s

डेढ वर्षको छोरा च्यापेर श्रीमान‍लाई विदेश पठाउने एजेण्ट खोज्दै राधा

सिमरा : बारा जीतपुरसिमरा उपमहानगरपालिका ११ अम्बाडारकी २३ वर्षीया राधा चौधरी यतिबेला डेढ वर्षको छोरा च्यापेर सिमरा र कलैया धाइरहेकी छन् । होटलमा काम गर्न साउदी अरब गएका श्रीमान् एक महिनामै फर्किएपछि राधा अहिले विदेश पठाइदिने एजेण्टलाई खोज्न भौतारिरहेकी छन्।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण राधासँग गाडीमा आवतजावत गर्ने पैसा पनि छैन । त्यसैले उनी सासूले चलाएको साइकलमा बसेर न्याय खोजिरहेकी छिन् । पछिल्लो ६ महिनादेखि प्रशासन र सरोकारवाला निकायको दैलोमा पुगिरहेकी राधाले न एजेण्ट फेला पार्न सकेकी छिन् न त पैसा फिर्ता पाउने आश्वासन पाएकी छिन् ।

राधाले कलैया बरेवाका अबास मियाँ नामका एजेण्टलाई नगद र आफन्तसँग २५ किलोको खसी सापटी मागेर दिएकी थिइन् । एजेण्टबाट ठगिएको भन्दै न्याय माग्न प्रहरीसमक्ष पुग्दा केही गर्न नसक्ने भनेर पन्छ्याउने गरेको राधा बताउँछिन् । श्रीमान्लाई विदेश पठाउन दुई लाख ५० हजार नगद र २५ किलोको खसी लिएको एजेण्टले उल्टै धम्क्याउने गरेको राधाको भनाइ छ ।

पैसा नदिएसम्म एजेण्टले काम नगर्ने बताएपछि तीन लाख माग गरेकोमा अढाई लाख नगद र एउटा खसी दिएको राधा बताउँछिन् । एजेण्टविरुद्ध मुद्धा प्रक्रिया अगाडि बढाउन बलियो प्रमाण र पर्याप्त रकम नहुँदा राधाको परिवार बिचल्लीमा छ । सामान्य लेखपढ समेत नगरेकी राधा एजेण्टको विश्वास गर्दा पीडित हुनुपरेको बताउँछिन् ।

होटलमा काम पाइन्छ । सधै राम्रो हुन्छ भनेर ऋण खोजेर पठायौं,राधाले भनिन्,'तर त्यहाँ पुगेर काम नपाएपछि कम्पनीले एक महिनामै फिर्ता पठाइदियो । त्यतिबेलादेखि नै एजेण्टको खोजी गरिरहेका छौं तर, फेला पार्न सकेका छैनौं ।'

राधाको २५ वर्षीय श्रीमान् बिजय चौधरी ललितपुर कुपण्डोलमा रहेको इनोभेटिभ हु्मन रिसोर्स डेभलपमेन्ट प्रालिमार्फत् साउदी अरबको फल अल अरेयिबा कन्ट्रयाक्ट्रि कम्पनीमा काम गर्न गएका थिए । एजेण्टले होटलमा काम लगाइदिने बताए पनि बिजय र रोजगारदाता कम्पनीबीच भएको सम्झौतामा कामको प्रकार 'लोडि र अनलोडि' उल्लेख छ । सोवापत प्रतिमहिना तलब र खाना गरी एक हजार तीन सय साउदी रियाल बिजयले पाउने सम्झौतापत्रमा जनाइएको छ ।

तर साउदी अरब पुगेको एक महिनासम्म बिजयले काम नपाएको र एक महिनापछि कम्पनीले फिर्ता गरिदिएको राधा बताउँछिन् । त्यहाँ पुगेपछि श्रीमान्ले केही काम पाउनु भएन । एक महिनासम्म कोठामै सुतेर बस्नुपर्यो, राधाले भनिन्,'एक महिनापछि कम्पनी आफैले फर्काइदियो । यता हाम्रो बिचल्ली भयो ।'

बिदेशबाट फर्किएका बिजय अहिले नेपालगंजमा जाली बनाउने कम्पनीमा काम गरिरहेका छन् । श्रीमान्लाई काममा पठाएर राधा भने एजेण्टले लिएको पैसा फिर्ता लिन संघर्ष गरिरहेकी छिन् । श्रीमान् विदेशबाट फर्किएपछि अर्को देश पठाइदिन्छु भन्दै आश्वासन दिने गरेको एजेण्टले अहिले पैसा फिर्ता नदिने भन्दै धम्की दिएको राधा बताउँछिन् ।

