s

डेढ करोड क्षतिपूर्ति पर्खाइ

देवेन्द्र भट्टराई
 
आठ वर्षअघि कतार छिर्दा धनुषा, हरिहरपुरका सुशीलकुमार यादव हट्टाकट्टा थिए । जोस र जाँगर थियो उनमा । १८ वर्षे उमेरमा अनेक सपनाको चाङ लिएर खाडी छिरेका तिनै सुशीलसँग आज सपनाको मरुभूमिमात्रै साथमा छ । 
 
सडक निर्माणमा सेफ्टी–हेल्परको काम गरिरहेका सुशील अलिक पैसा कमाउँला र भविष्यको जोहो गरेर घर फर्काैंला भन्दै लगातार ड्युटीमै खटिइरहे । यतैको कमाइले गाउँमा बहिनीको विवाह गराए, दुई भाइलाई पढाइमा सहयोग गरे । दुई वर्षअघि अब घर फर्कौंला भनिरहेकै बेला कार्यरत स्थलमै ठूलो दुर्घटनामा परेपछि मुस्किलले बाँच्न सकेको कथा उनीसँग छ । 
 
‘दोहा नजिकै मन्सुरामा सडकको पाइपलाइनमा काम गरिरहेका बेला रातको दुई बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैयास्थित एक प्रतिष्ठित कम्पनी क्यूबीसीसम्बद्ध सुशीलले सुनाए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एक सहयोगीका भरमा दुई वर्षयताको जीवन धानिरहेको छु ।’ सुशीललाई स्पाइनल कर्ड (सी–सिक्स) को गम्भीर समस्या रहेको अस्पतालले जनाएको छ । 
 
आफू राम्रै कम्पनीसम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले बताए । उनको साथ–सहयोगका लागि कम्पनीले सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पूरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउनेदेखि हवीलचेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् । कम्पनीले झन्डै १ हजार रियालको मासिक तलब पनि नियमित रूपमा दिइरहेको छ । तर, अरू कुनै उपचार र औषधिमूलोबिनै घर फर्कने दिनको गन्तीमा सुशील अडिएर बसेका छन् । ‘के–कसरी हुन्छ, आफूले पाउने बिमा र अरू क्षतिपूर्ति रकम लिएर जतिसक्दो चाँडो घर फर्कन पाउँm भनेर हारगुहार गरेकै एक वर्ष भइसक्यो,’ २६ वर्षे सुशील आफ्नो भत्केका सपना र योजनामाझ घर फर्कने हतारो देखाउँदै भन्छन्, ‘नेपाली दूतावासलाई पनि अनुरोध गरिरहेकै छु, तर म किन यसरी अडकिएको छु, कसैले जवाफ दिएकै छैन ।’ 
 
जम्मा ७ कक्षामात्रै पढेका सुशीलसँग खाडीभूमि आउनुमा त्यति ठूलो सपना थिएन । घरमा रहेका खेतीकिसानी बाआमालाई थोरै पैसाको भरथेग गर्ने र आफू पनि कामको केही सीप सिक्ने । निर्माणक्षेत्रमा उनले सीप पनि सिके, थोरबहुत पैसा पनि कमाए । ‘घर फिरेर विवाह गरौंला भन्ने थियो । अब त सपना देख्न होइन, यो जीवन जिउनै पनि मुस्किल भएको छ,’ उनले सुनाए । सुशीलको केसमा अस्पताल, अदालत सबैले क्षतिपूर्ति रकमबारे ‘क्लियरेन्स’ दिइसकेका छन् । कागजअनुसार, अपांगता सघनता आधारमा सुशीलले २ सय ७५ प्रतिशत (१ प्वाइन्ट बराबर २ हजार रियाल) क्षतिपूर्ति पाउने भएका छन् । कतारमा सामान्यतया १ सय प्रतिशत अपांगतामा २ लाख रियाल क्षतिपूर्ति पाउने नियम छ । यस अनुपातमा सुशीलले ५ लाख रियाल (झन्डै डेढ करोड रुपैयाँ) क्षतिपूर्ति पाउनुपर्ने हुन्छ । यो निर्णय भएको १० महिना भइसके पनि पैसा पाउने र घर फर्कने दिन भने लम्बिएको लम्बियै छ । उनको क्षतिपूर्ति र घरफिर्ती किन रोकिएको हो भन्ने स्वयं दूतावासलाई पनि थाहा छैन ।
 
अशक्त सुशीलबारे बुझ्न नेपाली दूतावासबाट श्रम काउन्सेलर गिरिजा शर्मासहितका पदाधिकारी पनि क्यूबीसी कम्पनीको क्याम्पमा पुगेका थिए । ‘अब छिट्टै तपाईं घर फर्कनुहुनेछ’ भनेर दूतावासका अधिकारीबाट आश्वासन पनि पाइसकेको सुशीलले सुनाए । ‘आगामी साता दूतावासका प्रतिनिधिले सम्बद्ध कम्पनी र बिमामा गएर सुशील बारे सबै स्थिति बुझ्नेछन्,’ राजदूत रमेश कोइरालाले भने, ‘जतिसक्दो चाँडो उनलाई क्षतिपूर्तिसहित घर फर्काउने पहल हुनेछ ।’ 
 
Published on: 15 October 2017 | Kantipur  

Back to list

;