s

दिल्ली–ट्रान्जिटमा दूतावास भूमिका

नेपाल–भारत खुला सिमानाका विभिन्न अव्यवस्थित नाकाहरू प्रयोग गर्दै दिल्लीसम्म युवायुवती ओसारपसार गर्ने सन्जालका बारेमा अपुष्ट समाचार आइरहेकै बेला मानव तस्करीमा संलग्न यस्तै ठूलो गिरोहको गतिविधि खुलासा भएको छ । नेपालका विभिन्न जिल्लाबाट ल्याइएका २८ युवतीलाई स्थलमार्गबाट सिधै भारत ल्याएर आवश्यक कागजात र प्रक्रिया मिलाउँदै खाडी मुलुक लैजान सक्रिय रहेकै बेलामा गिरोहका दुई एजेन्ट दिल्लीमा पक्राउ परेका हुन् । वैदेशिक रोजगारीको दायरा, कामको विषय र अरू कानुनी प्रक्रिया केही थाहा नभएका नेपाली युवतीहरू दिल्ली विमानस्थल वा आसपासबाटै पक्राउ परेपछि अहिले नेपाली दूतावासको पहलमा घरफिर्ती प्रक्रिया टुंगिएको स्थिति छ ।
 
केही वर्ष अघिसम्म मानव तस्करी र चेलीबेटी बेचबिखनको मुकाम रहेको भारतीय सहरहरूको गन्तव्यमा अहिले धेरै कारणले हेरफेर आएको स्थिति छ । कोलकाता, मुम्बई वा दिल्लीभन्दा पनि यहाँ रहेका हवाई–ट्रान्जिटहरूको उपयोग गर्दै विशेषत: खाडी मुलुक, अफ्रिकी मुलुक र मध्यपूर्वको इराक वा पश्चिम एसियाको सिरियासम्म युवती ओसार्ने धन्दा पछिल्ला वर्षमा निकै फैलिएर गएको छ । खाडी मुलुकहरूमा घरेलु कामदार हैसियतको रोजगारीमा प्रतिबन्ध लगाइएपछि पछिल्लो एक वर्षयता दिल्लीसहितका भारतीय उडान ट्रान्जिटहरूमा नेपाली युवतीको आवागमन बढेको दखिन्छ । तर, यो ‘प्रतिबन्ध’ मात्रै सबै कारण होइन । कामदार भिसामा विदेश उड्न लागेका जोकोही नेपालीको पासपोर्टमा ‘श्रम स्टिकर’ रहनुपर्ने अनिवार्य प्रावधानबारे नेपालले भारत सरकारलाई पत्राचार गर्दै जनाउ दिइसकेको छ । यो प्रावधानबारे दिल्ली वा मुम्बईका ठूला विमानस्थलको ‘ट्रान्जिट’ तहमा जानकारी भए पनि भारतमा रहेका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विमानस्थलमा यसबारे जानकारी पुग्न सकेकै छैन । 
 
यसबाहेक केन्या, तान्जानियालगायतका अफ्रिकी मुलुकहरूमा रहेको नेपाललाई दिइने ‘अनअराइभल भिसा’ का कारण पनि यात्रु आवागमनको आधारभूत अधिकारअन्तर्गत दिल्ली विमानस्थल वा अन्यत्र पनि यात्रामा रोक लगाउन सकिने स्थिति छैन । यसबेला आफ्नै पद्धतिभित्र सुधार्न सकिने नियमहरूमा बढी सतकर्ता रहनु जरुरी छ भने मानव तस्करीमा अहिले देखिएजस्तो घटनामा साँच्चिकै छानबिन र कारबाही महत्त्वपूर्ण हुनेछ । तस्करीमा परेका भनेर पक्राउ परेका पुरुष वा महिलालाई समेत छानबिनको दायरामा राख्ने र पीडितकै सहयोगमा तस्करीको गिरोह वा एजेन्टसम्म पुग्न सकिने यथार्थलाई पन्छाउन मिल्दैन । तर, ‘तस्करीमा परेको अथवा पारिएको पीडित’ भनेर यस्ता घटनाको गम्भीरतापूर्वक अनुसन्धान हुने गरेको छैन । गाउँघरदेखि फैलिएको मानव तस्करीको जालोमा प्रत्यक्ष/परोक्ष रूपमा पीडित स्वयम् पनि हिस्सेदार भएकै हुन्छ । 
 
यसपटक दिल्लीमा पक्राउ परेका २८ युवतीका हकमा पहिलोपटक दिल्लीस्थित नेपाली दूतावासले तत्काल उद्धार र घरफिर्तीका लागि समन्वय जुटाएको छ । यो तदारुकता आफैंमा प्रशंसनीय छ । महिला बेचबिखन र मानव तस्करीसमेतको ट्रान्जिटका रूपमा चिनिँदै आएको दिल्लीमा रहेको नेपाली नियोगमा यही दायरामा उद्धार तथा समन्वयको स्वतन्त्र इकाइ हुन नसक्नु दु:खलाग्दो पक्ष हो । नियोगअन्तर्गत रहेका नेपाल प्रहरी तथा अनुसन्धानका विशेष पदको उपयोगिताका निम्ति पनि यस्तो इकाइको प्रभावकारी कामकारबाहीले धेरै अर्थ राख्न सक्छ । समाजसेवा र उद्धार समन्वयका नाममा च्याउसरह पलाएका अमूक सामाजिक संस्थाहरूभन्दा नेपाली नियोगले आफ्नै पहलमा इकाइ सक्रिय तुल्याउनु अर्थपूर्ण हुनेछ । स्थानीय प्रहरी–प्रशासनसँग समन्वय गर्ने र द्वैदेशीय संयन्त्र उपयोग गर्दै मानव तस्करीका घटनामा उद्धार–सहयोगको समन्वय गर्ने अग्राधिकार नेपाली दूतावाससँग पक्कै छ । यसबाहेक नेपाल–भारत सहज यातायातका नाममा चलेका बस सेवामा बिनाआधिकारिक पहिचान र प्रमाणित कागजातबिना यात्रु आवागमन भइरहेको स्थितिमा पनि सरोकार–सम्बद्ध इकाइमार्फत निगरानी बढाउनु जरुरी छ । दूतावाससँग स्रोत, साधन र जनशक्ति पनि छ, तर यो भिन्न प्रभावको काम देखाउन सकिने क्षेत्रमा केही गर्ने तदारुकता भने अहिलेसम्म देखिएको छैन । यसपटक २८ युवतीको उद्धार र घरफिर्ती समन्वयमा देखिएको दूतावासको अग्रसरता एकपटकको कामचलाउ उपाय मात्रै नभएर अबका दिनमा आफैंमा एउटा पद्धति बन्न सकोस् ।
 
Published on: 4 August 2015 | Kantipur
 

Back to list

;