाली युवतीलाई उद्धार गरी नेपाल प्रहरीसमक्ष बुझाएको थियो । बिना राहदानी भारत हुँदै तेस्रो मुलुकमा अवैधरूपमा रोजगारीका लागि दिल्ली हुँदै बम्बई जान लागेका ती महिला र तीन पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर बुझाएको हो । साथी संस्थाले नेपालगन्ज नाकाबाट ती युवती जिम्मा लिई आफन्तलाई बुझाएका थिए । आफन्तले बुझेको केही समयमै उनीहरू फेरि बर्दिया, मोहम्मदपुर हुँदै भारतीय नाका लौकाही पुगेका थिए ।
 
उद्दार गरिएकामध्ये रूपन्देही मणिग्रामकी एक महिलाले यसअघि पनि बहराइनमा काम गरी फर्केको बताएकी थिइन् । उनका अनुसार नेपालको बाटो खाडी मुलुक पुग्न नेपाली महिलालाई झन्झटिलो भएकाले भारतीय बाटो प्रयोग गर्न थालिएको हो । उनीसँग नियन्त्रणमा लिइएका दुई युवतीबाहेक अरू सबै पहिलो पटक खाडी जान लागेको बताएका थिए । सोही प्रकरणमा नवलपरासी मकर–६ का राजु भन्ने क्षेत्रबहादुर बुढा क्षत्री र बर्दिया सूर्यपटुवाका खडगबहादुर मगर मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका छन् ।
 
सरकारले घरेलु महिला कामदारलाई वैदेशिक रोजगारमा खाडी मुलुक रोक लगाएपछि उनीहरूले अवैध बाटो प्रयोग गर्न थालेका हुन् । पाँच वर्षयता प्रहरीले एघार जना दलाललाई पक्राउ गरी मुद्दा दायर गरेको छ । तीमध्ये अधिकांश कारागारमा सजाय भोग्दै आएका छन् । प्रहरीका अनुसार मानव बेचबिखनमा संलग्न दलालले जिल्लाको जमुनी, कालिका, मोहम्मदपुर, सुरजपुर, सानोश्री ताराताल, कोठियाघाटलगायत नाका प्रयोग गर्दै आएका छन् । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभनमा पारी विदेश पठाउनेमा दिल्ली र कोलम्बोमा नेपाली र भारतीय दलाल सक्रिय छन् । बर्दिया तारातालकी एक महिला केही समयअघि भागेर यहाँ आइपुगेकी थिइन् । उनले दिल्लीमा नेपाली र भारतीय दलाल मिलेर एउटा घर भाडा लिई महिला बेचबिखन धन्दा चलाइरहेको बताइन् ।
 
एक वर्षअघि भारतमा सांस्कृतिक कार्यक्रममा जान लागेका दुई महिला पक्राउ परेका थिए । उनीहरूलाई भारत लैजान लागेका भारत गोरखपुरका अरविन्दकुमार गौड पनि तत्काल पक्राउ परे । विभिन्न बहानामा अवैधरूपमा भारत जाने महिलाको संख्या बढदै गएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार प्रहरीले एकाध घटनामा पक्राउ गरे पनि जिल्लाको नाकाबाट वैदेशिक रोजगारीका नाममा बर्सेनि सयभन्दा बढी नेपाली महिला भारत हुँदै श्रीलंका पुर्‍याइन्छन् ।
 
Published on: 28 September 2016 | Kantipur

Back to list

;