एजेण्टले प्रहरीमा गएर पनि केही हुँदैन । पैसा फिर्ता दिन सक्दिन जे गर्नु छ गर भन्दै धम्क्याउँछ राधाले भनिन् ,'प्रहरीले पनि हामीले यहाँ केही गर्न सक्दैनौं,काठमाडौं जानुस भन्छ । अब हामी कहाँ जाने ?' डेढ वर्षको काखे छोरालाई बोक्दै सासूले चलाएको साइकलमा बसेर कलैया र सिमरा धाईरहेकी राधा न्याय नपाएको दुःखेसो गर्छिन् ।

जिल्ला प्रशासन कार्यालय बाराले आवश्यक प्रक्रिया अघि बढाउन राधाको फाइल जिल्ला प्रहरी कार्यालय बारामा पठाएको केही महिना भइसकेको छ । प्रहरीले प्रमाण खोजिरहेको छ । एजेण्टलाई पैसा दिएको प्रमाण राधासँग छैन । मेनपावर कम्पनीले पैसा आफूलाई नदिएको बताउँछ । बिजयले पासपोर्ट फिर्ता पाएका छैनन् । जसका कारण राधा पीडित छिन् । 'एजेण्टलाई नगद पैसा दिएका थियौं । प्रहरीले प्रमाण खोजिरहेको छ,' राधाले भनिन् ,'अब प्रमाण नभए हामीले पैसा फिर्ता पाउदैनौं र?'

प्रहरीले राधालाई मुद्धा प्रक्रियामा अघि बढ्न अनुरोध गरेको छ । तर मुद्धा प्रक्रियामा जान राधासँग पैसा छैन । पैसा नभएका कारण गाडी समेत चढ्न नसकेकी राधाले मुद्धाका लागि आवश्यक पर्ने रकम जुटाउन पूनः ऋण खोज्नुपर्ने अवस्था छ । एजेण्टले लिएको पैसा उठाउनका लागि ऋण खोज्ने सामथ्र्य नभएपछि राधा अहिले सुरक्षित आप्रवास (सामी) परियोजना र आप्रवासी हकहित संजालमा पुगेकी छिन् ।

स्विस सरकारको सहयोगमा सञ्‍चालित सामी परियोजनाको जीतपुरसिमरास्थित परामर्शकेन्द्रका सूचना परामर्शकर्ता नवराज घिमिरेले राधाको परिवारलाई एजेण्टले ठगेको बताउँछन् । विदेश पठाउने भन्दै एजेन्टले राधासँग पैसा र खसी लिएको तर प्रमाण नभएका कारण समस्या भइरहेको घिमिरेले बताए ।

राधासँग प्रमाण नभएका कारण झन पीडित हुनुपरेको अवस्था छ । हामीले प्रयास गरिरहेका छौं,'घिमिरेले भने,'अब यस विषयमा स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएर लाग्नुपर्छ । अनि मात्रै पीडितले न्याय पाउने देखिन्छ ।'

एजेण्टसँग आफूले पीडितको विषयमा कुरा गर्दा 'बसेर मिलाउनुपर्छ' भन्दै पन्छिने गरेको घिमिरे बताउँछन् । बैदेशिक रोजगार विभागसम्म पुगेर न्यायका लागि लड्न पीडितसँग सामथ्र्य नभएका कारण स्थानीय स्तरबाट यसको समाधानको उपाय खोजिनुपर्ने घिमिरेको भनाइ छ ।

आप्रवासी हकहित संजाल मधेस प्रदेश महासचिव शंकर सिंखडाले राधाले एजेण्टविरुद्ध अघि बढाएको फाइलमा प्रहरीले व्यक्ति फेला नपरेको भनेर उल्लेख गरेको बताउछन् । 'प्रहरीले एजेण्टको घरमा गएर कुरेर बस्नुस्, घरमा आएपछि हामीलाई खबर गर्नुस् भनेर भन्छ,' सिंखडाले भने,'अब पीडित गएर एजेण्टको घरमा कुरेर बस्न सम्भव छ? ।' पीडितलाई न्याय दिनका लागि प्रहरी प्रशासनले चासो नदेखाएका कारण पनि ढिलाई भइरहेको सिंखडाले बताए ।

यता जिल्ला प्रहरी बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले आफू केही महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएको र यस विषयमा थप बुझेर पीडितलाई न्याय दिलाउने बताएका छन् । एजेण्टलाई पैसा दिएको प्रमाण नभएका कारण कानुनी प्रक्रियामा ढिलाइ हुन गएको भएपनि स्थानीय स्तरबाटै पीडितलाई न्याय दिलाउनुपर्ने काफ्ले भनाइ छ । काफ्लेले पीडित पक्षसँग छलफल गरेर न्याय सम्पादनको काम अघि बढाउने बताए ।

Published on: 8 December 2023 | Annapurna Post

Link

Back to list

;