s

दिल्लीबाट ७४ नेपाली युवतीको उद्दार, मानवतस्करीमा 'प्रहरीकै मिलेमतो' ?

भारतको राजधानी दिल्लीलाई ट्रान्जिट बनाएर मानवतस्करले कयौँ नेपाली युवतीहरूलाई विभिन्न मुलुकमा बेच्ने गरेको तथ्य सार्वजनिक भएको छ। दिल्लीमा महिलाहरूका लागि काम गर्ने सरकारी निकाय 'महिलाहरूका लागि दिल्ली आयोग (दिल्ली कमिसन फर वुमन)' ले मानवतस्करीको जालो फर्दाफास गरेको छ जहाँ सबैभन्दा बढी नेपाली युवतीहरू वेश्यावृत्तिका लागि बेचिने गरेको भेटिएको छ।
 
दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा प्रहरीले एक सातादेखि भारतका विभिन्न स्थानमा छापा मारेको थियो। पछिल्लोपटक मंगलबार राति दिल्लीको पहाडगञ्जस्थित एक होटलमा छापा मारी ३९ नेपाली युवतीको उद्दार गरिएको छ। हृदय इन होटलबाट खाडी मुलुक तथा श्रीलंकामा बेच्न लगिएका ३९ नेपाली युवतीहरूको उद्दार गरिएको हो।
 
मंगलबार राति १ बजेदेखि बिहान ६ बजेसम्म छापा मारिएको थियो। पहाडगञ्जको उक्त होटल नेपालीहरूलाई मात्र राख्न प्रयोग भएको भेटिएको छ। यसअघिका दुई रेस्क्यु अपरेसनमा ३५ नेपाली युवतीहरूको उद्दार गरिएको थियो। 
 
'दिल्ली मानवतस्करीको अड्डा'
 
नेपाली युवतीहरूको उद्दारपछि सार्वजनिक गरिएको भिडियोमा दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालले 'दिल्ली मानवतस्करीको अड्डा बनिरहेको' बताएकी छन्। 'यो बलात्कारको राजधानीका रुपमा त बदनाम थियो नै, अब मानवतस्करीको पनि केन्द्र बन्ने भयो', उनले भिडियोमा भनेकी छन्, 'यो लाजमर्दो कुरा भयो।'
 
उनका अनुसार सबै युवतीहरूलाई होटलको एउटै कोठामा थुनेर राखेको अवस्थामा भेटिएको थियो। उनीहरूलाई श्रीलंकासहित इराक, ओमन, कुवेत लगायतका खाडी मुलुकमा बेच्न लगिएको थियो। उनीहरू अध्ये अधिकांश भूकम्पप्रभावित जिल्लाका रहेको उनले बताएकी छन्।
 
मानवतस्करीमा दिल्ली पुलिसको मिलेमतो
 
दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालले मानवतस्करीका घटनामा दिल्ली प्रहरीको पनि मिलेमतो रहेको आरोप लगाएकी छन्। दिल्लीका विभिन्न स्थान भारतीय, नेपालीसहित विभिन्न देशका युवती तथा महिलाहरूलाई विक्रीका लागि प्रयोग भइरहँदा पनि दिल्ली प्रहरीले थाहा नपाउनु आश्चर्यको विषय बनेको उनले भिडियोमा भनेकी छन्।
 
'यति ठूलो र्‍याकेटिङ चलिरहँदा प्रहरीले किन थाहा पाउँदैन?', उनले प्रश्न गरेकी छन्, 'दिल्ली प्रहरीको मिलेमतोमा मानवतस्करी सञ्चालित छ। नत्र प्रहरीको पाँच सय मिटर आसपासमा कसरी यस्तो हुन सक्छ?'  
 
शुक्रबार दिल्लीकै मैदानगढीमा छापा मारी प्रहरीले १९ जनाको उद्दार गरेको थियो। १९ मध्ये १६ नेपाली युवती थिए भने ३ जना भारतीय। उद्दार टोलीले सबैजनालाई एउटै कोठामा थुनेर राखिएको अवस्थामा उनीहरूलाई फेला पारेको थियो। 'उनीहरूलाई कुन देशमा लाने भनेरमात्र सुनाइन्छ, उनीहरूमाथि अत्याचार भएको छ, कतिपयले आफूहरूमाथि बलात्कार भएको पनि बताएका छन्', दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालले भनेकी छन्।
 
नेपालले पनि सोचोस्
 
मानवतस्करहरूले नेपालबाट युवतीहरूलाई भारत हुँदै विभिन्न मुलुक पुर्‍याउँदा पनि नेपाल सरकार मुकदर्शक बनेको भन्दै स्वातिले आक्रोश पोखेकी छन्। 'नेपाल सरकारले पनि सोच्नुपर्‍यो, किन सरकारले आफ्नो सिमानामा कडाइ गर्दैन ?', उनले प्रश्न गरेकी छन्, 'के यो सरकारको जिम्मेवारी बन्दैन?'
 
तस्करले त्यहाँ पुर्‍याएका अधिकांश युवतीहरू पढ्न नजान्ने र आफू कहाँ जाँदैछु, कहाँ छु भन्ने पनि पत्तो नभएकाहरू रहेको उक्त आयोगले जनाएको छ।
 
उक्त स्थानबाट ६१ नेपालीका सहित ६८ जनाको पासपोर्ट बरामद भएको छ। दिल्ली प्रहरीले असहयोग गरेपछि बनारस प्रहरीको सहयोगमा उनीहरूको उद्दार गरिएको आयोगकी अध्यक्ष स्वातिले बताएकी छन्। जुलाइ २५ मा पनि आयोगले १६ ेनपाली युवतीको उद्दार गरेको थियो। 
 
मानवतस्करीको र्‍याकेटिङमा संलग्न रहेको शंकामा तीनजना पक्राउ परेका छन्। एक युवतीले बनारस प्रहरीमा उजुरी दिएपछि प्रहरी उनीहरूलाई राखिएको स्थानसम्म पुग्न सकेको थियो। उद्दार गरिएका नेपालीहरूलाई नेपाली दूतावासमार्फत स्वदेश फिर्ता गर्ने तयारी छ।
 
Published on: 2 August 2018 | Annapurna Post

Back to list

;